टिकाराम वली । प्रचण्डपथ क्रान्तिकारी रातोसलाम !
प्रचण्डपथ, तपाईंलाई सम्बोधन गरेर रंगीचंगी बनाउने बुर्जुवा शिक्षाको योग्यता त म संग छैन । त्यहीँ तपाईंहरुबाट प्राप्त गरेको ज्ञान भाषा र योग्यता बोकेर भताभुङ्ग भएको मन मस्तिष्कलाई खुलापत्र मार्फत व्यक्त गर्न गैरहेको छु ।
सायद मिठा र शालिन शब्दहरु नहुन सक्छन् । त्यसप्रति म क्षमाप्रार्थी छु ।
तस्बिर: पुर्बजनमुक्ति सेना ‘टिकाराम वली’
प्रिय प्रचण्डपथ तपाइले देखाएको मार्गदर्शन र योजनाबाट विछाेड भएकाे लामाे समयपछि फेरि मनमा पैदा भएका दुःख, हर्ष र तरंगहरु पत्र मार्फत बहकाउन मन लाग्याे ।
प्रचण्डपथले मार्गदर्शन गरेको बिचार, मालेमावाद र आदर्शले सिकाएको झुपडीको समाजवाद यतिबेला खोजिरहेको छु । परिवर्तित समुन्नत नेपाल खोजिरहेको छु । रक्तरंजित यात्राले तय गरेको सर्बहारा बर्गको जनबादी ब्यबस्था खोजिरहेको छु ।
यतिखेर तिमि कहाँ छौ प्रचण्डपथ…. ?
छितिजपारि नौ डांडाबाट बिहान उसाकिरण उदाउदा पनि अझै गरिबका झुपडीहरु गुमनाम र सुनसान जस्तै देखिन्छन । ब्यथितिले अझै मुन्टो ठड्याई रहेको छ । माफियाहरुको राज अझै चलिरहेको छ ।
बिद्रोह, युद्ध र आन्दोलनको अग्रमोर्चामा लड्ने झुपडीहरुले देखेको परिवर्तन खोज्दा खोज्दै आज निराशामा बदलिएको छ र सपना जस्तै भएको छ । आज त्यहीँ झुपडीको बलिदानबाट प्रचण्डपथ हुँदै जन्मेको गणतन्त्र संघीयताले पनि हाम्रो वर्गको हितमा नभई महलमा बस्नेहरुलाई लाभ दिइरहेको छ ।
अध्यक्ष कामरेडले छोडेदेखि प्रचण्डपथले पनि छाडेर गुमनाम भयौ । हाम्रालागि अध्यक्ष प्रचण्ड निकै प्रिय थिए । त्यस्तै प्रचण्डपथ पनि निकै प्रिय थियो । प्रचण्डपथको रक्षा र बिकाशका लागि उठाईएका हाम्रा हातका हतियार र बर्दी बुझाएसंगै प्रचण्डपथले हारेको थियो । प्रचन्डपथले हार्दा आज सिंगो माओबादिहरुले हारे ।
हे बहादुर प्रचण्डपथ तिमि कहा छौ ? कुन ब्रह्माण्डमा छौ ?
आज तिम्रो चर्चा हुन छोड्यो । संसदीय व्यबस्थालाई आर्यघाटमा जलाउन पशुपतिको मलामीको यात्रामा लागेको प्रचण्डपथ अधुरो रहेपछि संसदबाद चिहानबाट जुरुक्क उठ्यो र प्रचन्डपथको गोरेटो खन्ने प्रचण्ड कामरेडलाई नै संसदबादले मालिक बनायो ।
प्रचण्ड पथको बिकास र रक्षार्थ १७ हजार शहिद भए । हजारौ अपाङ्ग र बेपत्ता भए !
यतिबेला संसदबादी ब्यबस्थामा प्रचण्डपथको खिल्ली उडिरहेको छ । मान्छेहरुले मजाक लिरहेका छन् । राजावादीहरु जुर्मुराएका छन् । जनताको परिवर्तन प्रतिको चाहानालाई सम्बोधन गर्न नसक्नुको आक्रोशले त्यस्ता शक्तिहरुले फाइदा उठाई रहेका छन् ।
अध्यक्ष कामरेड, अब प्रचन्डपथलाई खोजिगरौ ! तपाईं फेरि झुपडीमा आउने हिम्मत गर्नुस् । अब खुशी गुमाएका झुपडीहरुको आकार परिवर्तन गर्ने भिजन लिएर थवाङ जाऊ ।
यतिबेला झुपडीहरु नेतृत्व विहीन भएका छन् । फेरि आधी र तुफान भएर तपाईंले झुपडी रोज्नु भयो भने लाखौं श्रमजीवीहरुले तपाईंलाई झुपडीमा माया, स्वागत गर्नेछन । देशलाई खोक्रो बनाउने दलाल पुजिवादलाई आर्यघाट पुराउने कानुन बनाउनुहोस् ।
प्रचण्डपथ फर्काउन अब एकपटक चुनवाङ बैठकमा फर्किनुहोस प्रचण्ड कामरेड । बैद्य, बाबुराम, विप्लबलाई त्यहि बोलाउनुहोस र हिजोका झुपडीका सपनाहरु पुरा गरौ । दरबारले महलबासीको चाकडी गर्दो रहेछ ।
स्मरणहोस, विश्व सर्वहारा वर्गले प्रचण्डपथ प्रज्वलित भएको देख्ने इच्छा जिवितै राखेका छन् । हाम्रो आदर्शको प्रेमको उपहार नै प्रचण्डपथ हो । हाम्रो अभाव, आलोचनाको पात्र पनि प्रचण्डपथ नै बन्यो । हामीले झार्ने आँसु पिडा र अपेहेलनाको कारण पनि प्रचण्डपथ नै हो । अब प्रचण्डपथको बाटो अघि बढौ र शहिदका महान अभिभारा पुरा गरौ ।
टिकाराम वली पुर्बजनमुक्ति सेना हुन् ।
प्रतिक्रिया दिनुहोस