सत्तारुढ दलका कार्यकर्ताद्वारा एभिन्युजको वीरगञ्ज कार्यालय तोडफोड


बैशाख ३०, काठमाडौं । वीरगञ्जस्थित एभिन्युज टेलिभिजनको दुई नम्बर प्रदेश कार्यालय तोडफोड भएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले एभिन्युजको प्रदेश कार्यालय तोडफोड भएको जानकारी दिए।

बिहान करिब १०ः३० बजेतिर टेलिभिजन कार्यालय तोडफोड भएको हो । आक्रमबाट ढोका अगाडिको फेलेक्स च्यातिएको छ भने त्यसभित्रको सिसाको ढोका समेत तोडफोड भएको छ।

कार्यलय तोडफोडको दृश्य

एभिन्युज टिभीको वीरगञ्ज कार्यालय तोडफोडपछि एभिन्युज सम्बद्ध पत्रकारहरूले सत्तारूढ समाजवादी पार्टी नेपालका कार्यकर्ताले तोडफोड गरेको बताएका छन्।

एभिन्युजका वीरगञ्ज संवाददाता हरिशंकर साहका अनुसार मुखमा पट्टि बाँधेर हातमा लठ्ठी बोकेर आएका आक्रमणकारीले एउटा क्यामेरा पनि तोडफोड गरेका छन्। सोही क्यामेराले उनीहरूका गतिविधि खिचिरहेको थियो। क्यामेरा फुटाए पनि त्यसमा रहेको मेमोरी कार्ड सुरक्षित रहेको उनले जानकारी दिए।

नेपाल भारत व्यापारको सबैभन्दा ठूलो नाका बीरगञ्जमा सो पार्टीको तर्फबाट विजय सरावगी मेयर छन्।

पर्सा क्षेत्र नं १ मा सोही पार्टीका प्रदीप यादव सांसद छन्। तोडफोडको पृष्ठभूमिएभिन्युज टेलिभिजनको ‘सकस राजनीति’ कार्यक्रमका लागि आइतबार उप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अतिथि थिए। उनी समाजवादी पार्टी नेपालका अध्यक्ष समेत हुन्।

कार्यक्रम सञ्चालक सुशील पाण्डेसँग भनाभन भएपछि उनी टेलिभिजनको माइक फालेर स्टुडियोबाट बाहिरिएका थिए। सोमबार बिहानैदेखि सो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कार्यक्रम सञ्चालकले पार्टी अध्यक्षको मानमर्दन गरेको भन्दै कार्यकर्ता तोडफोडमा उत्रिएका हुन्।

२०७६ बैशाख ३०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको