चैत ३०, काठमाडौँ । पुर्व प्रधानमन्त्री समेत रहेका नेकपाका नेता झलनाथ खनालले ठूलो संख्यामा युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाएका छन्।
काठमाडौँ महानगरपालिका वडा नम्बर १५ ले नयाँ बर्षको सन्र्दभमा सनिबार भुईखेलमा गरेको कार्यक्रममा सत्तारुढ दलका नेता खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवा जनशक्ति विदेशिन बाध्य भएको आरोप लगाए।
२०४६ साल यता पटक–पटक सरकारको नेतृत्व गरेको कांग्रेसले अवसर पाउँदा मुलुक र मुलुकवासीका लागि उपलब्धिमुलक काम गर्न नसकेको टिप्पणी गरे ।
उनले भने, ‘नेपाली कांग्रेसका साथीहरुले हामी गर्छौं भनेर अहिले गफ लगाउनुभएको छ । तर ४६ साल पछाडि अवसर प्राप्त भएको हैन ? पटक–पटक बहुमत प्राप्त भएको होइन, तर के गर्नुभो ? सारा देशलाई गरिवीमा डुबाउनुभयो । सारा देशमा वेरोजगारीमा डुबाउनु भो । आज झण्डै ५० लाख भन्दा बढी युवाहरु विदेशमा जान बाध्य भईरहेका छन् । यो बाध्यता खडा गर्यो कसले ? नेपाली कांग्रेसका साथीहरुलाई म एक पटक आफ्नो अनुहार ऐनामा हेर्नु भन्न चाहन्छु ।’
पछिल्लो समय पुर्वाधार निर्माण, साधन स्रोतको विकास तथा जलस्रोतको विकासका लागि योजनावद्ध ढंगले अघि बढ्ने काम भएको भन्दै उनले सरकारलाई असफल पार्न गरिएका षड्यन्त्रविरुद्ध दृढताका साथ उभिनुपर्नेमा जोड दिए।
पछिल्लो समय लोडसेडिङ गराउने तत्व सक्रिय भएको भन्ने खबर आएको भन्दै उनले त्यस किसिमको षड्यन्त्रविरुद्ध दृढताका साथ उभिन सरकार र नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस