भारतीय पक्षले एकतर्फी रूपमा नदीको धारलाई पश्चिमतर्फ फर्काउँदा डुबान


असार २९, राजविराज । भारतीय पक्षले एकतर्फी रूपमा सप्तकोसी नदीको धारलाई पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् ।

यो खबर अवधेशकुमार झाले कान्तिपुरमा लेखेका छन् । कोसीको पानी बस्तीमा पसेपछि करिब ३ सय घरपरिवार विस्थापित भएका छन् ।

कोसीको जलस्तर बढ्ने क्रम जारी रहेकाले ब्यारेजदेखि रम्पुरा मल्हनियासम्म १८ किलोमिटर नेपाली भूभागमा रहेको पश्चिमी तटबन्धमा जोखिम बढेको छ । तटबन्ध नाघेर वा कटान भएर कोसीको पानी बस्तीमा पस्यो भने हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकाका गरी पाँच लाखभन्दा बढी जनताको उठिबास हुने हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले बताए । पश्चिमी तटबन्ध बचाउन तत्काल कोसीको धार परिवर्तन गरी मध्य भागमा लैजानुपर्ने उनको भनाइ छ ।

कोसीको बहाव शनिबार साँझ करिब ३ लाख क्युसेक प्रतिसेकेन्ड थियो । कोसीको धार पश्चिमतर्फ फर्काउन भारतीय पक्षले चार वर्षअघि एकतर्फी रूपमा पाइलट च्यानल निर्माण गरेको हो । कोसीको पानी विगतमा ब्यारेजभन्दा दक्षिणपूर्वी तटबन्धको छेउ भएर बग्दै आएको थियो । पूर्वी तटबन्ध छेउबाट नदी बग्दा एक किलोमिटर दक्षिणमै भारतीय सीमा पर्ने भएकाले बस्ती जोगाउन भारतीय कोसी योजनाले धार परिवर्तन गर्न पाइलट च्यानल बनाएको हो । योजनाले ब्यारेजको २८ नम्बर ढोकानजिक कोसीको बीचबाट पाइलट च्यानल खनी पश्चिमतर्फ धार फर्काएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकाको डलबामा कोसीको बाढी पश्चिमी तटबन्ध नाघेर बाहिर बग्न थालेको छ । ‘ओभरफलो हुन थालेको छ, तत्काल नियन्त्रण नगरिए ठूलो खतरा हुन सक्छ,’ प्रजिअ पौडेलले बताए ।

‘प्रजिअदेखि प्रधानमन्त्री कार्यालयसम्म पत्राचार गर्‍यौं तर केही लागेन,’ उनले भने, ‘भारतीय पक्षले एकतर्फी पाइलट च्यानल खनेर कोसीको धार फर्काइएको नगर प्रमुख साहले बताए । कोसी योजनाबारे नेपाली र भारतीय पक्षबीच समन्वयात्मक भूमिका खेल्ने सम्पर्क तथा भूआर्जन कार्यालय विराटनगरका प्रमुख सन्तोष लिम्बूले भारतीय पक्षले उक्त कार्यालयलाई पनि जानकारी नदिई पाइलट च्यानल खनेको दाबी गरे ।

कोसी ब्यारेजभन्दा तल पूर्वी भाग नजिकै भारतीय सीमा छ भने पश्चिमी भागमा ब्यारेजदेखि १८ किलोमिटरसम्म नेपाली भूभागमा तटबन्ध छ । सन् १९८८ मा सप्तरीको योगिनियामा कोसीको बाढीले पश्चिमी तटबन्ध भत्काउँदा ठूलो धनजनको क्षति भएको थियो ।

त्यसपछि नदी पश्चिमी तटबन्ध छेउबाटै बगेको थियो । सन २००० मा कोसी नदी धार परिवर्तन गर्दै पूर्वी तटबन्धछेउ भएर भारततर्फ सोझिएको थियो । पूर्वी तटबन्ध नजिकबाट बगिरहेको कोसीलाई ब्यारेजभन्दा तलको भागमा पाइलट च्यानल खनेर भारतले पश्चिमतर्फै फर्काइदिएको हो ।

२९ असार २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको