जम्मू–कश्मीर आक्रमणको जिम्मा पाकिस्तानको एक सक्रिय समूहले लियो


फागुन ३, नयाँ दिल्ली । भारतको जम्मू–कश्मीरस्थित पुलवामा बिहीबार सरकारी सुरक्षा फौजलाई लक्षित गरी भएको आक्रमणको योजना पाकिस्तानमा बनेको खुलासा भएको छ।

४० सुरक्षाकर्मीको ज्यान लिएको उक्त आक्रमणको योजना दुई महिना अगाडि नै पाकिस्तानको कराँचीमा रचिएको खुलासा भारतीय सञ्चारमाध्यमहरूले गरेका हुन्।

उक्त आत्मघाति आक्रमणको जिम्मा पाकिस्तानमा सक्रिय जैस–ए–मोहम्मद इस्लामिक समूहले लिइसकेको छ। भारतीय सुरक्षाकर्मीमाथि विगत दुई वर्षमा गरिएको यो नै सबैभन्दा ठूलो आक्रमण हो।

यो राज्य सुरक्षाका लागि खटिएकामध्येको सबैभन्दा ठूलो आक्रमण भनिएको छ । बिहीबारको घटना तालिबानी मोडल अनुसार गराइएको समेत दावी गरिएको छ।

भारतीय सीआपीएफमाथि ९ वर्षमा गरिएको यो दोस्रो आक्रमण हो। सन् २०१० को अप्रिलमा छत्तीसगढमा नक्सलवादी हमलामा सीआरपीएफका ७६ जनाको मृत्यु भएको थियो।

कराँचीमा १० दिन पहिले मसूद अजहरका भाइले धम्की दिएका थिए। पाक अधिकृत कश्मीर क्याम्पका चिफ इन्स्टक्टर रहिसकेका अब्दुल रशीद गाजीले यो हमलालाई निष्कर्षमा पुर्‍याउन आदिल अहमद डारलाई आईईडी ब्लास्टको तालिम दिएको बताइएको छ।

गाजी गत वर्ष डिसेम्बरमा कश्मीरमा छिरेका थिए। गाजी छिरेपछि सुरक्षा एजेन्सीले पनि अलर्ट जारी गरेको थियो। यो हमला ५ फेब्रुअरीमा जैशको कराँचीमा गरिएको र्यालीपछि भएको हो।

सो र्यालीमा अजहरका भाइ मौलाना अब्दुल रउफ असगरले भारतमाथि आक्रमण गर्ने घोषणा गरेका थिए। असगरले एक पटक फेरि कश्मीर ऐक्यवद्धता दिवस मनाउने हो भने दिल्ली हल्लिने बताएका थिए।

३ फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको