रोल्पा र सल्यानको सिमाना गुराँसेमा अझै भेटिन्छन ‘जनयुद्दका गोलीहरु’


फागुन २, सल्यान । रोल्पाको सिमाना झ्याम संग जोडिएको सल्यानको गुराँसेमा सशस्त्र द्वन्द्वको बेला प्रयोग हुने गोलीहरु अझै भेटिने गरेका छन् । छत्रेश्वरी गाउँपालिका २ मा पर्ने गुराँसे तत्कालिन माओवादीले सुरु गरेको दश वर्षे जनयुद्वको चपेटामा परेको थियो । २०५९ जेठ २८ गते सेना र विद्रोही माओवादीबीच लगतार २४ घण्टा भिडन्त भएको थियो ।

भिडन्तमा परि घटनास्थलमै ११ जनाको मृत्यु भएको थियो भने थुप्रै मान्छे घाइते भएका थिए । गुराँसेसहित आसपासका क्षेत्रमा ७० घरमा आगजनी भएको थियो ।

तस्बिर: रोल्पाको सिमानामा पर्ने सल्यानको गुराँसे बस्ति

त्यहि युद्वमा प्रयोग भएका बन्दुकका गोलीहरु अहिले भेटिने गरेका छन् । धेरै जसो गोलीहरु खेतबारी जोत्दाखेरी भेटिने गरेको स्थानीय हिमराज बस्नेतले जानकारी दिए ।

द्वन्द्वका बेला सरकारी सेना पाँच दिनसम्म गाउँमा बङ्कर बनाएर बसेको स्थानीय ढाँकादेवी योगीले बताइन् । खच्चडमा ल्याइएका हतियार, गोलीगठ्ठा, बम गाउँकै खेतबरीमा राखेको उनी बताउछिन् ।

उतिबेला लुकाइएका लडाइँमा प्रयोग हुने युद्द सामग्रीहरु अहिले देखिने गरेको योगी बताउँछिन् । उनि भन्छीन्– “सेनाले घरभित्रै एलएमजी फिट गरेर राख्यो, आँगनभरि बन्दुक, गोलीगठ्ठा फिजायो, अहिले पनि ती दिन सम्झिँदा आङै सिरिङ्ग हुन्छ ।”

गोली देख्दा बल्झिन्छन् पीडाहरु 

गुराँसेका पोखरराज कुँवर ‘सहिद’ परिवारका सदस्य हुन् । उनले केही दिनअघि घर नजिकै बारी खनजोत गर्दा बन्दुकका ६ वटा गोलीका खोका भेटाए । यसले उनको मन नराम्ररी झस्कियो । पुरानै पीडाले मन फेरि पोल्न थाल्यो ।

सशस्त्र द्वन्द्व सकिएको एक दशक बिते पनि घर वरिपरि द्वन्द्वका अवशेष भेटिँदा उनीजस्तै द्वन्द्वपीडितलाई झन् पीडा हुने गरेको छ । अघिल्लो वर्ष पनि उनले बारीमा गोलीका खोका, गोली, सकेट बम भेटाएका थिए ।

‘तत्कालीन विद्रोही पक्ष र सेनाबीच भिडन्त हुँदा ढुंगाबाट उछिट्टिएर आएको गोलीले बुवाको मृत्यु भयो,’ उनले भने, ‘अहिले पनि बारीमा बन्दुकका गोली, खोका भेटिँदा त्यही दिनको झल्को आउँछ ।’

तस्बिर: घाइते परिवार

बारीमा भेटिने गोली त सामान्य भए । कतिपय व्यक्तिका शरीरमा अहिले पनि गोली र छर्रा छन् । यसले उनीहरूलाई हरपल पीडा दिइरहन्छ ।

यही स्थानमा भिडन्तका क्रममा धेरै घर क्षति भए, दर्जन जतिले ज्यान गुमाए । त्यही भिडन्तबाट बच्न स्थानीय कमला कुँवरले तीन वर्षीया छोरीलाई च्यापेर भाग्न खोजिन् । तर, बन्दुकको छर्रा टाउकोमा लाग्यो । छोरीको खुट्टामा पनि छर्रा लाग्यो ।

उपचारपछि छोरीको खुट्टा सञ्चो भए पनि उनको भने टाउकोमा अझै छ । ‘छर्राले टाउकोमा पीडा दिइरहेको छ, झन् त्यसमाथि बेलाबेला खेतबारीमा गोली भेटिँदा झन् पीडा थपिन्छ,’ उनले भनिन्, ‘हाम्रो पीडा कहिले निको हुने हो थाहा छैन ।’

अहिले पनि कतै ठूलो आवाजमा केही पडकियो भने बम हो कि भन्ने त्रासले सताउने गरेको अर्का स्थानीय ललिता कुँवरले बताइन् । भिडन्तका बेला ज्यान बचाउन जंगलतिर गएपनि फर्किंदा घर ध्वस्त भएको घटनाले अहिले पनि पिरोल्ने गरेको उनको भनाइ छ ।

गुराँसेवासीलाई शान्ति प्रक्रियापछि भिडन्तको घटना होला भन्ने त लाग्दैन । तर खेतबारीमा काम गर्न भने डर लाग्छ । ‘बारीमा फलफूल, तरकारी, अन्न लगाएका छौं, बारम्बार खन्न गइरहनुपर्छ,’ उनले भनिन्, ‘कतै बम पड्किनेहो कि भनेर डर लागिरहन्छ ।’

२०५९ जेठ २९ गते भएको भिडन्तमा काठको ढोकाछेडेर आएको बन्दुकको गोली लागेरसँगै बसेका ससुराको मृत्यु भएको उनले बताइन् ।

युद्द्पछी नेताले शहरमा घर बनाए, हामीले घर जग्गा गुमायौ …!

युद्वले जनता दोहोरो मारमा परे । थुप्रै मान्छे गाउँबाट विस्थापित भए । अहिले गुराँसेलाई सरकारले नमुना बस्ती घोषणा गरी विकास निर्माण थालेको छ । तर, बेलाबेला भेटिने द्वन्द्वका अवशेषले स्थानीयलाई पीडा दिइरहन्छ ।

नेताहरुले शहरमा ठुला महल बनाएको भन्दै स्थानीय लोकमान केसी आक्रोश छन् । उनले भने– ‘युद्ध लडेका नेताले सहरमा ठूल्ठूला महल बनाइसके, हामी भने अहिले पनि बन्दुकका गोली र खोकामा लुटिपुटी खेल्न बाध्य छौं ।’

उनि भन्छन्– “आफुलाई न सरकारले हेर्याे, न त उतिबेलाको विद्रोही माओवादीले नै हेर्याे ।’ युद्वमै लागेका कारण आफुले आफ्नो घरजग्गा जनताको नाममा दिएको वलीले जानकारी दिए । युद्वमै लागेका कारण उमेरले ४० नाघेपनि आफुले बिहे नगरेको उनले बताए ।

२०७५ फाल्गुन २,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको