दाङमा डेंगुबाट एकको मृत्यु, ४२ जना संक्रमित


भदौ २७, दाङ । दाङमा डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ भने ४२ जनामा संक्रमण फैलिएको पाइएको छ । जिल्लाको दंगीशरण गाउँपालिका १ ठाटी बस्ने २१ वर्षीया प्रतीक्षा बुढाको मुत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको भाद्र १० गते मृत्यु भएको हो । तुलसीपुरको राप्ती प्रादेशीक अस्पताल, राप्ती लाइफ केयर हस्पिटलमा जाँच गराउँदासमेत रोग पत्ता नलागेपछि बुढालाई भदौ ७ गते उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो । डेंगुको उच्च जोखिममा रहेको दाङमा अहिलेसम्म ४२ जना डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगु रोग फोकल पर्सन कमल चन्दले डेंगु संक्रमणका बिरामीको संख्या दिनानु दिन बढिरहेको बताए। हालसम्म १८ महिला र २४ पुरुषमा संक्रमण देखिएको उनले बताए । डेंगुका बिरामीहरूको घोराही र तुलसीपुरमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा उपचार भइरहेको छ ।

डेंगु रोगको लक्षण देखिएका केहि बिरामी उपचारपछि घर फर्किएको र उनीहरू अस्पतालको नियमित सम्पर्कमा रहेको समेत बताए । दाङ ५ वर्षदेखि नै डेंगुको उच्च जोखिममा रहेको जिल्ला हो ।

विगतका वर्षमा पनि जिल्ला जनस्वास्थ्यमार्फत सचेचनामूलक कार्यक्रम हुँदै आएको छ । डेंगुका कारण २०७२ सालमा दाङको गढवा गाउँपालिका गोबरडिहामा एक महिलाको मुत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

स्वास्थ्य कार्यालयकाअनुसार २०७३ सालमा ९ जना र २०७४ सालमा ८ जना डेंगु बिरामी फेला परेका थिए । डेंगु रोग नियन्त्रण र सचेतनाका लागि जिल्ला स्वास्थ्य कार्यालयमा आवश्यक बजेट नभएको कार्यालयले बताएको छ । बजेट नहुँदा नियन्त्रणजन्य गतिविधिमा सक्रिय हुने अवस्था नरहेको डेंगु रोग फोकल पर्सन चन्दले बताए ।

२७ भाद्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको