ओली-दाहाल चन्द्रागिरि बास, गरे यस्तो समझदारी


चैत ३०, काठमाडौँ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेका छन् ।

यो समाचार कान्तिपुरमा प्रकाशित छ । त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने भएका छन् । जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वयले चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख ९ गते) एकताको सन्देश दिने गरी काम सक्ने समझदारी गरेका हुन् ।

बिहीबार चन्द्रागिरि पुगेका ओली–दाहाल शुक्रबार दिउँसो काठमाडौं झरेका छन् ।‘एकताको बाँकी प्रस्ताव तयार गर्न अध्यक्षद्वयलाई जिम्मा दिइएको थियो, त्यसैका लागि उहाँहरूले गृहकार्य गर्नुभएको हो,’ चन्द्रागिरि बासमा सहभागी महासचिव विष्णु पौडेलले कान्तिपुरसँग भने, ‘अब केही दिनमै सचिवालय बैठक बस्छ र चाँडै एकताको काम पूरा हुन्छ ।’ पौडेलले अध्यक्षद्वयबीचको विषयगत सहमति खुलाउन चाहेनन् ।

छलफलमा एकता टुंग्याउन यसअघि बनाइएको सात सदस्यीय कार्यदलका संयोजक एवं गृहमन्त्री रामबहादुर थापासमेत सहभागी थिए ।एकतामा सैद्धान्तिक र विषयगतभन्दा बढी व्यक्तिकेन्द्रित विवादले समस्या थियो । त्यसैले कुन जिल्ला र कुन भ्रातृ संगठनको नेतृत्व कसलाई कसरी दिने भन्नेमा अध्यक्षद्वयले नाममाथि केन्द्रित भएर सूची बनाएको स्रोतले बताएको छ ।

जिल्लाका अध्यक्ष, सचिवलगायतको जिम्मेवारी कसलाई दिने भन्नेमा नेकपाभित्र विवाद छ । त्यसमा पनि विशेष गरी पूर्वएमाले पक्षका नेताहरूबीचमै झगडा छ ।माधव नेपाल समूहले विगतमा अधिवेशनबाट चयन भएका व्यक्तिलाई जिम्मेवारी दिएर त्यसपछि मात्र अन्यलाई कमिटीमा समावेश गर्नुपर्ने माग गरेको छ ।

ओली समूहले भने एकताको आवश्यकताअनुसार क्रियाशील र भावी दिनमा नेतृत्व दिने खालको विधिमा जानुपर्ने बताउँदै आएको छ । सबैमा एउटै मापदण्ड लागू गर्ने नेपाल पक्षको अडान छ । उसले एकतर्फी रूपमा जिल्लाको नेतृत्व टुंग्याए समानान्तर कमिटी बनाउने चेतावनी दिएपछि अध्यक्षद्वय सकसमा परेका थिए ।

नेता नेपालसहित सचिवालयका सबै नेतासँग छुट्टाछुट्टै कुराकानी गरेपछि अध्यक्षद्वयले नयाँ प्रस्ताव तयार गर्न लागेका हुन् । अब तयार हुने प्रस्तावमा मापदण्ड लगायतको प्रश्न नउठ्ने संकेत महासचिव पौडेलले दिएका छन् । ‘अब मापदण्डको कुरा उठ्दैन, सबै टुंगिने अवस्था छ,’ उनले भने ।

थापा कार्यदलका पाँच सदस्यले अध्यक्षद्वयलाई दिएको छुट्टै प्रतिवेदनमा पनि एउटै मापदण्ड हुनुपर्ने सुझाव थियो । यसअघि अध्यक्षद्वयलाई सिधै प्रस्ताव ल्याउन भनिए पनि सचिवालयका बहुमत सदस्यले प्रश्न उठाउने अवस्था आएपछि नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले तीन पटक पुष्पकमल दाहाललाई छुट्टै भेटेर छलफल गरेका थिए ।

यी छलफलको संकेत अध्यक्ष ओलीले आफ्नो अनुकूल मात्र अघि बढ्न खोजे मान्य हुँदैन भन्ने थियो ।गत जेठ ३ मा केन्द्रमा एकता भएको नेकपाको जिल्ला नेतृत्व तथा जनवर्गीय संगठनको एकता र नेतृत्व टुंग्याउने मूल काम बाँकी छ ।

त्यस्तै पोलिटब्युरो गठन र केन्द्रीय समितिका सदस्यको कार्यविभाजन हुन सकेको छैन । यो काम सकेपछि पार्टी एकताको सन्देश लिएर जिल्ला तहमा जाने नेकपाको योजना छ ।

३० चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको