विप्लव नेकपाको बन्दले जनजीवन प्रभावित, देशभर कहाँ के भयो ?


फागुन ३०, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दले राजधानीसहित देशभरको जनजीवन प्रभावित भएको छ ।

राजधानीमा यातायात ठप्प रहेको छ भने  शैक्षिक सस्था, बजार, उद्योग तथा कलकारखाना पनि बन्द भएका छन् । बन्दका कारण लामो तथा छोटो दुरीका यातायातको साधनहरु न्यून मात्रामा पनि चलेको छैनन् ।

विप्लव समूहको बन्दलाई निस्तेज पार्न सरकारले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ । राजधानीका मुख्य–मुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् । पूल, भवन लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो छ ।

आफ्नो पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरिनुपर्ने, देशव्यापी धरपकड रोकिनुपर्ने लगायतका माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो ।

पछिल्लो पटक सरकारले विप्लव समूहलाई प्रतिबन्धनै लगाएपछि सो पार्टीले पहिलो पटक नेपाल बन्दको आह्वान गरेको हो ।

यसैबिच नेपाल बन्दको दिन ठाउँठाउँमा गाडी तोडफोड र आगजनीका खबरहरु आएका छन् ।

कहाँ के भयो ?

दाङ र प्युठानमा संकास्पद बस्तु फेला

यसैगरि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ विपि चोक नजिकै एक कपडा पसल बाहिर राखेको संकास्पद बस्तु फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय प्रमुख प्रेम शाही को टोली संकास्पद बस्तु भएको स्थानमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले बोत्तललाई कागजले बेरिएको अवस्थामा संकास्पद बस्तु रहेको बताए ।

उता प्युठानको स्वर्गद्वारी नगरपालिका अगाडिको बाटोमा संकास्पद बस्तु फेला परेको छ । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव परेको छ ।

मकवानपुरमा ट्रकमाथि आगजनी

मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ ।

अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

मास्क लगाएको एक समूहले गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको ट्रकका चालकले बताए ।

ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ ।

पोखरामा शंकास्पद वस्तु फेला पर्‍याे

पोखराको सभागृहचोकमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सभागृहचोकमा रहेको ट्राफिक बिटमा शंकास्पद बस्तु भेटिएको हो ।

बिहान संकास्पद वस्तुदेखिएपछि तत्कालै सेनाको बम डिस्पोजल टोली सभागृहचोक पुगेर डिस्पोज गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । शंकास्पद वस्तुमा बम बनाउन प्रयोग गरिने प्लाष्टिकको बट्टा र तारहरु भेटिएको डिस्पोजल टोलीले जनाएको छ ।

पोखरा महानगरपालिका अन्तर्रगत रहेको भन्डारढिकमा पनि शंकास्पद वस्तु भेटिएको छ । सो स्थानमा संकास्पद वस्तु भेटिएपछि अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको प्रयास गरिरहेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको दिन पोखराका दुई स्थानमा शंकास्पद वस्तु भेटिएका हुन् । सर्वसाधारलाई त्रसित पारेर नेपाल बन्द सफत पार्न शंकास्पद वस्तु राखिएको हुन सक्ने प्रहरीले जनाएकोछ ।

कैलालीमा यात्रुवहाक वसमाथि आगजनी

कैलालीको बडैपुरम यात्रुवहाक वसमाथि आगजनी गरिएको छ ।

आज नेपाल बन्द आव्हान गरेको विप्लव समुहले विवाहको गाडीमा आगजनी गरेको हो । प्रहरीले सुरक्षामा गाडी सञ्चालन गरिरहेकोमा विवाहको गाडीलाई केही नहुने भन्दै छोडिएकोमा विप्लव समुहले आगजनी गरेको हो ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमो आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।

बुटवलमा मुख्य राजमार्गमै राखिएको बम सेनाले डिस्पोज गर्‍यो

बुटवलमा मुख्य राजमार्गमै राखिएको बम सेनाको टोलीले डिस्पोज गरेको छ ।

बुटवल कालिकानगर कालिकाचोकमा डिभाईडरमा कालो टेपले बेरेर राखेको बस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।

सेनाको टोलीले त्यो बस्तु बम नै रहेको बतायो र डिस्पोज गरेको हो । नेपाली सेनाको २२ नम्बर बाहिनीको टोलीले बम डिस्पोज गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दमा तर्साउनका लागि बम राखिएको हुनसक्ने ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले बताए । बन्दका कारण बुटवल र आसपासको क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

पूर्वपश्चिम राजमार्गमा दुई वटा ट्रकमा आगजनी

पूर्वपश्चिम राजमार्गमा दुई वटा ट्रकमा आगजनी भएको छ ।

बुधबार साँझ पश्चिम नवलपरासीको बासाबसहीमा गएराति ८÷१० जनाको अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ ।

काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ।

आगलागीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ। बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी विप्लव समूहले गरेको आशंका प्रहरीको छ।

राजमार्गमा नक्कली बम

पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएका छन् । शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाइएको थियो ।

बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र व्याट्री रहेको सुरक्षा निकायले जनाएको छ । अरुणखोला बाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बाल्टीमा जुटको बोराले बेरेर माटो र तार राखेर बनाएको शंकास्पद बस्तु विहान ८ बजे हटाएको हो ।

बिहीबार राति १२ बजेदेखि अस्तव्यस्त राजमार्गमा सवारी साधन दुईतर्फी सुचारु भएका छन्। विप्लव समूहको बन्को प्रभाव पूर्वी र पश्चिम नवलपरासीमा पनि परेको छ ।

गोरखा बजारमा बम

गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा मा शक्तिशाली प्रेरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलले दिएको जानकारी अनुसार बिहीबार बिहान १२ किलोमा फेला परेको बम सामान्य भएको भन्दै प्रहरीले जंगलमा फालिदिएको छ ।

तर गोरखा बजार क्षेत्रमा फेला परेको बम मानव बस्तीमा भएको हुनाले नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर निष्कृय पारेको हो । मुख्य सडकसँगै राखिएको उक्त बमका कारण वरपर रहेका वस्तीका सर्वसाधारण त्रसित भएका छन् ।

बाजुराका दुई ठाउँमा श‌ंकास्पद बस्तु

बाजुरा जिल्लाको २ स्थानमा शंकास्पद वस्तु फेला परेको छ। साफे मार्तडी सडकखण्ड अन्तरगत बुढीगंगा नगरपालिका १० मा पर्ने डाब बजारमा र बल्देमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। नेकपा विप्लवले आज नेपाल बन्दको घोषणा गरेको छ।

बन्दमा त्रास देखाउनका लागि उक्त वस्तु सडकमा राखेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धप सिंह भाटले बताए।

अदालत अगाडि शंकास्पद वस्तु फेला, बम भएको आशंका

रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेको छ । अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

उक्त वस्तु बम भएको स्थानीयले आशंका गरेका छन् । तर यसको पुष्टि भइनसकेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

३० फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको