जापानमा आँधीले १० को मृत्यु, १६ बेपत्ता


असोज २६, टोकियो । जापानमा शनिबार आएको हागिबिस आँधीका कारण १० जनाको मृत्यु भएकाे छ भने १६ जना बेपत्ता भएका छन्।

दशकौँपछि आएको उक्त शक्तिशाली आँधीले विभिन्न स्थानमा पहिरो गएको रोयटर्सले जनाएको छ। पानीको बहाव बढेसँगै नदी किनाराका घरहरु डुबानमा परेका छन्।

पाँच लाख सर्वसाधरण बिजुलीविना बस्न बाध्य भएको बताइएको छ। जापानी प्रधानमन्त्री शिन्जो अभीले बाढी पसेको क्षेत्रमा सुरक्षा तथा उद्धार गर्न डुङ्गा र हेलिकप्टर परिचालन गरेको जनाएका छन्।

टोकियो नजिकैको तामा नदीसँगै अन्य नदीहरुमा बहाव बढेको छ। पहिरो तथा बाढीबाट जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन जापानी सरकारले आग्रह गरेको छ।

शिजुओका, कानागावा, टोकियो, सैतामा, गुन्मा, यामानशी र नागानो प्रान्त लगायतका ठाउँहरूमा सतर्कता अपनाउन जापानी मौसम विभागले सूचना जारी गरेको छ।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो। हालैका वर्षहरुमा यो निकै शक्तिशाली आँधी हो। यो आँधी प्रतिघण्टा दुई सय १६ किलोमिटरभन्दा बढीको वेगमा थियो।

२६ आश्विन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको