जनवाद सकियो भन्ने भ्रान्तिमा कोहि नपराैं: जगत घर्ती ‘काजु’


साउन २९, पुर्बीरुकुम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सदस्य जगत घर्ती राजनीतिक हिसाबले निकै खारिएका व्यक्ति हुन् । उनीसँग समसामयिक विषयमा कर्मसही घर्ति मगरले गरेको कुराकानीको सार संक्षप यहाँ प्रस्तुत छ:

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियाको जुन नतिजा बाहिर आयो, के योग्य व्यक्तिहरू छनोट भएकै हुन् त ?

जगत घर्ती:- देशको माग, नेता कार्यकर्ताको माग र जनताको माग अनुसार नेपालका दुई ठूला पार्टी बीच एकता भयो । यो आफैमा एउटा ऐतिहासिक कार्यको शुरुवाती क्षण हो । जुन नेपालको सन्दर्भमा एक अपरिहार्य पाइला हो । जहाँसम्म योग्य व्यक्तिहरू छनोट भएकी भएनन् भन्ने सवाल छ, अहिलेको समय सन्दर्भमा सन्तोषजनक नै छ । अहिले एकता प्रक्रिया भएको कारण साँच्चिकै योग्य व्यक्तिहरू दुई पार्टीबाट एकाध कार्यकर्ता छनोटमा नपर्न सक्नु हुन्छ । यसमा दु:ख मनाउको कुरा होइन । यो जिम्मेवारी बाँडफाँडको सवालसम्म चाहिँ हो ।

बाँकी कुरा पछिल्लो अधिवेशनमा देखिएला । पर्देश, जिल्ला, गाउँपालिका र वडाहरूमा जरुर योग्य मानिसहरू छुटेका छन् । तिनीहरूको कुनै पनि तहबाट व्यवस्थापन हुनेछ । जसबाट योग्य व्यक्तिमा, इमानदार कार्यकर्तामा निरासा र भ्रम पैदा नहोस् भन्ने हाम्रो अभिप्राय सदा जीउँदो रहनेछ ।

कम्युनिस्टको आधारभूमि रहेको रुकुम पूर्वमा कार्यकर्ताको भीडको तुलनामा क्रियाशीलता लगभग शुन्य नै देखिनुको कारण के हुन सक्छ ?

जगत घर्ती:- विगतका दिनमा जसोतसो क्रियाशीलता यथावत थियो । पछिल्लो समयमा दुई ठूला पार्टी बीचको एकता प्रक्रिया धेरै लम्बिनुले नै यस्तो लागेको हो । केन्द्रीय कमिटीको लामो समयसम्म टुङ्गो लाग्न नसक्नुले नै जिल्ला, गाउँपालिका र वडाहरूका क्रियाशीलता शुन्य जस्तो देखिएको अवश्य हो । यसले केही अन्योल स्थिति पैदा गरे पनि अबका दिनमा पार्टी एकताको टुंगो सेलसम्म पुगेको छ । अब भने नयाँ पुराना नेता कार्यकर्ताहरूमा एक किसिमको उर्जा थपिएको अवस्था छ ।

पुथा उत्तरगंगा गाउँपालिकाको पार्टी एकतामा सहज असहज के भयो होला ?

जगत घर्ती:- गाउँपालिका र सदरमुकामको मुद्दाका कारण पार्टीभित्र केही अन्तरकलह भएको यथार्थ लुकाउनु हुँदैन । पछिल्लो चरणमा गाउँपालिकाको मुद्दा सकिसकेको अवस्था छ र सदरमुकामको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकोले अहिलेको पार्टी एकतामा आंशिक असर परे पनि सबै नेता कार्यकर्ताहरूको विवेकपूर्ण धैर्यताले सहज नै भयो । अब चाहिँ कार्यकर्ताहरू बीच रहेको अन्योलता एकता प्रक्रियापछि पार्टीप्रति प्रतिबद्ध हुने जोश जाँगर चलेको छ ।

पार्टीमा जनवाद सकियो, केन्द्रीयता मात्र हावी भयो भन्ने तर्कमा तपाईको विचार के छ ?

जगत घर्ती:- भर्खर पार्टी एकता भएको हुँदा केन्द्र देखि तलसम्म नियुक्तिका आधारमा नेता कार्यकर्ता छनोट प्रक्रिया अघि बढेको हो । तर पनि निकै गरमागरम बहसले यसमा काम गरेको छ । हाललाई माथिबाट नियुक्ति गरिएकोले सायद बेसी केन्द्रीयता हावी भयो भन्ने भान परेको हुन सक्छ । यसो भन्दैमा जनवाद सकियो भन्ने भ्रान्तिमा कोहि नपराैं ।

पार्टीको टिकट पाएर जितेका जनप्रतिनिधिसँग पार्टीको दूरी नजिक हुन सकेन नि ?

जगत घर्ती:- यो बीचमा पार्टी एकताले पार्टीको पहुँच केही हदसम्म शुन्य भएकै हो । पार्टी अस्तव्यस्त जस्तै थियो । पार्टीको क्रियाशिलताको अभावले र लामो समयसम्म एकता प्रक्रिया नटुङ्गिएको हुँदा कसको स्थिति के हुने निश्चित नभएपछि यसले स्वभाविक रूपमा जनप्रतिनिधि सँगको दूरी केही बढेको हो । यसले पार्टीले जनप्रतिनिधिलाई वास्ता नगरे जस्तो र जनप्रतिनिधिले पार्टीलाई नटेरे जस्तो अवस्था रहेको थियो । तर अब पार्टी एकतासँगै निकै जोश जाँगरसाथ नेता कार्यकर्तामा एउटा उर्जा पलाएको छ ।

यसले अबका दिनमा जनप्रतिनिधि सँगको दूरी नजिक हुने कुरामा ढुक्क हुन सकिन्छ । पार्टी र जनप्रतिनिधि बीचको सुसम्बन्ध बढेको छ । जसले जनताको पीडा दु:ख जनप्रतिनिधि समक्ष पुग्ने छ । जनप्रतिनिधिलाई आफ्नो कर्तव्यबोध गराउन हामीले हमेशा पहल गर्नेछाैं ।

नेता कार्यकर्ता जति सबै अतितमुखी भए, वर्तमान सापेक्षतामा चल्न सकेनन् भन्ने आरोप छ नि ?

जगत घर्ती:- अहिलको सापेक्षतामा हेर्ने हो भने हामीलाई पनि यस्तो भान परेकै हो । तर अबका दिनमा नेता कार्यकर्ता बीचमा बृहत् अन्तरक्रिया गरेर जानू पर्नेछ । विकास निर्माणलाई अगाडि बढाउनुपर्छ । पार्टीको काम कार्य जहिले पनि जनमुखी हुनु आवश्यक छ । हुनु पर्छ । यसले जनप्रतिनिधि सँगको सामिप्यतालाई प्रगाढ बनाएर जनताको आवश्यकताका खातिर काम गर्नु पर्छ । यो नै वास्तविक जनताको सेवक हुनु हो ।

पार्टीलाई जीवित पार्न र नयाँ पुराना कार्यकर्तालाई जागरुक पार्न के गर्नु पर्ला ?

जगत घर्ती:- देश संघीयतामा गइसकेपछि संघीयता कसरी लागू गर्ने भन्ने सवालमा पार्टी र जनप्रतिनिधि सबैलाई चुनाैतीको विषय छ । अबको चुनाैती भनेकै संघीयतालाई कसरी व्यवस्थित र मर्यादित बनाउने भन्ने नै हो । नयाँ संविधान र नयाँ कानुन भएकोले पनि कार्यकर्ता र जनतामा केही अन्योलता बढेको तीतो यथार्थ छ । तर संभावना जीउँदो जाग्दो छ ।

पार्टी र जनप्रतिनिधि बीचको समन्वय, पार्टी र जनता बीचको समन्वय, पार्टी र अन्य न्यायिक पक्ष, प्रशासनसँगको समन्वय तथा विविध पक्षसँगको समन्वयलाई बढाउनु पर्ने हुन्छ । जनताको दैनिकीसँग घोलमेल हुनु पर्छ । यसको लागि सबै जिम्मेवार नयाँ पुराना कार्यकर्ता जागरुक हुनु नितान्त आवश्यक छ । यसले नै पार्टी पनि जीवित रहन्छ । कार्यकर्ता जागरुक भयो भने पार्टी जीवित हुने न हो ।

पार्टीले असन्तुष्टि कार्यकर्ता मिलाउन नसकेको हो वा मिलाउने मनसाय नगरेको हो ?

जगत घर्ती:- स्वभाविक रूपले पार्टीको माथिदेखि तल्लो तहसम्म असन्टुष्टि बढेको यथार्थलाई नकार्न सकिन्न । विशेषगरी जनयुद्धका घाइते योद्धाहरू, पूर्व कार्यकर्ता र नयाँ प्रतिभाशाली जमातहरूलाई समेट्न नसकिएको अवस्था छ । यो एकता प्रक्रिया हो । यो अधिवेशन होइन । मैले माथि पनि भनिसकेको छु । माथिदेखि नियुक्ति हुने वर्तमान जुन बाध्यता छ, यसले पनि कार्यकर्ता सबै अट्न नसकेको अवस्था छ । तर अब छिटोभन्दा छिटो पार्टीका जनवर्गीय संगठन गठन गरेर केही हदसम्म यो असन्तुष्टिलाई मत्थर गर्न सकिन्छ ।

अहिलेसम्म नेता कार्यकर्ता झोला बोक्ने इमानदार मात्र भए, समय सापेक्ष रूपमा रुपान्तरण भएर जनताको पीर मर्का बुझ्न सकेनन् भनिन्छ नि ?

जगत घर्ती:- म पनि लगभग यस कुरामा सहमत छु । स्वभाविक रूपमा हिजोका दिनमा झण्डै यस्तै नियति भोग्याैं हामी सबैले । कार्यकर्ताको, लडाकु, शहीद परिवार, घाइते अपाङ्गहरूको व्यवस्थापन गर्न नसक्नू ठूलो चिन्ताको विषय पनि हो । तर अबका दिनमा आफ्नो विवेकपूर्ण कला र कार्य कुसलता नदेखाउने हो भने, जनताको सामुहिक कार्यमा नलागि एउटा झुण्डको पक्षमा मात्र समय खर्चिने हो भने त्यसले राम्रो सन्देश दिँदैन । बरू विभिन्न भडकाव सिर्जना गर्छ । यसको लागि बेला बेला सामुहिक छलफल र अन्तरक्रिया गरेर सही रूपमा कार्य सम्पादन गर्न सक्याैं भने जनताप्रतिको उत्तरदायी हुनेछ । पार्टीको सर्वोच्च निकायले पनि जनताको हित खातिर लाग्न सदा उत्प्रेरित गर्नु आवश्यक छ ।

राजनीति र समाज बीचको अन्तरसम्बन्ध कस्तो हुनु पर्छ होला ?

जगत घर्ती:- राजनीति र समाज एक अर्काका परिपूरक हुन् । राजनीति बिना समाज चल्न सक्दैन । समाज बिना राजनीतिको आैचित्य हुँदैन । राजनीति समाजको हित निम्ति गरिन्छ । गरिनुपर्छ । समाजको हित विपरित राजनीति भयो भने जनताले दु:ख पाउँछन् । समाजको हित अनुकुल राजनीति भयो भने जनताको सेवा, सुरक्षा र विकासको प्रत्याभूति दिलाउन सकिन्छ ।

भर्खर देशमा संघीयताको जुन प्रयास भएको छ । यसको व्यवस्थित र मर्यादित दंगले लागू गर्न सकियो भयो अवश्य पनि समाजको हित हुनेछ । यसको लागि राजनीतिले अहम् भुमिका खेल्नु अत्यावश्यक छ । लोक कल्याणकारी कार्य अवलम्वन गर्नु नै राजनीतिको ध्येय हुनु अनिवार्य हुन्छ ।

२९ श्रावण २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको