हिमपातले सकस, परीक्षामा लेख्न नसकेर रोए विद्यार्थी


मंसिर २७, हुम्ला । हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सदरमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन्।

सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा आजदेखि एकसाथ सञ्चालन भएको वार्षिक परीक्षामा परीक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठाभित्र चिसोले थरथर काम्दै परीक्षा दिनुपर्ने बाध्यता रह्यो।

आज पहिलो दिन सञ्चालन भएको वार्षिक परीक्षामा कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीले वार्षिक परीक्षा आगोको सहायताले परीक्षा दिएका छन्।

कक्षा १ मा २५ विद्यार्थी रहेका छन् भने कक्षा २ मा १२ विद्यार्थीले आगोको नजिक बसेर परीक्षा दिएका छन्। बालमन्दिर माविका शिक्षिका पार्वती रावतका अनुसार हिमपातमा सहभागी विद्यार्थीका लागि अन्य वैकल्पिक उपाय नहुँदा आगो बालेर पालैपालो विद्यार्थीलाई आगो तपाउँदै लेख्न लगाउने गरेको बताइन्।

स्थानीय तहस्तरीय भएका कारणले सिमकोट गाउँपालिकाले वडा नं १ देखि ८ सम्म रहेका सबै विद्यालयमा आजदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरे अनुसार आजदेखि परीक्षा एकसाथ सञ्चालन गरिएको शिक्षिका रावतले बताइन्।

लेख्न नसकेर कक्षा १ र २ का विद्यार्थी रुन थाले पनि कक्षाकोठमाभित्रै आगो बालेर समूह/समूहमा राखी आगो तपाउँदै लेख्न लगाउने गरेको शिक्षिका रावतले बताइन्।

आजदेखि सञ्चालन भएको वार्षिक परीक्षामा हिमपातले लेख्न कठिनाइ भएको बालमन्दिर माविका विद्यार्थी ममता भण्डारीले बताइन्।

यस्तै, सदरमुकाम सिमकोटमा रहेका मानसरोवर माध्यमिक विद्यालय, बालमन्दिर मावि, भीमसेन आधारभूत विद्यालय, कालाशिल्ता प्राविमा परीक्षा दिने विद्यार्थीले चिसोले गर्दा वार्षिक परीक्षा दिन समस्या बनाएको मानसरोवर माविका प्रधानध्यापक अमरबहादुर शाहीले बताए।

कक्षा ९ को वार्षिक परीक्षा दिइरहेका सन्दीप जेठाराका अनुसार बिहीबारदेखि हिमपात हुँदा आजदेखि सञ्चालन भएको वार्षिक परीक्षामा चिसोले लेख्न कठिनाइ र लेख्दालेख्दै हातका औंला बाउडिन्छ।

हिमपातले चिसो बढ्ने भएका कारण आफूहरूले हातेपञ्जा, बाक्लो कपडा लगाएर परीक्षा दिन कक्षाकोठामा गए पनि लेख्न नै समस्या बनाएको उनले जानकारी दिए।

यस्तै, वडा नं ८ मा रहेका सबै विद्यालयले विद्यालय र विद्यार्थी टाढा भएका कारण आवतजावतमा समस्या देखिएकाले वार्षिक परीक्षा स्थगन गरेको छ।

बिहीबारदेखि निरन्तर हिमपात हुम्ला घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थी परीक्षामा सहभागी भएको वडा ३ मा रहेको रलिङ माविका शिक्षक सूर्यमणि बोहराले बताए।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी समस्या बनाएको छ।

चिसोले गर्दा उत्तरी नाम्खा गाउँपालिकाका तिल, जाङ्ग, हल्जी, यारी, मुचु, गाउँका स्थानीयलाई घर बाहिर निस्केर काम गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

२७ मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको