डोल्पामा बाढीले एकको मृत्यु, १० जना वेपत्ता


असार २८, डोल्पा । डोल्पामा बाढीले बगाएर एकजनाको मृत्यु भएको छ भने अन्य १० जना वेपत्ता भएका छन् ।

मुड्केचुला गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पर्ने कालिका क्षेत्रमा बाढीले बगाएर वडा नम्बर १ का ४३ वर्षीय धनराज बोहोराको मृत्यु भएको हो । मड्केचुलाका लँकबहादुर रोकायाका अनुसार कालिकाको काशिल खोलाको बाढीले यस्तो घटना भएको हो ।

खोलाछेउमा रहेका तीनवटा घर, ११ वटा पानीघट्ट र बिजुलीको हाइड्रोपावर समेत क्षतविक्षत पारेको छ । त्यसका साथै घर तथा घट्ट पिस्न बसेका मानिस पनि बाढीसँगै वेपत्ता भएको रोकायाले बताए ।

यस्तै बाटोमा हिँडिरहेका दुईजना बटुवालाई समेत बगाएको प्रत्यक्षदर्शी कालिकाका स्थानीय धनबहादुर सिंहले बताए । शनिबार दिउसो १ बजेपछि आएको बाढीले ठूलो जनधनको क्षति पुगेको स्थानीयहरु बताउँछन् । घटनास्थलमा प्रहरीको टोली पनि पुगेको छैन । मृतक बोहोराको शव स्थानीयले निकालेका छन् ।

सदरमुकामबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिसकिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

२०७६ असार २८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको