मंसिर २८, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले चार व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
मंसिर २६ गते बसेको बैठकले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम शनिबारदेखि एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा राखिएको अवधिभर यी निर्माण व्यवसायी/आपुर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
श्री सुनौला खिम्ती कन्स्ट्रक्सन प्रालि काठमाडौं महानगर १३ तीनकुनेलाई जिल्ला समन्वय समिति मुस्ताङको आग्रहअनुसार एक वर्ष कालोसूचीमा राखिएको छ ।
मध्यपुर ठिमी भक्तपुरको श्री शान्ति/राम जेभीलाई जिल्ला समन्वय समिति जुम्लाको आग्रहमा तीन वर्षका लागि कालोसूचीमा राखेको कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।
श्री चौलागाईं निर्माण सेवा खाँडाचक्र नगरपालिका १ कालिकोटलाई जलस्रोत तथा सिँचाइ विकास सवडिभिजन कार्यालय कालिकोटको आग्रहमा एक वर्ष कालोसूचीमा राखिएको हो ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन नुवाकोटको आग्रहमा श्री अरनिको/त्रिशुली जेभी काठमाडौं महानगर १६ बालाजुलाई पनि एक वर्ष कालोसूचीमा राखिएको शनिबार निकालिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस