भालुलाई एउटा पुराण: मुस्ताङ्ग टू मिथिला


पुरुषोत्तम लम्साल ।  लाग्यो, सत्ताको सोचमै कतै विभेदको घर पो छ कि ! उपत्यकाका तीन शहरमा धुमधामले मनाइने भोटो देखाउने जात्रा दिमागमा आयो । जनश्रुती र जनविश्वास आधार मान्दा तेन्ची यात्रा मल्लकालभन्दा परको रहेछ (८औं शताब्दीका पद्यसम्भवसँगै जोडिने मुस्तांगको किला अभ्यास । मुस्तांग स्वतन्त्र राज्य भएकै हिसाबमा पनि झण्डै ७ सय वर्ष) ।

हिमालपारीको सभ्यताको स्वाद राजधानीका शाषक बर्गको प्रतिनिधित्व गर्ने ‘तन्त्र’लाई थाहा भएनछ भन्ने लाग्यो ।


***
चार वर्षअघि नेचर जर्नलको अनुसन्धानमूलक आलेखमा तिब्बतीयन प्लेटवरपरको सभ्यताबारे अध्ययन सामाग्री थियो । प्रतिष्ठित जैविक समाजशास्त्रीले गरेको उक्त अनुसन्धान भन्थ्यो, ‘तिब्बतीयन प्लेट र आसपास बसोबास गर्ने मानववस्तीको इतिहास र सभ्यता हजार होइन, दशौं हजार वर्षदेखि अविच्छिन्न छ ।’

झट्ट नेशनल जियोग्राफी च्यानलले उपल्लो मुस्तांगमाथि बनाएको वृत्तचित्रात्मक अध्ययन याद आयो । त्यसमा संकलित पुरातात्विक सामाग्रीमा हजारौं वर्षदेखि वस्ती, ध्यानकेन्द्रको अवशेष पाइएको निश्कर्ष थियो । ९ वर्षअगाडि तेन्ची वा तिजी (ल्हो—मान्थाङ÷उपल्लो मुस्तांगको राजधानीमा मनाइने ऐतिहासिक पर्व) महोत्सवमा अग्रज छायाँकार मोहन शाहसँगै उक्त गुफाको माटो र संरचना कोतर्दै अवलोकन गर्ने अवसर मिल्यो । प्रशारित सामाग्री दोहो¥याएर अवलोकन गरियो ।

अहो !, सभ्यताको गर्तबाट कति बहूमूल्य जिनिस पाएको रहेछौं भन्ने लाग्यो । दुर्भाग्य, हाम्रो राज्यसत्तालाई सभ्यताको त्यो अवशेष ‘भालुलाई पुराण’झैं भयो ।

देशका गन्यमान्य मानव÷समाजशास्त्री, पुरातत्व÷संस्कृतिविद् समेतबाट संकलित धारणा लिएर हामीले केही विभाग, बोर्ड र शाखासम्म चाहा¥यौं । तर उनीहरुका लागि त हामी ‘मुर्गा’ झैं भएछौं । दक्षीणा र भेटी चढाउने आदत नभएकाले थान्को लाग्यौं ।

हजारौं वर्षदेखिको चल्दै आएको (भन्नेले ४ सय वर्ष पनि भन्छन्) आसुरी शक्तिबाट सुरक्षित राख्ने परम्परा, हिमाली एवम् बौद्ध सभ्यताको झल्को, सयौं वर्षदेखिको थान्का देखाउने चलन कर्मचारीतन्त्रलाई झिनामसिना लाग्यो । हामीलाई लाग्यो, सत्ताको सोचमै कतै विभेदको घर पो छ कि ! उपत्यकाका तीन शहरमा धुमधामले मनाइने मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा दिमागमा आयो ।

जनश्रुती र जनविश्वास आधार मान्दा तेन्ची यात्रा मल्लकालभन्दा परको रहेछ (८औं शताब्दीका पद्यसम्भवसँगै जोडिने मुस्तांगको किला अभ्यास । मुस्तांग स्वतन्त्र राज्य भएकै हिसाबमा पनि झण्डै ७ सय वर्ष पुगेछ) । हिमालपारीको सभ्यताको स्वाद राजधानीका शाषक बर्गको प्रतिनिधित्व गर्ने ‘तन्त्र’लाई थाहा भएनछ भन्ने लाग्यो ।

गर्त उधिन्दै ल्याउँदा सभ्यताका कति अवशेष हिमाली हावाले उडाएको बालुवामा पुरिए होलान् भनेर गम खाइयो । तिब्बती संस्कृतिप्रभावित भनेर मुन्टो बटार्दा त्यसको किस्सामै अरुको लालमोहर लाग्न सम्भावनातर्फ आँखा चिम्लने प्रवृत्ति जो छ ।

किला अभ्यास, तेन्ची, प्राचीन थान्का र गुफाका हजार मिनेट खिचिएका दृष्य ‘डम्प’ गर्दै मुस्तांगको बीट मारियो । छोदे बिहार र लुरी गुफा मात्र मुस्तांगको पहिचान होइन भन्ने अभियान हावा खायो ।

पाँच वर्षपछि स्थानीय क्लवका सचिवसँग टेलिफोन संवाद भयो । उनले भनिन्, ‘त्यो विषय त जुन दिन यहाँ आएका मान्छे फर्किए त्यही दिन नै सकियो ।’ ‘कहाँको सम्पदा, कहाँको पुरातत्व, कहाँको पर्यटन, कहाँको संग्रहालय’ उनले थपिन् ‘बरु ल्होमान्थाङ किल्लामा बढ्दो कंक्रिट संरचना र त्यसले स्थानीयतामा बढ्दो संकटबारे बोल्ने बेला भो ।’ मुस्तांग संस्कृति समुदायमा भन्दा भिक्षु विद्यार्थीको भरोषामा टिकिरहेको आशय थियो त्यो ।

अक्सर हिउँ फल्ने बाटाभरी कुन जमानामा पत्थरमा कुँदिएका अक्षरहरु कुल्चँदै हिंड्ने घोडाका टापहरुको आवाज उस्तै हो । दिनदिनै हिंड्नेलाई पो मालको महत्व हुन्न । जुनीमा एकबार पुग्नेलाई त त्यही माल हो । जोगाएर राखिदिउँ भन्न शहर र गाउँ दुबै ठाउँको सिंहदरबारको कानमा अझै बतास लागिसकेको रहेनछ । बिष्ट राजकूल हुँदा पनि, त्यो राजकूल नरहँदा पनि वेवास्ताको शिकार एउटा सभ्यताको कथा हो त्यो ।

संसारमा अलग्गै हिमाली सभ्यताको दावी शुरु भइरहेको छ, हाम्रो हालत त्यस्तो छ । प्रधानमन्त्री ओलीले लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ देखे, हिमालपारीका जिल्ला मानवशास्त्रको, हिमाली सभ्यताको अध्ययनका लागि पनि ‘भर्जिनल्याण्ड’ हो भनेर आव्हान गरिदिए कस्तो हुँदो हो । भलै यो मेरो मनको लड्डू मात्रै हो ।

तिब्बत र भारत जोड्ने त्यो प्राचीन मार्गभित्रको राज्य ३१५ वर्षअघि जुम्लीले अधीनमा पारे । एकीकरणसँगै देशमा गाभियो । त्यसलाई ७ सालको क्रान्तिले छोएन, स्थानीय राजाको अधिकार कटौती मात्र भो । तिब्बतका उग्रवादी खम्पाले बिद्रोहको सेल्टर बनाएपछि (२०३१) पुनः दुनियाबाट त्यो एक्लियो । प्रजातन्त्रपछि त्यो आंशिक रुपमा खुल्यो तर हिमाली सभ्यताको उत्खनन् अपेक्षाकृत अघि बढेन । रणनीतिक मैदानमा खेल्ने खेलिरहून तर सभ्यताको पाटोमा पनि राज्यको चासो जाओस् मात्र भन्ने अपेक्षा हो ।

कालिगण्डकी आफैंमा सभ्यताको प्रस्थानबिन्दू रहेछ भन्दा ‘धर्मनिरपेक्ष’ समाजको निशानामा पर्ने भय छ । कालीगण्डकी र शालिग्रामको विषय वैदिक÷हिन्दू सभ्यतासँग जोडिएको जसको आयु ७ देखि १० हजार वर्ष पुग्ने रहेछ । वैदिक सभ्यताका पारखीले गरेको अध्ययनका अंश खोज्दै जाँदा पनि हामी बलिया रैछौं । दक्षीणको प्राचीन भारत वर्षले हजारौं वर्षदेखि श्रद्धाले शिर निहु¥याउँदै आएको कालीगण्डकी सभ्यतामाथि हाम्रा स्थानीय सरकारहरु डोजर र क्रसरको धावा बोल्दैछन् भन्ने सुनेर मन खिन्न भयो ।

तिब्बेतियन प्लेटको आसपास बसोबास गर्नेहरुले प्रयोग गर्ने दुबैतिर धार भएको पत्थरको हतियारसहितको सामाग्रीबारे ४ हजार ६ सय मिटर उचाईसम्मको वस्तीमा चिनियाँ अनुसन्धानको निश्कर्ष हामीलाई ‘कागलाई बेल’ भयो । ७ हजार ४ सय वर्ष पहिलेदेखि उपल्ला हिमाली क्षेत्रमा वस्ती विकास भएको निश्कर्ष त आयो तर मूलतः नेपालको हिमाली क्षेत्रमा त्योभन्दा पहिलेदेखि मानववस्ती रहेको अनुसन्धानमूलक सामाग्री पनि आउनसक्ने सम्भावना रहेछ । यस्तो बेला मन फुरुंग हुन्छ, शरीरमा काँडा उम्रन्छ ।

पेकिंग विश्वविद्यालयका भू—अनुवांशिकवेत्ता जिया फू जांग र पुरातत्वविद् रोबिन डेन्नलले अनुमान गरेजस्तै पर्वतीय क्षेत्रमा दशौं हजार वर्ष पुरानो सभ्यताको पाइने झल्को हाम्रै नेपाली सभ्यतासँग जोडिएका सामाग्री कहिले पो पढ्न पाइएला ?

एकातिर अनुवांशिकवेत्ताहरु हिमवतखण्डको सभ्यता खोतल्दैछन् अर्कोतिर रामायणकालीन वा त्रेतायुगकालीन इतिहासका वैज्ञानिक÷प्रामाणिक अनुसन्धान निश्कर्ष सार्वजनिक भइरहेछन् । हिमाली सभ्यता र समथर फाँटको तराई सभ्यतासँग नेपाली मानवशास्त्र जोडिने संयोग बन्दैगरेको देखिन्छ । तर यो संयोग उखानमा सुनिने ‘भिल्लका देशका मणी’सँग मिल्न बेर छैन ।

इस्टोनियन जीव÷जैविक केन्द्र र दिल्ली विश्वविद्यालयले चार वर्ष लगाएर गरेको अनुवांशिक अध्ययनले रामायणकालीन युग यथार्थ भएको भन्दै गोन्डस्, कोल्स र भिल्ल त्यतिबेलाका आदिवासी रहेको र तिनीहरुको संख्या भारतमा अझै ४० लाख रहेको दावी गरेको छ । अध्ययन भन्छ ‘भारतको तेलांगना जिल्लाको अदिलाबाद क्षेत्रमा वासिन्दा नै त्रेतायुगकालीन आदिवासीका वंशज हुन् ।’

त्यसो भए मिथिला केन्द्र रहेको त्रेतायुगकालीन हाम्रो मध्यदेश जसलाई मधेश भन्छौं त्यसको सम्बन्ध सपाट वा अझ प्रामाणिक हुने भयो । जनककालीन सभ्यता र अयोध्यासँग सीताकालीन सम्बन्धको तन्तु जोडिने त्यही जनकपुर क्षेत्र हो । नदी र तालकेन्द्रित हाम्रो सभ्यता मिथ हो कि यथार्थ ?

उत्तर अयोध्या र रामायणकालले दिन्छ भने जनक र जनकपुरले पनि देला । उत्तर खोज्दा मुख्यमन्त्री राउत र विखण्डनका हिमायती राउतहरुलाई ‘शरदर्द’ हुनसक्छ ? केही भाटलाई याद हुनपर्छ, १० हजार वर्ष अगाडि पनि नेपालको मिथिला जनकपुर क्षेत्र र भारत वर्ष अलग देशको नक्शामा थिए समान हैसियतमा । कसको तागत छ भारतको नक्सामा नेपालको जनकपुर थियो भनेर देखाउन ? हजारौं वर्षअघिको सभ्यतासँग जोडिएको विषय वैज्ञानिक अध्ययनले पुष्टी गर्छ भने त्यसको प्रतिफल लिन हाम्रो भूमिका के हुने ? जिज्ञासा यही हो ।

भारतीय उपमहाद्विपमा ६० हजार वर्षदेखि मानव बसोबास रहेको दावी छ । इस्टोनियन बायोसेन्टरका ज्ञानेश्वर चौबे, इन्स्टिच्यूट अफ साइन्सटिफिक रिसर्च अन वेदका डा सरोज बाला, दिल्ली विश्वविद्यालयका राघवेन्द्र रावसहितको टोलीले गरेको अनुवांशिक अध्ययनले रामायणकालीन समाजको पुष्टी गर्छ भने मैथिल सभ्यताको पुष्टी पनि त होला । ७ हजार वर्षअगाडि वाल्मिकीसृजित संस्कृत रामायणलाई भानुभक्तले नेपालीकरण गर्दा जातको गन्ध सुँघ्दै हिंड्ने पाण्डाहरुलाई मिथिला÷मैथिल सभ्यताको त्यो बिन्दु चाँहि किन गुदीमा नघुसेको होला ? अचम्म छ ।

३० चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको