साउन २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।
अख्तियारको टोलीले मङ्गलवार महोत्तरी भँगाहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मो.रफिक आलम, सदस्य कारी साह र वडा सदस्यको छोरा मुकेश साहलाई पक्राउ गरेको हो ।
सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत एक लाख ६० हजार घूस लिएको आरोपमा वडाध्यक्ष आलमसहित तीनै जनालाई पक्राउ गरेको हो ।
वडाध्यक्ष आलमले सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत घुस मागेका थिए । उक्त काम गरे वापत घुस असुल गराउने जिम्मा वडासदस्य कारी साहले लिएका थिए ।
साहले घुस लिन आफ्नो छोरो मुकेशलाई पठाएका थिए । मुकेशले सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा जनकपुरको पिडारी चोकबाट पक्राउ गरेको हो ।
मुकेशकै सूचनाका आधारमा उनका बाबु वडासदस्य कारी साह र वडाध्यक्ष आलम भँगाहा नगरपालिका-२ सितापुरबाट पक्राउ परेका हुन्।
प्रतिक्रिया दिनुहोस