मेस्सीले बालोन डि‘ओर जित्न सक्छन वा सक्दैन, यस्ता छन् कारणहरु


वैशाख ३०, एजेन्सी । सन् २०१९ को विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर कसले जित्ला ? अहिलेबाटै यसको अड्कलबाजी हुन थालिसकेको छ । सिजन सकिँदै गर्दा धेरैको ध्यान यसपटक यो अवार्डको हकदार को बन्ला भन्नेमा देखिन्छ ।

जारी सिजन मूल रूपमा केही खेलाडी यसको दौडमा छन् । हालसम्मको दृश्यमा स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीलाई प्रमुख दाबेदार मानिएको छ । त्यसैगरी, इंग्लिस टिम लिभरपुलका मोहमद सालाह, साडियो माने र भर्जिल भान डाइक पनि यो अवार्डको दौडमा छन् ।

यसपटक इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डो, फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन नेइमारलगायत ठूला खेलाडीको चर्चा कम छ । तर, ‘स्पोर्ट लाइट’ भन्दा बाहिरका केही खेलाडी यसपटक बालोन डि‘ओरको दौडमा देखिएका छन्, जसरी गत वर्ष रियल मड्रिडका क्रोएसियन खेलाडी लुका मोड्रिक देखिएका थिए । अन्ततः उनैले अवार्ड पनि जिते ।

कुनै पनि खेलाडीको व्यक्तिगत प्रदर्शन मापन गर्ने युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेल बाँकी नै रहेकाले यसपटक बालोन डि‘ओरको दौडको मार्ग स्पष्ट भइसकेको छैन । यसको फाइनलपछि स्पष्ट रूपमा यस अवार्डका दाबेदार अनुहार अघि देखिनेछन् ।

सो प्रतियोगिताको फाइनलअघिसम्म बार्सिलोनाका मेस्सी सबैभन्दा अगाडि देखिन्छन् । तर, मेस्सीको टिम बार्सिलोना च्याम्पियन्स लिगबाट नमिठो हार भोग्दै बाहिरिँदा मेस्सीका लागि छैटौं बालोन डि‘ओर जित्ने सबैभन्दा बलियो आधार भत्कियो । यदि बार्सिलोनाले सो उपाधि जितेको भए मेस्सीले छैटौंपटक बालोन डि‘ओर जित्ने निश्चित थियो ।

तर, बार्सिलोना सेमिफाइनलमा लिभरपुलसँग ४–० ले पराजित हुँदै प्रतियोगिताबाट आउट भएपछि धेरैले बालोन डि‘ओर मेस्सीबाट टाढा पुगेको विश्लेषण गरिरहेका छन् ।

हालको अवस्था हेर्दा यदि च्याम्पियन्स लिग लिभरपुलले जितेको खण्डमा यसपटक बालोन डि‘ओर इंग्लिस टिमका खेलाडीले जित्ने सम्भावना बलियो रहनेछ । जसमा लिभरपुलका केही खेलाडी प्रमुख दाबेदार देखिन्छन् । हालसम्मको अवस्थामा भर्जिल भान डाइक, साडियो माने र मोहमद सालाह पनि सम्भावित दाबेदारका रूपमा देखिन्छन् । यदि लिभरपुलले टोटनह्यामलाई हराएर च्याम्पियन्स लिग जितेको खण्डमा यी खेलाडीले टिमलाई दिएको योगदानका आधारमा उनीहरू प्रमुख दाबेदार बन्ने पक्का छ ।

मेस्सीको व्यक्तिगत प्रदर्शन सबैभन्दा माथि !

जारी सिजन मेस्सीको व्यक्तिगत प्रदर्शन उच्च रहेको छ । उनी युरोपका टप–५ लिगमा सर्वाधिक गोकलर्ता खेलाडी हुन् । ला लिगामा उनले ३४ गोल गर्दै युरोपियन गोल्डेन बुट जित्दैछन् ।

उनी च्याम्पियन्स लिगका पनि सर्वाधिक गोलकर्ता हुन् । बार्सिलोना सेमिफाइनलबाटै आउट भए पनि मेस्सीले १२ गोल गरेका छन् । अब उनलाई पछ्याउने कोही छैन । उनले यो सिजन हालसम्म ४८ गोल गर्दै १७ गोकला लागि असिस्ट गरिसकेका छन् ।

त्यसैगरी मेस्सी यस सिजन युरोपमा सबैभन्दा बढी असिस्ट गर्ने खेलाडी हुन् । उनले ला लिगामा १३ गोलका लागि असिस्ट गरेका छन् भने च्याम्पियन्स लिगमा ३ गोलका लागि असिस्ट गरेका छन् । त्यसैगरी, कोपा डेल रे फुटबलमा पनि उनले २ गोलका लागि असिस्ट गरेका छन् ।

मेस्सी यो सिजन सर्वाधिक धेरै फ्रि किकबाट गोल गर्ने खेलाडी हुन् । उनले सबैखाले प्रतियोगिता गरेर यो सिजन ८ गोल सोझै फ्रि किकबाट गोल गरेका छन् ।

यसै वर्ष मेस्सीले बार्सिलोनाका लागि ६०० गोलको तथ्यांक पनि पूरा गरे । करिअरको ५०औं ह्याट्रिक पनि उनले यसै वर्ष पूरा गरे । यो सिजन युरोपमा सर्वाधिक धेरै ह्याट्रिक गर्ने खेलाडी पनि मेस्सी नै हुन् ।

२०१९ मा मेस्सीले बालोन डिओर के–कसरी जित्न सक्छन् ? वा जित्न नसक्ने कारण के–के छन् ? यहाँ यसबारे चर्चा गरिएको छ ।

बार्सिलोनाका ३१ वर्षीय मेस्सी अब एक महिनापछि हुने कोपा अमेरिका फुटबल खेल्न अर्जेन्टिनी टोलीमा फर्किंदैछन् । मेस्सीलाई २०१९ को बालोन डि‘ओर जिताउने–नजिताउनेमध्येको सबैभन्दा प्रमुख आधार अब यही प्रतियोगिता हो ।

राष्ट्रिय टिमलाई उपाधि जिताउन नसकेको भन्दै चर्को आरोप खेप्दै आइरहेका मेस्सी सन् २०१८ को रसिया विश्वकपपछि केही समयअघि मात्रै राष्ट्रिय टिममा फर्किएका थिए । तर, उनी ९ महिनापछि टिममा फर्किएको खेलमा अर्जेन्टिनाले भेनेज्वेलासँग लज्जास्पद हार भोग्यो । सो खेलमा मेस्सीको प्रदर्शन खराब रह्यो । मेस्सी घाइते भएर दोस्रो खेल खेलेका थिएनन् ।

अब एक महिनापछि अर्जेन्टिनाले कोपा अमेरिका खेल्दा मेस्सीको प्रदर्शन कस्तो हुन्छ ? उनको टिमले उपाधि जित्न सक्छ कि सक्दैन ? यो कुराले मेस्सीले बालोन डि‘ओर जित्ने–नजित्ने कुरालाई अधिकतम् निर्भर गर्नेछ ।

यदि सो प्रतियोगितामा मेस्सीको प्रदर्शन उच्च रह्यो र अर्जेन्टिनाले उपाधि जितेको खण्डमा बार्सिलोना च्याम्पियन्स लिगबाट आउट भए पनि मेस्सी बालोन डि‘ओर अवार्डको प्रमुख दाबेदार बन्नेमा दुईमत रहँदैन ।

यदि अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रको यो सबैभन्दा ठूलो उपाधि जित्न नसके मेस्सीबाट बालोन डि‘ओर धरै टाढा जानेछ ।

च्याम्पियन्स लिगको असफलताले धक्का !

यो सिजन युरोपियन च्याम्पियन्स लिगमा मेस्सीले व्यक्तिगत रूपमा बार्सिलोनाका लागि शानदार प्रदर्शन गरे । हालसम्मको अवस्थामा उनी सर्वाधिक सफलत र राम्रो तथ्यांक भएका खेलाडी हुन् । सर्वाधिक १२ गोल मेस्सीकै नाममा छ । ३ गोलका लागि असिस्ट पनि छ ।

तर, सेमिफाइनलमा इंग्लिस टिम लिभरपुलसँग ४–० को हार भोग्दै बार्सिलोना उपाधि दौडबाट आउट भएपछि बालोन डि‘ओरमाथि मेस्सीको दाबेदारीमा पानी पोखियो । भलै, मेस्सीको व्यक्तिगत प्रदर्शन यस प्रतियोगितामा अझै पनि अन्य खेलाडीको भन्दा धेरै माथि छ ।

तर, टिम उपाधिविहीन बन्दा मेस्सीको दाबेदारीमा क्षति भने पुगेको छ । भलै, बलोन डि‘ओर टिमले जितेको अवार्ड संख्याभन्दा पनि खेलाडीको व्यक्तिगत प्रदर्शन र रेकर्ड हेरेर दिइने भए पनि पछिल्ला वर्ष टिमको सफलतासँग पनि खेलाडीको प्रदर्शनलाई जोडेर यो उपाधि दिइन थालेकाले यो आलोचनाको विषय पनि बन्दै आएको छ । मूलतः बालोन डि‘ओर विशुद्ध रूपमा खेलाडीको व्यक्तिगत प्रदर्शनलाई आधार मानेर दिइने अवार्ड हो ।

हालसम्मको अवस्थामा यदि यस वर्ष बालोन डि‘ओर अवार्डमा मेस्सीलाई कसैले सबैभन्दा बढी टक्कर दिन सक्छन् भने उनी लिभरपुलका डच खेलाडी भर्जिल भान डाइक हुन् । यस सिजन प्रिमियर लिगका समेत वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका भान डाइकलाई यसपालि बलोन डि‘ओरका लागि प्रमुख दाबेदारमध्येका एक खेलाडीका रूपमा हेर्न थालिएको छ ।

जारी सिजन लिभरपुललाई प्रिमियर लिगमा उपविजेता बनाउन र च्याम्पियन्स लिगको फाइनल पुर्याउन उनले उच्च प्रदर्शन गरेका छन् । त्यत्ति मात्रै हैन, नेदरल्यान्ड्सलाई युइएफए नेसन्स लिगको सेमिफाइनलमा लैजानेक्रममा पनि उनको योगदान उत्तिकै महत्त्वपूर्ण छ ।

पछिललोपटक च्याम्पियन्स लिगमा बार्सिलोनालाई सेमिफाइनलमा ४–० ले हराउँदा पनि भान डाइक बार्सिलोनाका लागि घातक डिफेन्डर बनेका थिए । उनले बार्सिलोनाको आक्रमण पंक्ति ध्वस्त पार्न रक्षापंक्तिमा नेतृत्वदायी कमान्ड सम्हालेका थिए ।

लिभरपुल हाल च्याम्पियन्स लिगको फाइनलमा छ । यदि फाइनलमा लिभरपुलले टोटनह्यामलाई हराएर उपाधि जितेको खण्डमा उनले बालोन डि‘ओरका लागि मेस्सीसँग टक्कर गर्ने पक्का छ । सँगै, लिभरपुलका मोहमद सालाह र साडियो माने पनि मेस्सीसँगै प्रतिस्पर्धामा उभिने सम्भावना छ ।

यता, अर्को महिना नेदरल्यान्ड्सले नेसन्स लिगको सेमिफाइनल खेल्दैछ । सो प्रतियोगितामा भान डाइकको टिमलाई प्रमुख उपाधि दाबेदार टिम मानिएको छ । यदि त्यहाँ भान डाइकको प्रदर्शन लयमा रह्यो र टिमले उपाधि जितेको खण्डमा र यता मेस्सी कोपा अमेरिकामा असफल भएको खण्डमा बालोन डि‘ओरका लागि उनी मेस्सीभन्दा बलिया दाबेदार बन्न सक्छन् ।

जारी सिजन भान डाइकले लिभरपुलका लागि ४९ खेल खेल्दै ६ गोल गरेका छन् भने २ गोलका लागि असिस्टसमेत गरेका छन् । नेदरल्यान्ड्सका लागि उनले २ खेल खेल्दै १ गोल गरेका छन् ।

 

३० बैशाख २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको