लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा २ चालक नराखे कारबाही


साउन २९, काठमाडौँ । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी (गाडी मालिक या कम्पनी) लाई कारबाही गर्ने चेतावनी दिएको छ ।

फाइल तस्बिर 

यो समाचार कान्तिपुर दैनिकमा छ । लामो दूरीमा एक जनामात्र चालक हुँदा बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो । लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भए/नभएको मुलुकभर अनुगमन गरिने विभागले जनाएको छ ।

विभागले प्रस्थानबिन्दुबाट २५० किमि वा त्योभन्दा बढी दूरीमा चल्ने गाडीले अनिवार्य २ चालक नराखेको पाइए सवारीधनी या कम्पनीलाई नियन्त्रणमा लिई कारबाही गर्ने बताएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने गाडीमा कम्तीमा २ चालक अनिवार्य राखी प्रत्येक ६/६ घण्टामा पालैपालो चलाउनुपर्ने प्रावधान छ ।

एउटै चालकले लामो दूरीमा गाडी चलाउँदा थकानका कारण दुर्घटना बढेपछि यस्तो कानुनी व्यवस्था गरिएको थियो । विभागले मध्यम दूरीमा गाडीका चालकलाई प्रत्येक ४ घण्टामा आधा घण्टा विश्राम दिने व्यवस्थालाई समेत कडाइका साथ पालना गर्न आग्रह गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐनमा ४ घण्टाभन्दा बढीको दूरीमा चल्ने यात्रुवाहक गाडीका चालकले प्रत्येक ४ घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्था छ ।

लामो दूरी तथा रात्रिसेवाका चालक निदाउने, थकान र तोकिएको समयमै गन्तव्यमा पुग्नुपर्ने मानसिक दबाबका कारण दुर्घटना हुने गरेको छ । विभागले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन दिइएको निर्देशन कार्यान्वयन नगरे सम्बन्धित यातायात व्यवसायीलाई कारबाही गरिने जनाएको छ ।

२९ श्रावण २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको