पर्वहरुले निम्त्याउने ‘म्यासेन्जर आतंक’


पृथीछक बुढा मगर । म्यासेजलाई नेपाली भाषामा सन्देश भनिन्छ । पहिले पहिले मान्छेहरुले कागजमा आफ्नै हातले लेखेर म्यासेज पठाउथे । लेख्नेले कापीको पानामा आफ्नो हातको स्पर्श छोडेको हुन्थ्यो भने पढ्नेले पनि उहीँ पानालाई छोएर पढेको हुन्थ्यो । अनि भित्रै देखि एउटा नौलो र मिठास अनुभुती आउँथ्यो । एउटै कागजको पानामा दुबैको स्पर्श परेको हुन्थ्यो ।

यस्ता म्यासेजहरु लाखौं पटक आइरहोस् भन्ने लाग्थ्यो । केही बोर नलाग्ने । महिनौं लगाएर कुर्दा पनि आँखाहरु नथाक्ने । तर अहिले चाहिँ क्षण क्षणको विद्युतीय म्यासेज देखेर उदेक लाग्ने गर्छ ।

पहिले चिनेको मान्छेलाई मात्रै सन्देश लेखिन्थ्यो । कहिलेकाही पत्रमित्रताको लागि युवामन्चमा छापिएका ठेगानाहरुमा पत्र पठाइन्थ्यो एक प्रति सतर्क भएर उभिएको रंगीन फोटो सहित । अहिले चाहिँ सन्देश लेख्नलाई चिनजान हुनैपर्छ भन्ने छैन । नम्वर वा आइडी भेट्यो कि म्यासेज पठाईहाल्छन् । पहिलेका सन्देशहरुमा कति आदरणीय शब्दहरु प्रयोग गरिन्थे । अहिले त सिधै हाई/हेल्लो जान्छ ।

पहिले शुभकामनाको लागि फुलको गुच्छा पठाइन्थे । पछि पोष्टकार्डको जमाना आयो । के जन्म दिन, के समबेदना, के बधाई, के बार्षिकी, टाढाटाढासम्म खाममा पोष्टकार्ड हालेर पठाइन्थ्यो । हप्ता, दिन, महिनामा जवाफ आउँथ्यो । त्यो जवाफमा सुगन्ध पाइन्थ्यो ।तर अहिले जमाना फरक छ ।

हाम्रो देशमा अनगिन्ति पर्वहरु छन् । जिन्दगीको आधा समय त तिनै अनगिन्ती पर्वहरु मनाएर बित्छ । माघे सक्रान्ति हाम्रो आगनीमा टुप्लुक्कै आइपुगेको छ । अंग्रेजी नयाँ बर्ष भर्खरै आएर गयो । नयाँ बर्ष आउन अगावै शुभकामनाका विभिन्न अडियो, भिडियो सन्देशहरु म्यासेज वक्समा आए । विभिन्न धार्मिक, राजनीतिक, भाषिक, जातीय पर्वहरु उत्तिकै छन् ।

यिनै पर्वहरुले निम्त्याउने ‘म्यासेन्जर आतंक’ भोग्नुको पीडा पृथक छन, जो अनावश्यक र समयको बर्बादी मात्रै लाग्छ ।

कुनै कलाकारले गायको गित वा भिडियोलाई एकै क्लिकमा सबैलाई पठाउन सकिन्छ । मलाई यतिखेर बडो उदेक लाग्छ । अरुलाई पनि त्यस्तै हुँदो हो । न कुनै मीठो अनुभुति । न कुनै आफ्नो पन । विद्युतीय सन्देशले मान्छेहरुलाई अल्छी बनाएको छ । केवल औपचारिक बनाएको छ । यसो भनौं केवल औपचारिकता निभाउनको लागि ती म्यासेजहरु पठाइन्छ ।

अहिलेका जमानाका मान्छेहरु कम ब्यबहारिक भए जस्तो । पहिले कसैलाई काम बिशेषले सन्देश लेखिन्थ्यो । अहिले चाहिँ काम नभए पनि म्यासेज लेखिन्छ । चिन्दै नचिनेको, जान्दै नजानेको मान्छेले म्यासेज लेख्छ । चिन्दै नचिनेको र जान्दै नजानेकोसंग म्यासेज लेखिन्छ ।

यदि तपाईं महिला पर्नु भो भने त यसको पीडा मलाई भन्दा तपाईंलाई थाहा हुनुपर्छ । अहिले जस्तो हिजोको जमानामा पत्र लेखेर कसैले कसैलाई यौन हिंसा कमै गरेको पाइन्छ । धेरै महिलाहरु यसवाट पीडित हुनुहुन्छ ।

साइवरले सन्देशको भ्यालु ह्वात्तै घटाएको छ । जवाफ दिनै मन लाग्दैन । तब उतावाट यस्तो म्यासेज आउन थाल्छ, `यो मान्छेले कति भाउ खोजेको ?´ उनिहरु यो बुझ्दैनन् सबै मान्छेहरु उनिहरु जस्तै फुर्सदमा नहुन सक्छन् । म्यासेजसम्म त ठिकै छ । म्यासेन्जरको फ्री कल त झन कति उदेकलाग्दो छ भन्ने कुरा हामी सबैले बुझेका छौँ । यो म्यासेन्जर आतंक हो । मलाई यसवाट खुबै उद्देक लाग्ने गर्छ ।

२०७५ माघ १,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको