स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी


असोज २६, काठमाडौं । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् ।

फाइल तस्बिर 

शनिबार अपराह्न ४: ४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी छन् । शनिबार राष्ट्रपति भण्डारीले नै समकक्षी सीलाई स्वागत गरेकी थिइन् ।

सीको विदाई समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत पनि उपस्थित थिए ।

स्वागतको बेलामा जस्तै विदाइको बेलामा पनि कलाकारहरुले साँस्कृतिक झाँकी प्रदर्शन गरे भने नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

विमानस्थल परिसरमा नेपाली विद्यार्थी तथा कलाकारहरुले नेपाल र चीनको झण्डा फहराउँदै सीसहितको चिनियाँ टोलीलाई विदाई गरेका थिए ।

शनिवार अपराह्न नेपाल आएका चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष प्रचण्ड, नेकपाका सचिवालय नेताहरुसँग भेटवार्ता गरेका थिए । सीले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका थिए ।

ओलीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार राति रात्रिभोजको आयोजना गरेकी थिइन् ।

शनिवार प्रधानमन्त्री केपी ओली र राष्ट्रपति सीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न विषयका समझदारीमा हस्ताक्षर एवं पत्र आदानप्रदान भएको छ । त्यसअघि चीन र नेपालका उच्च स्तरीय टोलीबीच छलफल भएको थियो ।

२६ आश्विन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको