रियल मड्रिडले हाजार्ड अनुबन्धको घोषणा गर्ने मिति टुंगो लाग्यो


वैशाख ३०, एजेन्सी । स्पेनिस रियल मड्रिडले इंग्लिस क्लब चेल्सीका स्टार खेलाडी इडेन हाजार्डलाई भित्र्याउने अन्तिम तयारी गरेको छ । बेल्जियमको टोलीका कप्तानसमेत रहेका २८ वर्षीय हाजार्डलाई रियलले महत्त्वकांक्षी योजनासाथ यो समरमा सान्टियागो बेर्नाबेउमा उतार्दैछ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार रियल र चेल्सीबीच खेलाडी किनबेचका लागि अघिल्लै साता सम्झौता बनिसकेको छ । रियल अहिले हाजार्ड अनबुन्धको अफिसियल घोषणा गर्ने समय कुरिरहेको छ ।

रियल मड्रिड निकट मानिने स्पेनिस ‘मार्सा’का अनुसार रियलले युरोपा लिगको फाइनल खेलपछि हाजार्ड अनुबन्धको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

युरोपा लिगको फाइनल खेल मे २९ तारिखमा अजरबैजानको बाकु सहरमा हुँदैछ । फाइनल खेल चेल्सी र आर्सनलबीच हुनेछ । चेल्सीलाई यस प्रतियोगितामा प्रमुख उपाधि दाबेदार मानिएको छ ।

लामो समयदेखि चेल्सीबाट खेलिरहेका हाजार्डका लागि युरोपा लिगको यो खेल चेल्सीको नीलो जर्सीमा अन्तिम खेल हुनेछ । यसअघि पनि उनले युरोपा लिग चेल्सीका लागि आफ्नो खेल अन्तिम हुने भन्दै टिमलाई उपाधि जिताउन सबथोक दिने बताइसकेका छन् ।

२८ वर्षीय हाजर्डले जारी सिजन प्रिमियर लिगमा १६ गोल गर्दै १५ गोलका लागि असिस्ट गरेका छन् । उनी प्रिमियर लिगका सर्वाधिक असिस्टकर्ता खेलाडी हुन् ।

३० बैशाख २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको