कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो


असार २९, काठमाडौँ । निरन्तरको वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा आएको बाढीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ ।

शनिबार राति ९ बजेको मापन अनुसार पानीको वहाव ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगेको छ । पानीको बहाब उच्च भएपछि शनिबार राति १० बजेदेखि भारतीय कन्ट्रोल रुमले ब्यारेजका ५६ वटै ढोका खुल्ला गरेको छ।

पानीको बहाब उच्च भएपछि ब्यारेजका सबै ढोका खुला भएको सशस्त्र प्रहरी बल भण्टावारीका प्रहरी निरिक्षक सुरेन्द्र भण्डारीले जानाकारी दिए।

सप्तकोशीमा पानीको बहाब खतराको चरणमा प्रवेश गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

सप्तकोशीमा एक लाख ५० हजार क्यूसेक बहाब पुग्दा नै खतरा मानिन्छ । भारतको बिहार जलमग्न भएपछि भारतले शनिबार दिउँसो ढोका बन्द गर्न दबाब दिइरहेको थियो । तर पूर्वी पहाडी जिल्लामा वर्षा निरन्तर जारी रहेकाले कन्ट्रोल रुमले ब्यारेजका सबै ढोका खुला गरेको भण्डारीले बताए।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गर्दै सबै निकायलाई तयारी अवस्थामा राखेको छ ।

शनिबार मात्र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।

२९ असार २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको