माघी पर्वले बचाएको ‘एउटा जीवन’


भरत कुमार पुन । आज माघ १ गते । नेपालीहरुको चाड मध्येमा माघी पर्व पनि पर्छ । अझ मगर लगायत जनजाती समुदायको त मुख्य तथा महान पर्व नै हो । माघ १ गते मैकोटका मगर समुदायले आफ्ना चेलीबेटीका लागि समर्पण् गर्छन् भन्दा फरक नपर्ला । बिहानै बिवाह गरि गएका बाहेक कन्या जति चेलिबेटीलाई वनबाट खनेर ल्याईएका विभिन्न कन्दमुल परिकार सहित पुज्ने प्रचलन छ । यसरी सप्ताहब्यापी पौराणिक धनुषवाण हान्ने कार्यक्रमको शुभारम्भ हुन्छ। यस पर्वको ऐतिहासिक तथा साँस्कृतिक पक्ष आफ्नो ठाउँमा छँदैछ। यहाँ त्यस बारेमा नगई यस पर्वसंग सम्बन्धित एक संयोगलाई संस्मरणका रुपमा उतार्ने जमर्को गरिएको छ ।

०६८ साल तिर हुनुपर्छ । महिना पौष हो क्यारे ! मंसिरे सक्रान्ती मेला पुपाल युवा क्लबको आफ्नो योजनामा भर्खर सम्पन्न भएको थियो । तत्कालिन रुकुम जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्षेत्रिय खेलाडी छनौटका लागि सदरमुकाम मुसिकोट खलंगामा जिल्ला खेलकुद महोत्सव आयोजना गरेको थियो । टिम म्यानेजरको जिम्मा लिएर साविकको रन्मामैकोट गाविसमा रहेका संभावनायुक्त खेलाडीलाई पहिलो चोटि जिल्लामा सहभागि गराएको थिएँ । जित्ने भन्दा सिक्ने उद्देश्य ज्यादा थियो उक्त सहभागिता । जे होस् राम्रो प्रद्धर्शन गरेका थिए । पछि मेरो कमाण्डका एक जना प्रकाश बुढा छनौट हुन सफल भए ।

खेल जारी रहेकै समयमा बिहानपख घरबाट फोन आयो परिवारको । उनले आफुलाई शारीरिक रुपमा केही असजिलो भएको जानकारी दिईन् । र थप्दै थिईन् दुईजना छोरी छन् यसपाली पनि छोरी भो भने उमेर पनि जान्छ अनि अर्को तिर पढाइ सढाई पनि दिनु पर्यो यत्तिकै पाएर मात्र नि भएन अरु के के भन्दै गइन । म सुन्दै गएँ । फोनवार्ता सकियो ।

दिनभर म सोचमग्न रहें के गर्ने के नगर्ने भनेर । साँझ तलै बोलाउने हिसाबले फोन गरें बोलाएँ । केही दिनमै उनी म खलंगा आइन् । भलाकुसारी भयो । गर्भ परिक्षणका लागि काठमाडौ जाने अनि छोरा भए राख्ने छोरी भए ! अर्थात ‘एबोर्सन’ गर्ने नमिठो सल्लाह पारित भो । सो मुतावित उनलाई आबश्यक रकम साथ काठमाडौं पठाएँ सुरबिन्द्रको सम्पर्कमा । काठमाडौंमा आबस्यक चेकजाँचका क्रममा समय नपुगेको र अझै माघ ११ गतेसम्म बस्नुपर्ने सुझाव दिईएछ । सो खबर थियो पौष आधातिरको । माघी पर्व आउन हतारिंदैथ्यो । के गर्ने ? भनेर निर्णायक सल्लाह माग्दै थिई । यसो घोरिएँ । कुनै निकास निस्केको थिएन मनमा ।

रातभरी छट्पटिएँ । तोकिएको समयसम्म पर्खन लगाउँ घरमा छोरीहरुको विशेष पर्व(माघी) आउँदैछ, परिक्षणै नगरी बोलाउँ के हो, के हो ? क्या फसाद ! जसोतसो एउटा बिन्दुमा त पुग्नै पर्यो। अनि आँखा चिम्लेर निर्णय लिएँ छोरा होस् या छोरी भगवानका बरदान हुन् । तोकिएको समय गोली मारेर आउनु भनेर फोन गरें । उनले पनि केही असजिलो महशुसका साथ स्विकारिन् । त्यसपछि दुई दिन पछि मसानघाटबाट उनी घर फिर्ती भईन । करीब ५/६ दिनको यात्रा पछि घर पुगिन । दुई छोरी रमाए। उनी घर पुग्दा पर्व आउन केही दिन मात्र बाँकी थियो । घरको तौल थप बढ्यो । माघ १ गते आफ्नो सबैजना खुशीसाथ छोरीहरुलाई पुजियो ।

गर्भमा रहेको नवजात शिशु प्राकृतिक नियम अनुसार बढ्दै थियो । यार्सा सिजन आयो । सिजन लगत्तै तत्कालिन रन्मामैकोटका अगुवाहरु केही मुद्धा बोकेर डेलिगेशनका लागि सिंहदरबार पस्ने हेतुले काठमाडौं झर्ने काम भो । टोलीमा म पनि थिएँ । गाउँ छाडेको ८ दिन बिहान घरबाट आफन्तको फोन आयो । खबर थियो छोरीको जन्म भएको । म खुशी भएँ किनकि छोरा या छोरी जे भएनि दुबै सन्तान नै हो भन्ने सवालमा म स्पष्ट थिएँ । अब दुई छोरीसंगै अर्को छोरी थपिएर तीन छोरी भए । सोही दिन बिहान तत्कालिन माके कार्यलय पेरिस डाँडा भेटघाट कार्यक्रम थियो । भेटघाट पछि निस्कँदै गर्दा अगुवा र साथीहरुल सो खबर दिएँ। फटाफट बधाई दिए। नाम पनि तात्तातै कसैले पेरिसमाया कसैले पेरिश्मा राख्दिए। यद्दपी दुबै नाम भने टिकाउ भएन ।

समय बित्न कति न लाग्छ र ! छोरी जन्मेको साल अर्को माघी पर्व आयो नियमित कक्ष पार गर्दै । जब छोरीहरुलाई पुज्ने तयारीमा हुन्छु म एकफेर अतीत संझि झस्किन्छु । यदि माघी पर्व हाम्रो समुदायको मुख्य पर्व नभएको भए ? त्यो भन्दा बेशी सो पर्वमा चेलिबेटी पुज्ने चलन नभएको भए ? सायद उनी माघ ११ गतेसम्म बस्थिन अनि छोरीको संसार हेर्ने भाग्य पनि संभवत……..! उफsss ! म कल्पना पनि गर्न सक्दिन । यदि छोरीको संसार हेर्ने भाग्य खोसिएको भए आज काखमा लुटपुटिने थिईनन् । राम्रो नाचेर अरुलाई मनत्रमुग्ध बनाउने कला पनि तुहिन्थ्यो । भविष्यमा केही बन्ने भनेर सबेरै टिफिनमा खाजा बोकेर स्कुल जाने पनि हुन्नथिन् यस्तै यस्तै ।

त्यसैले हरेक आमा बुवालाई मेरो सुझाव के भने अचेल छोरा र छोरी दुई सन्तान भन्दै हजारौं लाखौं अन्य भ्रुण जो दिनहुँ हत्या भैरहेछ, आंकडा सम्बन्धित भ्रुण बधशालामा होला । वास्तवमा यो सरासर घोर पापजन्य कार्य हो । यदि हाम्रा बाआमाले पनि हामिले जसरी हामिलाई नै गर्भमा तुहाई दिएको भए के हुन्थ्यो ? सवाल पेचिलो छ । सुखी परिवारका नाममा अस्थायी नियोजनका विधि प्रक्रिया नअप्नाई भ्रुण हत्या मात्र गर्न उद्दत हुन्छौं भने हामी एक नम्बरे हत्यारा दरिन सक्छौं । यस सवालमा सबले ठण्डा दिमागले सोच्न आबश्यक छ ।

भोलि बिहान झिसमिसे आफुलाई पुजिने कल्पनामा प्राय: छोरीहरु आज अनिदो हुनेछन् । बिहान पुजि सकेपछि मेरी छोरीहरु लगायत सम्पूर्ण छोरीहरु रमाउने छन् । जो सौभाग्यले बाँच्न सफल छन् । यसरी माघी पर्वले मेरी छोरीको संसार हेर्ने भाग्य जुराईदिएको छ । धन्य ‘माघी पर्व’। चेलीबेटीको पर्व ।जब जब माघी पर्व आउँछ, उपरोक्त घटना र संयोगले झस्काई रहन्छ । भोलि बिहान पनि झस्काउनेछ । हरेक साल यहि समयमा झस्काईरहनेछ।

२०७५ माघ १,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको