सीके राउतलाई संसद्मा ल्याउन यस्तो चलखेल


साउन २९, काठमाडौं । विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् । सप्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको हो ।

स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा सांसद डा. यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संसद्मा ल्याउन पहल सुरु भएको हो ।

सांसद डा. यादवले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाइसकेका छन् । यद्यपि, राजीनामा स्वीकृत हुन बाँकी छ ।

आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद डा. यादवले बताए पनि भित्री योजना सीके राउतलाई सांसद बनाउने योजना रहेको स्रोतको दाबी छ । उनले आफूलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजीनामा दिएको बताएका छन् ।

डा. यादव समाजवादी पार्टी सप्तरी क्षेत्र नम्बर–१ बाट २१ हजार ७१२ मतका साथ विजयी भएका थिए । उनी सप्तरीका चर्चित डाक्टरसमेत हुन् । पछिल्लो समयमा यो क्षेत्रमा डा. राउतको बलियो पकड रहेको स्रोतको दाबी छ । निर्वाचन आयोगले १४ मंसिरमा उपनिर्वाचनको घोषणा गरिसकेको छ ।

‘सीके राउत छुट्टै मधेस देशको निर्माण अभियान छाडेर मूलधारको राजनीतिमा आइसकेका छन्, सरकारले उनीसँग यसअघि नै सहमति गरिसकेको छ,’ स्रोतको दाबी छ, ‘केही लिखित सहमति त्यतिबेलै सार्वजनिक भयो, अलिखित रूपमा भएका केही सहमति अहिले पूरा गर्न खोजिदै छ ।’
सीके राउत यसअघि मधेस छुट्टै देश निर्माण गर्ने अभियानमा थिए । तर, सरकारसँग सहमति भएपश्चात् उनी आफ्नो माग छाडेर मूलधारको राजनीतिमा रहेका छन् । भद्र सहमतिअनुसार नै राउतलाई संघीय संसद्मा ल्याउन खोजिएको स्रोतले जनाएको छ ।

पछिल्लो समय समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)सँग पार्टी एकीकरणको चर्चा चलाउँदै आएको छ । साथै, उसले सीके राउत नेतृत्वको जनमत पार्टीसँग समेत एकीकरणका लागि छलफल गरेको छ । यद्यपि, यस विषयमा नेताहरुले केही बोलेका छैनन् ।
समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले भने डा. यादवको राजीनामा राउतलाई ल्याउनका लागि नभएको बताए । भित्री गोप्य सहमतिलाई अस्वीकार गर्दै अधिकारीले यादवको राजीनामा नितान्त व्यक्तिगत भएको दाबी गरे ।
तर, स्रोतका अनुसार प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री यादव र नेकपाका अध्यक्ष पुष्पकमल दाहालकै सहमतिमा डा. यादवको राजीनामा आएको हो ।

२९ श्रावण २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको