के हुन् विप्लव नेकपाका माग, किन भएन वार्ता ?


चैत १, काठमाडौँ । संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संसद नथालेर किन प्रतिबन्ध लगायो भन्ने प्रश्न उठेको छ ।

गत भदौमा विप्लव नेकपासँग वार्ता संघीय सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले बनाएको समिति विप्लव समूहसँग वार्ता गर्न असफल भएको थियो । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

सरकारी वार्ता टोलीको स्पष्ट धारणाका साथ नआएकोले वार्ता गर्नुपर्ने कुनै औचित्य नदेखेको विप्लव नेकपाको दाबी छ । वार्ताको वातावरण बनाए पनि विप्लव नेकपाले धोका दिएका कारण वार्ता हुन नसकेको सरकार पक्षको छ ।

बिहीबार मात्रै सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारका तर्फबाट वार्ताको प्रयास भए पनि उनीहरूले आफ्ना नेता कार्यकर्ता छुटेपछि धोका दिएर विध्वंसात्मक गतिविधि थालेका कारण प्रतिबन्ध लगाउनुपरेको दाबी गरे।

प्रतिबन्धको कानुनी व्यवस्थाबारे स्पष्ट पार्दै बाँस्कोटाले भने, ‘विप्लव नेकपाका गतिविधि प्रचलित कानुनअनुसार आपराधिक रहेकाले ‘संगठित अपराध ऐन २०७०’ र ‘फौजदारी संहिता २०७४’ आकर्षित हुनेछ।’ तर उनले विप्लव नेकपाका माग के थिए भन्ने बारेमा खुलाएनन्।

वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेका अनुसार विप्लव नेकपाले संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने माग राखेका कारण वार्ता हुन नसकेको बताए। ‘हामीसँगको सम्पर्क–सुत्रले संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने माग राख्यो, जुन कुरा सम्भव थिएन,’ पाण्डेले भने, ‘लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र हो, अर्को होइन।’

पाण्डेका अनुसार विप्लव नेकपाको सम्पर्क–सुत्रले संसदीय व्यवस्थाको परिवर्तन, वैज्ञानिक समाजवादलाई हेर्ने दृष्टिकोण, सामाजिक विभेदको अन्त्यजस्ता विषय अघि सारेको छ। ‘उनीहरूले ल्याएको विषयमा हामीले धेरै चरणसम्म अनौपचारिक कुरा ग¥यौं,’ उनले भने, ‘पहिलो सर्त पक्राउ परेका नेताहरूलाई छुटाउनुपर्ने भन्ने थियो त्यसैअनुसार प्रकाण्डदेखि उमा भुजेल, मोहन कार्की, पदम राईसम्मलाई छुटाउन सरकारलाई सिफारिस ग¥यौं र छुटे।’

मंसिर ८ मा काठमाडौंमै खुलासभा गरे पनि वार्ता नभएको जनाउँदै पाण्डेले सरकारले उनीहरूका केही मागलाई सम्बोधनको प्रयास गरेको पनि सुनाए। संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजामा बम विस्फोट, फागुन १० गते ललितपुरलगायत देशभरका एनसेल टावरमा बम विस्फोट, बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोटलगायत घट्नाको जिम्मेवारी विप्लव नेकपाले लिईसकेको छ ।

१ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको