‘शेरामा गिद्दहरुको घेरा’


नारायण नेपाल । सम्पत्तिको मोहमा फस्दा नेकपाका खाइलाग्दा महासचिव वालुवाटार जग्गा प्रकरणका विवादित नायक बनेका छन्। जग्गाको कथा सुवर्ण शमसेरसँग जोडिए पनि अहिलेका हटकेक बनेका छन् कमरेड पौडेल।

यही मेसोमा हामीले एउटा पुरानो दरबारको पुरानो कथा किन नकोर्तने ?

नुवाकोट सदरमुकाम बिदुर नजिकै शेरा भन्ने स्थान छ । शेरा भन्नाले सरल भाषामा धान धेरै फल्ने ठाउँँ भन्ने बुझिन्छ । त्यही ठाउँमा आज सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रचण्ड समूहको लगानी थुप्रिएको छ ।

यो स्थान पृथ्वीनारायण शाहको बगैचा रहेको ठाउँ हो । तत्कालीन राणा प्रधानमन्त्री जुद्धसम्शेरले यहाँ दरबार र बगैचा निर्माण गर्न लगाएका थिए । राणा शासन अन्त्यसँगै राजा महेन्द्रका भाइबुहारी वसुन्धरा शाह र हेलेन शाहको नाममा रहेको यो बगैंचामा हेलेन र उनका सन्तानसमेत आउने गरेका थिए ।

राजा महेन्द्रको पञ्चायती भूमिसुधारको नौटंकी छल्न १८ रोपनी हेलेन शाहको नाममा र बाँकी १६४ रोपनी १३ आना ३ पैसा तीन दाम गौरीशंकर फार्मिङको नाममा दर्ता थियो । तर, मन्त्रिपरिषदबाट हदबन्दी छुटको निर्णय भने हालसम्म हुन सकेको छैन । १८ रोपनीमा हाल बाग्मती कृषिकलेज सञ्चालनमा छ ।

जिल्ला मालपोत कार्यालयको रेकर्डअनुसार ०३६ सालको नापी पूर्व सो जग्गा पर्ती बगैंचा पोखरी कायम भएको तर मोही कायम भएको देखिँदैन । सो जग्गा काठमान्डौ क्षेत्रपाटीका बाघबहादुर श्रेष्ठ हर्तकर्ता भएर आफूले किनेको भन्दै उठौती लिने गरेका थिए । उनै बाघबहादुरले ०४५ मा माओवादी पार्टीलाई चन्दा सहयोग दिने भन्दै बोलाए र प्रहरी बोलाई माओवादी कार्यकर्तालाई पक्राउ गराएका थिए । ०५६ मा सो जग्गाको धान माओवादीको नेतृत्वमा किसानले कब्जामा लिएका थिए । ०५९ पुस १२ गते तत्कालीन नेकपा माओवादीले सो दरबारमा आगो लगाई ध्वस्त पारेको थियो ।

हाल सो जग्गा ८ करोड ५० लाखमा प्रचण्ड समूहले हात पारेको छ । प्रचण्डका पूर्व स्वकीय सचिव एवं भूमि माफिया विकेश श्रेष्ठ यसका हर्ताकर्ता भए । यो कम्पनी खरिद बिक्रीका क्रममा उनले राज्यको प्रचलित कानुनले तोकेको ४ प्रतिशत राजस्वबापत रकम ३६ लाख राजस्वसमेत ठगी गरेका छन् । राज्यको रक्षाकवज बनेका प्रचण्ड समूहले राज्यलाई खोइ त बलियो पारेको ? के यो ठगी होइन ?

हिजो नारायणहिटी दरबारको आडमा सत्ता र शक्तिको दुरुपयोग गर्नेहरूको राज्यकोष दोहन गरेर थुपारेको सम्पत्ति आज स्वघोषित क्रान्तिकारी र समाजवादी लाजिम्पाट दरबारले राष्ट्रियकरण गर्ने कि निजीकरण गर्ने ? हेलेनको सम्पत्ति प्रचण्ड महाराजको आज कसरी ?

जलसम्पदाको माफियासमेत रहेका विकेश श्रेष्ठको नाममा प्रचण्ड समूहको लगानी भएको देखिन्छ । प्रचण्डले पछिल्लो समय प्रधानमन्त्री हुँदा भूमिसुधार मन्त्रालयका सापकोटा थरका सचिवलाई फोनबाटै सो जग्गा विकेशलाई दिन दबाब दिएका थिए ।

पछिल्लो समय सो जग्गा प्रचण्डपुत्र प्रकाश दाहालसहितको मिलेमतोमा ३५ कारोडमा आयल निगमको भण्डारण स्थल बेच्ने तयारी गरिएको थियो । गोपाल खड्काको भ्रष्टाचार प्रकरण चर्चामा आएसँगै सो कुरा सेलाएको हो ।

हुनत नुवाकोटमा भूमि समस्या व्यापक छ । गुठी, बिर्ता, दरबारको नाममा किर्ते फार्म आदि गर्दै भूसामन्त र अरूले किसानलाई हैरानीमा पारेका छन् । उता, आजको नुवाकोट जिल्लाबाट अन्तर्राष्टियमार्ग सञ्चालनमा आएसँगै यस्तै समथर जग्गाको उपयोगीको महत्व अझै बढेको छ ।

तिब्बत मार्ग हुँदै आउने रेल स्टेसन र उतैबाट ल्याउने तेल भण्डारणका लागि उपयुक्त जमिनको अझै अभाव देखिन्छ । नवघोषित केरुङ अन्तर्राष्ट्रिय मार्ग सुख्खा बन्दरगाह आदिले गर्दा यो क्षेत्रको जग्गाको महत्व झनै बढाएको छ ।

चण्डी पोखरी खम्बा क्याम्पमा जेल घर होइन रेल घर बनाउन सके आर्थिक समृद्धि होला अन्यथा चिनियाँ रेलको धुवाँ र रेलयात्रीले पिसाब फेर्ने ठाउँ मात्र हुनेछ, नुवाकोट जिल्ला ।

राजधानी काठमाडौंको फोहोर ओखरपौवामा थुप्रो लगाएर र देशभरिको कैदीबन्दी चण्डी पोखरीमा थुप्रो लगाएर पक्कै नुवाकोट समृद्ध हुँदैन । नुवाकोटमा समाजवाद आउँदैन ।

नुवाकोट किम्ताङका सयौं घरका हजारौं जनता पहिरोले बिचल्लीमा पारेका छन् । इन्द्रेणीघाटमा पाल टाँलेर बस्ने भूकम्पपीडितले शेरा वा चण्डीपोखरीमा बस्न पाउने कि नपाउने ? यस्ता कुराको बहस कहिल्यै हुँदैन किन ? अरू बेला कानमा तेल हालेर बस्ने अनि चुनावी भाषणमा ठूला कुरा गर्नेबाहेक के भएको छ ?

कारागारका लागि १२ सय रोपनी जग्गा अधिकरण भएको छ, चिनियाँ तेल भण्डारण गर्न पीपलटार क्षेत्र चयन भएको हल्ला छ । अन्तर्राष्ट्रिय नाका र मार्गलाई मागिखाने भाँडो बनाउने मात्र देखियो जिल्लामा । आज प्रदेशअनुसार ठूला औद्योगिक क्षेत्र र शहर स्थापना हुने भन्ने हल्ला छ तर यताका जग्गा माफियाको कब्जामा छ ? हिजो सत्ता छाडेका राणाहरू हुन् कि दरबारिया शासक, पूर्वप्रशासक र कर्मचारी तिनीहरूले दोहन गरेको राज्यकोषको सम्पत्ति राज्यकै हुन्छ, त्यसलाई जफत गर्ने अिकार राज्यले नसके जनताको हुन्छ ।

प्रकाशित मिति: २०७५ चैत ३०

लेखकका आफ्नै निजि बिचार हुन्

३० चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको