माघेसंक्रान्ति बिशेष ‘प्रतिज्ञाको पाइला’


कर्मसही घर्ती मगर । माघे सक्रान्ती ।

चेलीहरूलाई आफ्ना दाजुभाइले पुज्ने दिन । बिहान करिब चार बजे उठेर चुलामा आगो बाल्न दियालो सल्काएँ । विभिन्न उपलब्ध परिकारहरूको यथोचित प्रबन्ध भए पछि छोरीलाई अरू दिन भन्दा बेग्लै तर विशेष सम्मान साथ खानपिन टक्र्याउनु नै पुज्नु हो ।

तदनुसार छोरी क्रिष्टिनालाई पुज्ने काम भयो । लगत्तै अन्य दाजुभाइका छोरी भतिजीहरूको पनि पुज्ने काम भयो ।

आजैको दिनदेखि केही लेख्छु भनिएका पूर्ववत् ‘प्रतिज्ञा’ स्मरण भयो । लेख्न बसेको छु । कयौं याम आयामहरू यसरी नै प्रतिज्ञामा सिमित भए, विगतमा । सपनाको रहमा जन्मन्थे इच्छाहरू । तैरिन नपाउँदै असामयिक निधन हुन्थ्यो । बाँकी थोरैतिनो बचेखुचेका आकांक्षाहरू असमयमै समाधिस्थ हुन्थे ।

अब त यसो गर्छु । उसो गर्छु भनेर कयौं दिन, बार, महिना, वर्ष र दशक बिते । कति नियम बनाइयो । आफै नियम मिचाहा भइयो । कति रूल बनाइयो । सबै ॐ नम: स्वाहा ! भए । शर्मा स्वाङ्गिता पोखरेल आत्रेयको फेसबुकको स्टाटसले मलाई हुनसम्म निचोर्यो ।

उनले लेखेका छन् – ‘जिन्दगीमा कुनै रूल मन परेन, सिवाय तरूल !’

मैले जीवन परिवर्तनको खातिर जति रूल बनाएँ । सबका सब तरूल सम्झेर कोहि उसिनेर खाएँ हुँला । कोहि तिहुन बनाएँ हुँला । कोहि चट्नी बनाएँ हुँला । परन्तु कहिल्यै रूलमा जीवन बाँध्न समर्थ भईनँ । लातको भूत बातले मान्दैन भने झैँ, यो अल्छिपनाले ङ्याकेको मनलाई जबर्जस्त लेख्न राजी बनाउँदैछु । म आज आफैंसँग निर्मम भएको छु ।

जिन्दगीका अनगिन्ती कथापटकथालाई कलात्मक रंगरोगन गर्ने हो भने यो धराका सबै मान्छेको जीवन एउटा उत्कृष्ट काव्य बन्न सक्छ ।

कहानी सबैको एउटै जस्तो भए पनि भोगाई फरकपना हुन्छ । यही फरकपना नै अरू सबैको लागि मसला बन्छ, भन्नको लागि । मसला बन्छ, सुन्नको लागि । मसला बन्छ, लेख्नको लागि । मसला बन्छ, पढ्नको लागि । त्यही फरकपना नै कसैको लागि व्यथा बन्छ । कसैको लागि कथा बन्छ । एउटाको व्यथा नै अर्कोको लागि कथा बन्छ । कसैको व्यथा कथा बन्ने क्रममा मेरो लागि एउटा भूतपूर्व टाट बहादुर अर्थात एउटा निर्धो मनुवाको राम कहानी मसला बन्न गयो ।

एउटा हेला होचोमा प्रताडित मान्छे कति छिटो आफ्नो जिन्दगी बदल्न सके हुनन् ! ऊ चोला बदलिएर कसरी यो चोला लिए हुनन् ?

लेख्नको लागि दुनियाँमा थुप्रै कुराहरू छन् । परन्तु लेखकलाई कुन कुराले छुन्छ र लेख्ने बहाना हुन्छ भन्नेमा फरक पर्दोरहेछ । सबैलाई सबै कुरा मसला बन्छ, लेख्नको लागि भन्ने छैन ।

म हिँड्ने बाटोमा प्रायः एक जना व्यक्ति हुन्छन् । व्यक्ति के भनाैं र ! एउटा पात्र देखिन्छन् । अर्थात, उनीलाई देख्नेबित्तिकै मेरो मानसपटलमा एउटा मधुरो अतित सल्बलाउन थाल्छ । चल्मलाउन थाल्छ । ती पात्र जब मेरो अघिपछि पर्छन् तब भूतपूर्व अतितले ङ्याकेर विगतको मधुरो स्मृतिमा धकेलीदिन्छ ।

कहिलेकाहीँ म एक्लै सोच्ने गर्छु – एउटा हेला होचोमा प्रताडित मान्छे कति छिटो आफ्नो जिन्दगी बदल्न सके हुनन् ! ऊ चोला बदलिएर कसरी यो चोला लिए हुनन् ?

ताजुब लाग्छ । सफलताको कहानी ठूलाबडाहरू सँग मात्र कहाँ हुन्छ र ? मैले यसरी सोँच्दै गमेँ । बाटाभरि उनको धुमिल स्मृति सग्बगायो ।

कुनै दिन निकै भोको मान्छे, गरिबीले ङ्याकेको मान्छे, दुनियाँले धर्तीको धुलो जसरी टेक्दै हिँडेको मान्छे, कसैले नगनेको भूईँ मान्छे; कसरी आफ्नाहरू भन्दा शक्तिशाली भए ? पक्कै पनि केही जीवन सूत्र त होला नि ! मैले टाढैबाट बुझ्न खोजेको कुरा यही हो । उनको जीवन कथा पक्कै रोचक हुनु पर्छ, मलाई यस्तै लाग्यो ।

एकदिन उनीसँग बसेर केही बुझ्नु नै मेरो ध्येय भयो । परन्तु कहिल्यै माैका मिलेको थिएन । लेख्छु भनेको पनि बर्षाैं बित्यो । उनीसँग भेट्नु भन्दा, उनीसँग भलाकुसारी गर्नु भन्दा र उनीभित्रका कहानी उत्खनन गर्नु भन्दा पहिले बारबार मेरो स्मृतिमा उनका धुमिल अतितहरू यसरी सक्सकाउँछन् –

स्मृति नम्बर एक…..!

भर्खर मात्र बर्षाको समाप्ति भएको थियो ।

रुकुमकोट पढ्दाताका हो । २०४८ सालतिर । टाढाको विद्यालय । गाउँकै साथीहरूको साथ घर आएँ । दशैँ बिदा थियो । थकाईले लखतरान हामीहरू तँ को ? म को ? भन्ने गरि रातसँगै अँध्यारिएर आएका थियाैँ घर । रात निकै अँध्यारिएको थियो । गाउँभित्र पस्ने बित्तिकै तत्कालीन किन्नर किन्नरीहरूको एउटा भव्य जमघटमा गीत घन्किँदै थियो नजिकै । गीतको भाका र स्वरहरू कानमा गुन्जे । गलित शरीरमा रक्तसञ्चार भए झैँ भयो । थकाई बेकसुर कहाँ हरायो हरायो । म चाहिँ तरुण- तरुनीहरूको लयात्मक लहरमा लहरिन पुगेँ, घरकै भित्तोमा अडेसिएर । प्रेमातुर वयमा जवानीका उच्छाबास गीतमा अन्तरघुलित थिए गीताैरेहरूका । गीतमा युवावयका प्रेमाशक्ति अँकुरित थिए ।

‘गलबन्दीको छेउ छेउमा निरमायालाई सम्झेर, आँखाबाट आँसु बरर …! “

गीतमा विपरीत लिङ्गप्रतिको चरम आकर्षण त हुँदै हो, परन्तु सम्भावित विछोडले मन आक्रान्त भएको झल्को दिन्थ्यो । गीत सामुहिक भए पनि गीताैरेको स्वर प्रष्ट चिनिन्थ्यो । उनी थिए – शिवजी पुन । पुरुष महिलाको दोहोरी थिएन त्यो । दुई तीन जना पुरुष मात्र शब्द कोरल्थे । बाँकी सबै तरुणोहरू लयबद्ध गाउँथे । म घरको भित्तोमा अडेसिएर चालीस पचास मीटर नजिकै घन्किरहेको गीतमा डुबिरहेको थिएँ । सारा थकाई बिर्सेर ।

गीत करुणा मिश्रत थियो । युवा वयको प्रेम याचना मिश्रित थियो । भनि हालेँ – सम्भावित विछोडको पूर्व कम्पन पनि यथावत थियो । उनीहरूको गीतको टुक्काको आसय थियो – जीवन रंगरसमा बितोस् । कहिले पनि युवावयको दु:खद अन्त्य नहोस् । चाहनाको यो रसभूमि कहिले बन्जरभूमिमा परिणत नहोस् । सदा हाँसी रहाैँ ! सदा नाचिरहाैं । सदा ….सदा….!

स्मृति नम्बर दुई…..!

सानोमा हामी साथीहरूसँग गाउँभरि घुम्थ्याैं । गाउँका कुखुराका भाले समाएर एक ठाउँमा ल्याई जुधाउँथ्याैं । गाईगोरू चराउन जाँदा गोरूहरू जुधाउँथ्याैं । प्रशस्त मनोरञ्जन लिन्थ्याैं । एकदिन भाले जुधाउने क्रममा मेरो साथी तारा प्रसाद पुनको आँगनमा थियाैं । जुधेका भाले हेर्दै खुब रमाइलो गर्दै थियाैं । अघिल्लो घरको साँगुरो माइरामा धारा गाउँका नरमान पुन र शिवजी पुन एक अर्कासँग जोरी खोज्दै थिए । जसरी हामी एक ठाउँमा जुधाउँदै गरेका भालेहरू एकापसमा जोरी खोज्थे । हामी जुध्दै गरेका भालेलाई यथास्थानमा हेर्न र रमाइलो गर्न छोडिदियाैँ । पछै पुनको साँगुरो घर पश्चिम फर्केको थियो । उनकै माइरा (घरभित्रको ढोका भन्दा बाहिर तर एउटै छाना मुनि खुल्ला छोडिएको भाग) मा ती दुईको महासङ्ग्राम हुने प्रायः निश्चित भएपछि तनमन उतै मोडियो ।

यी दुबै जना ऊ बेला छायाँ बहादुर पुनको घरमा काम गर्थे । दुबै साहूको घरमा काम गर्ने कामदार थिए । हामी साना थियाैं । उनी दुई कुस्ती खेल्न राजी भए । नरमान मोटा थिए । शिवजी दुब्ला । शिवजीले टाउको खाैरेका हुनाले चिण्डे कपाल थयो । माइराको छेउमा जाँतो थियो । मकै, कोदो, जाैँ, गाैँ, फापर, सिमी र अन्य खाद्य त्यही जाँतोमा पिसिन्छ । ऊ बेला मुड्की भन्दा पनि उचालेर पछारिने चलन थियो ।

नरमान र शिवजी भएभरको प्राणसाथ कुस्ती खेल्न लागे । एकछिन् पछि मोटाघाटा नरमानले शिवजीलाई माइराको छेउमा अवस्थित जाँतोमा पछारे । चिण्डे कपाल जाँतोमा नराम्ररी बजारिँदा शिवजी क्वाँ क्वाँ रोए । हामी एकापसमा हेराहेर मात्र भयाेँ ।

स्मृति नम्बर तीन …..!

पुरानो स्कुल थियो । पञ्चायत घरको ठिक मुन्तिर । ऊ बेला त्यही स्कुल सबै भन्दा छेउमा पर्दथ्यो । त्यो भन्दा पल्लोपट्टि सुरबिन्द्रकुमार पुनको घर भर्खर बनाएको नयाँ थियो । हामी पुरानो भत्किन लालायित त्यस जीर्णाेद्वार स्कुलमा पढ्थ्याैँ कखरा । स्कुल दुई तल्ले थियो । कति कोठा थियो याद भएन । दुई कोठा चाहिँ याद छ । जेहोस् माथिल्लो तल्लामा दुई वटा झ्याल थिए । झ्यालमा स्कुललाई फितिक्कै नसुहाउने दुई वटा चित्र कुँदिएका थिए । एकापट्टिको झ्यालमा एउटी महिला आफ्नो याैनाङ्ग सर्वाङ्ग छोडेकी थिई । अर्कोपट्टिको झ्यालमा एक जना पुरुषले महिलातिर फर्की आफ्नो याैनाङ्ग समाएको थियो । हाम्रो बालसुलभ मस्तिष्कले अरू कुरा नबुझे पनि अश्लिल तस्बिर हेर्दै खित्का छोडि हाँस्थ्याैँ ।

पुरानो स्कुलको नजिकै शिवजीले आफन्तको घरको माइरामा काठले बारेर खुद्रा पसल राखे । उनकोमा हामी चकलेट किनेर खान्थ्याैँ ।

पछि धरमशालामा विद्यालय सर्‍यो । कक्षा चारदेखि म धरमशामा पढ्ने भएँ । स्कुल आउने जाने बेला सुर्बिन्द्रकुमारको घर मास्थिर बाटो घारी मनमान दमाईको खरले छाएको घर थियो । पछि त्यसको ठिक मुनि शिवजीले एउटा सानो बार बन्देज बनाएर बारी खोस्रिन्थे ।

जनयुद्धकालीन अवस्थामा म केही वर्ष पोखरा काठमाडौंतिर हराएँ । गाउँ फर्किएको समयमा ऊ बेलाको त्यही सानो खोस्रीरहेको बारीमा तीनतले घर बनाइएको देखेँ । विगत दिनमा आफ्नैहरूबाट प्रताडित मान्छे यो बीचमा ठूलै संघर्ष गरेकै हो भन्ने अनुमान लगाउन म बाध्य भएँ ।

जीवनमा हरेक सफलता चुमेकाहरूको जीवन कहानी पढेको अवश्य हो । परन्तु एउटा निर्धो मान्छेको सफल कहानी, संघर्षमय जीवन चर्याले नतान्ने त कुरै भएन । मलाई उनको जीवन एउटा गतिलो पुस्तक हो भन्ने लाग्यो । एकदिन यो पुस्तक मैले पढ्नै पर्छ भन्ने लाग्यो ।

स्मृतिको धुमील छायाँबाट म वर्तमानमा अवतरण गरेँ । वर्तमानमा मेरो अगाडि एउटा दुब्लो पातलो मान्छे उभिएका छन् । निकै मृदुलतासाथ बातचित गर्दैछन् । उनलाई हेरेर मेरो मनले एउटा आकार ग्रहण गर्‍यो । उनको बारे मेरो मनमा तैरिरहेको प्रछायाँ यसरी सल्बलायो ।
***

क्रमशः ……………!

२०७५ माघ १,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको