कात्तिक २८, बुटवल । पूर्व अर्थमन्त्री, नेकपाका महासचिव तथा प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले प्रदेश ५ को स्थायी राजधानी बुटवलमै हुने दाबी गरेका छन्।
बुधवार साँझ तिलोत्तमामा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले उक्त दाबी गरेका हुन् । ‘प्रदेश ५ को राजधानी हल्काफुल्का ढंगले राखिएको होइन’, उनले अघि भने, ‘बुटवलमा रहेको प्रदेशको राजधानी अब स्थायी नै हो भनेर बुझ्दा पनि हुन्छ ।’
प्रदेशको नामाकरणको विषयमा प्रदेश सभाले गठन गरेको आयोगले छिट्टै टुङ्गो लगाउने विश्वास व्यक्त गर्दै उनले नामाकरणमा समेत कुनै विवाद सिर्जना नहुने उल्लेख गरे ।
त्यसैगरी उनले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा चासो र चिन्ताको विषयममा रहेको सिद्धबाबामा केही हप्ता दिनमा सुरुङमार्ग निर्माणका लागि टेन्डर प्रक्रिया सुरु हुने बताए ।
बुधबार नमस्ते नेपाल रुपन्देहीले तिलोत्तमामा आयोजना गरेको चुनावी प्रतिबद्धता खुल्ला समिक्षामा बोल्दै उनले १ दशमलव ३ किलोमिटरको सुरुङ मार्ग सहित ३ दशमलव ३ किलोमिटरको बाटो निर्माणका लागि डिपिआर तयार भएको जानकारी गराए ।
स्विटजरल्याण्ड सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो सुरुङमार्ग नेपालको दोस्रो सुरुङ मार्गका रुपमा रहने उनले बताए ।
यस क्षेत्रका जनताको चासो रहेको काली गण्डकी तिनाउ डाइभशर्नको डिपिआर यसै आर्थिक वर्षको अन्त्य सम्ममा तयार भइसक्ने बताउँदै नेता पौडेलले सबैलाई विश्वासमा लिएर काम गर्ने बताउँदै कसैले पनि अवरोध नगर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस