बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजको अटेरी, यी हुन् अटेरी मेडिकल कलेज


बैशाख १, काठमाडौं । तोकिएभन्दा बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन गर्न मेडिकल कलेजहरूले अटेरी गरेका छन् ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, पीडित विद्यार्थी र कलेज सञ्चालकबीच ८ चैतमा भएको सहमति कार्यान्वयन गर्न मेडिकल कलेज सञ्चालकहरूले आनाकानी गरेका हुन् । कलेजहरूले सहमति कार्यान्वयन नगर्दा मेडिकल शिक्षा अध्ययन गरिरहेका विद्यार्थी मारमा परेका छन् ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव खगराज बराल, मेडिकल सञ्चालक, विद्यार्थी संगठनलगायतको उपस्थितिमा मन्त्रालयकै कार्यकक्षमा भएको सहमतिपत्रमा सरकारले तोकेभन्दा बढी शुल्क लिएका गण्डकी मेडिकल कलेजलगायतले सम्बन्धित विद्यार्थीहरूलाई एक महिनाभित्र शुल्क फिर्ता गर्ने उल्लेख छ ।

सहमतिपत्रमा विश्वविद्यालय, कलेज सञ्चालक र मन्त्रालयका प्रतिनिधिहरूले शुल्क फिर्ताको अनुगमन गर्ने उल्लेख छ । तर, अहिलेसम्म पनि काठमाडौंस्थित किस्ट मेडिकल कलेज, पोखरास्थित गण्डकी मेडिकल कलेज, भैरहवास्थित युनिभर्सल मेडिकल कलेज, वीरगन्जस्थित नेसनल मेडिकल कलेजलगायतले बढी लिएको शुल्क फिर्ता गर्न चासो देखाएका छैनन् ।

ती कलेजले छात्रवृत्ति प्राप्त विद्यार्थीबाट समेत अत्यधिक शुल्क लिएका छन् । यस्तै, समयमा शुल्क नबुझाएको भन्दै मेडिकल कलेजहरूले चर्को मात्रामा ब्याजसमेत असुलेको पाइएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।

१ बैशाख २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको