नेपाल बन्द सकिएसँगै विप्लव नेकपाले निकाल्यो यस्तो विज्ञप्ति


फाल्गुन ३०, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आजको नेपाल बन्द प्रतिरोधसहित पूर्ण रुपले सफल भएको बताएका छन् । बिहीबार साँझ विज्ञप्ति प्रकाशित गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

दलाल संसदीय व्यवस्थाले प्रतिबन्धका नाममा अर्को अवरोध ल्याउन खोजेको बताउदै यो प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जाने बिप्लवले बताएका छन् ।

नेकपाका महासचिव विप्लवले सरकारले आफ्नो नरसंहारकारी दमनलाई वैधानिकता दिनका लागि यही फागुन २८ गतेदेखि पार्टीका गतिविधिमा प्रतिबन्ध घोषणा गरेको अवस्थामा जनता र देशको मुक्तिका लागि र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले अभियानात्मक आन्दोलन गरिराखेको पार्टीले सरकारले चलाएको दमन र प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्नु अनिवार्य सर्त हुने स्पष्ट पारेका छन् ।

हेर्नुहोस विप्लवको विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

‘हाम्रो पार्टीका विरुद्धमा केही समयदेखि केपी एन्ड बादल कम्पनीले देशैभरि भीषण दमन चलाइराखेको छ । जनताको घरमा छापामार्ने, कुटपिट गर्ने, यति मात्र नभएर गोलीसम्म हान्न पुगेको छ । उसको यस्तो नरसंहारकारी दमनलाई वैधानिकता दिनका लागि यही फागुन २८ गतेदेखि पार्टीका गतिविधिमा प्रतिबन्ध घोषणा गरेको छ । यस्तो अवस्थामा जनता र देशको मुक्तिका लागि र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले अभियानात्मक आन्दोलन गरिराखेको पार्टीले उसले चलाएको दमन र प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्नु अनिवार्य सर्त हुने गर्दछ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा लड्दै गर्दा कैयौँ अवरोधहरू आउने गर्छन् । हामीले इमानदार र कुशलताका साथ ती अवरोधहरूलाई पन्छाउँदै आएका छौँ ।

यही क्रममा यो दलाल संसदीय व्यवस्थाले प्रतिबन्धका नाममा अर्को अवरोध ल्याउन खोजेको छ । हामीलाई विश्वास छ, यो प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ । यही क्रममा हाम्रो पार्टीले आज आयोजना गरेको बन्दसहितको आमहडताल प्रतिरोधसहित पूर्ण रूपले सफल भएको छ । हाम्रो यो आन्दोलनमा विगतमा झैँ सहयोग, समर्थन, ऐक्यबद्धता व्यक्त गर्ने राजनीतिक पार्टी, व्यक्तित्व, नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसाकर्मी, किसान, मजदुर, पत्रकार सबैमा हार्दिक धन्यवाद व्यक्त गरिन्छ । साथै सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादीहरू एकजुट भएर केपी–बादल कम्पनीले घोषणा गरेको प्रतिबन्धलाई निस्तेज पार्न एक भएर आन्दोलनमा उत्रिन पनि अपिल गर्दछौँ । उक्त आन्दोलनमा हाम्रो पार्टी काँधमा काँध, हातमा हात मिलाएर अघि बढ्न तयार छ ।’

 

३० फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको