नेकपाका ३ मजदुर नेतालाई रिहा गर्न सर्वोच्च अदालतको आदेश


पुस ३०, काठमाडौं । तीन मजदुर नेतालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले सोमबार सरकारलाई आदेश दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य अमर झाँक्री नेतृत्वको अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघको केन्द्रीय सदस्य समेत रहेका अखिल क्रान्तिकारी हाईड्रो तथा खानी मजदुर संघका केन्दीय अध्यक्ष लोकेन्द्रराज थापा, संघकै उपाध्यक्ष विकास थापा र महासचिव केशबबहादुर बुढाको रिहाईको मागसहित सर्वोच्चमा दायर रिटमाथि आजको बहसपछि न्यायाधीश मिरा खड्का र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले थुनाबाट मुक्त गर्न आदेश दिएको हो ।

पक्राउ गरी थुनामा राख्नुपर्ने आधार र कारण नदेखिएको भन्दै रिहा गर्न आदेश भएको हो । दस दिनदेखि तीनै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको टेकु स्थित हिरासत हुँदै हाल सिंहदरबार प्रहरी वृत्त हिरासत राख्दै आएको थियो ।

रिट निवेदनमाथिको बहसमा निवेदकको पक्षबाट अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना र राजु अधिकारीले गरेका थिए । रिटमा गृह मन्त्रालय, ललितपुर प्रहरी परिसर, प्रहरी प्रधान कार्यालय, सिंहदरबार प्रहरी वृत्त, काठमाडौं जिल्ला प्रशासन कार्यालय लगायतलाई विपक्षी बनाइएको थियो ।

उनीहरुलाई बिनाकारण गिरफ्तार गरी गैरन्यायिक रुपमा प्रहरीले हिरासतमा राखेको भन्दै तत्काल रिहाईको मागसहित कमला स्याङतान र नवराज विकास थापाले रिहाईको माग गर्दै पुस २४ गते रिट निवेदन दार्ता गरेका थिए ।

उनीहरुलाई यही पुस १९ गते साँझ ६ बजेतिर करिब आधा घण्टाको अन्तरमा ललितपुरको भैंसेपाटी र नख्खु चोकबाट प्राइभेट गाडीमा आएका सादा पोशाकका प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।

‘चन्दा’ उठाएको आरोपमा गिरफ्तार गरिएपनि त्यससम्बन्धी आधारहरु फेला पर्न नसकेपछि प्रहरीमाथि ‘अभद्र’ व्यवहार गरेको अभियोगमा सार्वजनिक मुद्दा चलाइएको बन्दीहरुले बताएका छन् ।

३० पुष २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको