माइतीघर–तीनकुनेमा साइकल लेन निर्माण गरिँदै


मङ्सिर २७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने भएको छ ।

यो खबर शान्ति लामाले गोरखापत्र दैनिकमा लेखेकी छन् । हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागेको हो ।

साइकल लेनको सञ्चालनसम्बन्धी गुरुयोजना बनाई माइतीघर–तीनकुने साढे दुई किलोमिटर सडकमा साइकल लेन सञ्चालनको सुरुवात गर्न लागिएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

“कम लागत लाग्ने र धेरैले प्रयोग गर्न सकिने हुनाले यहाँबाट साइकल लेन सञ्चालनको सुरुवात गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “सहरी योजनाको सिद्धान्तअनुरूप साइकल लेन र पैदलमार्ग व्यवस्थित गर्नेछौँ । ” अहिले भएको साइकल लेनको उचित प्रयोगको वातावरण सिर्जना गरी भविष्यमा साइकल लेनको थप सञ्जाल विकास गर्ने गुरुयोजना तयार पारिएको उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

विद्यमान सडकमा साइकल लेनको डिजाइन र निर्माण नै त्रुटिपूर्ण हुँदा साइकल यात्रीलाई अवरोध मात्र सिर्जना भएको छैन, माइतीघर–तीनकुने सडकमा साइकल लेन छ भन्ने पनि सर्वसाधारणलाई थाहा छैन । मुख्य सडकको सतहभन्दा अलि माथि उठेको ट्याक्टाइल पेभिङसहितको बाटोमा अहिले पैदलयात्रु हिँड्छन् । त्यही नै यो सडकको साइकल लेन हो ।

यसको निर्माणको त्रुटि र प्रवद्र्धनको अभावका कारण साइकल लेनको अस्तित्वबारे कसैलाई थाहा नभएको नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नमान श्रेष्ठ भन्नुहुन्छ । यही त्रुटिपूर्ण साइकल लेनलाई पनि सच्याएर साइकलमैत्री बनाउन सकिने भएकोले यसको सञ्चालनका लागि प्रयास गरिएको उहाँको भनाइ छ ।

यो साइकल लेनको प्राविधिक खाका नेपाल साइकल सोसाइटीले गरेको छ । साइकल लेनसँगैको पैदलमार्गको व्यवस्थापन र सौन्दर्यीकरणको खाका काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सले तयार गरेको छ ।

माइतीघर–तीनकुने सडकको दुईतर्फ गरी पाँच किलोमिटर साइकल लेन सुधार र व्यवस्थान चाँडै सुरु गरिने महानगरले जनाएको छ । उक्त साइकल लेन निर्माणका लागि तीन करोड रुपियाँ लागत अनुमान गुरुयोजनाले गरेको छ ।

अवरोध नै अवरोध

सहरी योजना आयोगका लागि साइकल लेनको गुरुयोजना निर्माणपूर्व नेपाल साइकल सोसाइटीले माइतीघर–तीनकुने सडकखण्डमा रहेको साइकल लेनको विद्यमान अवस्था अध्ययन गरेको थियो । अध्ययनमा साइकल लेन प्राविधिक रूपले साइकलमैत्री नभएको पाइएको नेपाल साइकल सोसाइटीका आर्किटेक्ट सोमराज रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भएको साइकल लेन पैदल यात्रीले प्रयोग गरिरहेका छन् । पैदलयात्रीका लागि छुट्याइएको बाटोमा भने गाडी तथा मोटरसाइकल पार्किङ गरिएको छ । साइकल लेनमा विभिन्न प्रयोजनका खम्बा, बिजुलीका पोल, प्रदूषण मापन गर्ने मेसिन, खाल्डाखुल्डी जस्ता अवरोध नै अवरोध छन्, जसका कारण साइकलयात्रीले यो लेन प्रयोग गर्न सक्ने अवस्था छैन । त्यस्तै साइकल लेनको निरन्तरता पनि विभिन्न ठाउँमा टुटेको छ । बुद्धनगरमा बनेको आर्क ब्रिज भएको स्थानमा साइकल लेन छैन । सहायक सडक, चोक र चौबाटाहरूमा पनि साइकल लेनको निरन्तरता टुटेको देखिन्छ ।

त्यस्तै पैदलयात्री र बसस्ट्याण्डहरूले साइकललाई अवरोध गरिरहेको देखिन्छ । अब साइकल लेन बनाउँदा यी सबै संरचनागत त्रुटि सच्याएर निर्माण गरिनुपर्ने आर्किटेक्ट रानाको सुझाव छ ।
थाहा छैन साइकल लेन

नेपाल साइकल सोसाइटी, काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टस र जर्मन अभियन्ता एरिक हकम्यानले गुरुयोजना निर्माणका लागि गरेको अध्ययनमा माइतीघर–तीनकुने सडक खण्डमा प्रतिघण्टा ४६ वटा साइकल गुड्छन् । यो सडकखण्डमा गुड्ने ९४ प्रतिशत साइकलयात्री नियमित साइकल यात्रा गर्छन् । तर ७८ प्रतिशत साइकलयात्रीलाई साइकल लेनबारे थाहा नभएको अध्ययनमा उल्लेख छ । त्यसकारण ७६ प्रतिशत साइकल यात्री मुख्य लेनमै आफ्नो साइकल गुडाउँछन् । अध्ययनले साइकल लेनलाई अवरोधरहित, देखिने खालको बनाउन सुझाव दिएका छन् ।

प्रमुखको प्रतिबद्धताको खोजी

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय तह चुनावमा काठमाडौँलाई साइकल सिटी बनाउने कार्यसूची अगाडि सार्नुभएको थियो । त्यही बेला नै उहाँले हाल तीनकुने, माइतीघर मण्डल, एयरपोर्ट, सिनामङ्गलमा बनेका साइकल लेनको कमी कमजोरी सुधार गरेर पूर्णरूपमा व्यवस्थित साइकल लेन बनाउने घोषणा गर्नुभएको थियो ।

साइकल सिटीको अवधारणा पूरा गर्न चुनावी घोषणापत्रमा उल्लेखित साइकल बोर्ड गठनको विषयमा अन्योलमा छ ।
युरोपको एम्स्टरडाम र कोपेनहेगन जस्तै काठमाडौँलाई एसियाको साइकल सिटीको रूपमा पहिचान गराउने घोषणा चुनावताका मेयर शाक्यले गर्नुभएको थियो ।

भित्री तथा बाहिरी सडकहरूलाई साइकल लेनले जोड्नेदेखि टोलटोलमा साइकल स्ट्याण्ड र साइकल क्लबहरू निर्माण गर्नेजस्ता
एजेन्डा अघि सारेर निर्वाचित भए पनि झण्डै आधा कार्यकाल सकिँदासम्म पनि साइकल प्रवद्र्धनका क्षेत्रमा आशलाग्दो काम केही
भएको छैन ।

२७ मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको