प्रतिबन्धबारे विप्लवको कडा विज्ञप्ति- ‘जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा पनि स्वीकर्य छ’


फागुन ३०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेको तर दलाल पूँजीवादी सत्ताको दमन र प्रतिबन्धसामु एकरति नझुक्ने स्पष्ट पारेका छन् ।

यही फागुन २८ गते साँझ बसेको सरकारको मन्त्रिपरिषद्को बैठकले ने.क.पा.लाई कुनैपनि गतिविधि गर्न नदिने निर्णय सहित पार्टीलाई ‘अपराधिक संगठन’ भएको निस्कर्ष निकाल्दै प्रतिबन्ध लगाएको थियो ।

निर्णय संचारमाध्यममार्फत सार्वजनिक भएसँगै महासचिव विप्लवले प्रतिबन्ध गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध वक्क्तव्य दिँदै सरकारको निर्णयको घोर भत्सर्ना गरेका छन् । पार्टीमाथिको ‘प्रतिबन्ध’लाई विप्लवले केपी–बादल कम्पनीको अपराधिक र षडयन्त्रकारी निर्णय भनेका छन् । यसकिसिमको निर्णय आउनुलाई उनले अनौठो भएको बताएका छन् ।

जनयुद्धका तत्कालीन नेतृत्व गरेका प्रचण्डहरु तुच्छ स्वार्थका लागि कांग्रेस, एमाले र भारतसँग घाँटी जोड्न पुगेदेखि आफूहरुले जनता र राष्ट्रको भविष्यको लागि क्रान्तिको झण्डा निरन्तर उठाउँदै २०७२ मा घोषित संविधानलाई अस्वीकार गर्दै आइरहेको र त्यसयता यही फागुनको तेस्रो सातासम्म आईपुग्दा कपिलवस्तु शिवगढी अञ्चलपुरका युवा दुर्गाबहादुर रोकालाई समातेर गोली हानेर घाइते बनाएको र यसपछि आएको निर्णय पूर्वअनुमानकै विषय भएको महासचिव विप्लवले जनाएका छन् ।

चुनाव बहिष्कार यता मात्र राज्यले आफ्नो पार्टीका तीन जना कार्यकर्ताको हत्या गरिसकेको र तीन दर्जन बढीलाई घाइते बनाएको उल्लेख गर्दै सयौं नेता कार्यकर्तालाई झुठा मुद्दामा जेल हालिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

झापा विद्रोह र दस वर्षे जनयुद्धका उद्देश्य, सहिद, घाइते, बेपत्तालाई धोका दिने र विदेशीको दलाली गर्ने तस्कर, कमिसनखोर, बिचौलियासँग मिलेर राष्ट्र बेचेर पैसा खाने, जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, वैरी, भ्रष्ट, राज्यका मन्त्री र तिनका मतियारमाथि प्रतिबन्ध लगाउनुपर्ने महासचिव विप्लवले आफ्नो लिखित वक्तव्यमा स्पष्ट पारेका छन् ।

‘केपी–बादल कम्पनी’ देश र जनताविरुद्ध अपराधिक षडयन्त्र गरिरहेको उल्लेख गर्दै उनले त्यसप्रति गम्भीर ध्यान दिन पनि बुद्धिजीवि, मानवअधिकार, पत्रकार, लोकतान्त्रिक, कम्युनिस्ट तथा देशभक्त शक्ति, प्रहरी र सेनासँग विशेष आग्रह गरिएको छ । शिवगढी अञ्चलपुर लगायत देशका विभिन्न स्थानमा ‘कथित’ अप्रेसन चलाएको र त्यसक्रममा अञ्चलपुरका स्थानीय युवा दुर्गाबहादुर रोकालाई समातेर ट्वाइलेटमा लगेर गोली हानेर घाइते बनाएको समेत महासचिव विप्लवले वक्तव्यमा स्पष्ट उल्लेख गरेका छन् ।

अरुण ३ जलविद्युत आयोजना, नीजि क्षेत्रको मोवाई सेवा प्रदायिक कम्पनी एनसेल र विदेशमा म्यानपावर सप्लाई गर्दै आइरहेको कम्पनीमाथिको भएको आक्रमणको जिम्मा समेत वक्तव्यमार्फत जिम्मा लिइएको छ ।

‘अरुण ३, एनसे र मेनपावर सप्लाई कम्पनी माथिको कारवाही हामीले गरेको हो’ जारी वक्तव्यमा भनिएको छ । करिब एक महिना अगाडि संखुवासभाको अरुण ३, फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय र फागुन २४ गते बसुन्धरास्थित नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराइएको थियो ।

‘केपी–बादल कम्पनीले’ अरुण ३ मा राष्ट्रघाती सम्झौता गरेर अर्बौं रुपैयाँ कमिसन खाएको, एनसेलले राज्उलाई अर्बौं रुपैयाँ लाभकर छलेको र हजारौं युवा तथा दिदीबहिनीहरुलाई विदेशी बजारमा आलू बेचेसरह बिक्री गर्दै आइरहेको आरोप वक्तव्यमा लगाइएको छ ।

नेकपामाथि प्रतिबन्ध लगाएर केपी–बादलहरुले आफ्नो भ्रष्ट र अपराधिक अनुहार छोप्ने कोशिस गरिरहेको भन्दै ने.क.पा.ले उनीहरुले जसरी विदेशी केन्द्र र पूँजीवादी दलालको सहयोगमा नभई आफ्नै बलबुताबाट जनता र राष्ट्रको भविष्यको लागि लड्दै आएको कुरा महासचिव विप्लवले स्पष्ट पारेका छन् ।

साथै नेकपा निरन्तर देश र जनताको पक्षमा लडिरहेको र राष्ट्रिय स्वाधीनता र समृद्धिको लागि सच्चा पार्टी बनेर नेतृत्व गरिरहेको भन्दै चन्दा उठाउनु नैसर्गिक अधिकार भएको कुरा पनि उनले प्रष्ट पारेका छन् ।

बिज्ञप्ति हेर्नुहोस

३० फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको