रोल्पाली गायक झन्कार बुढामगरको ‘लुट्न हुन्न देश कान्छा’ सार्वजनिक (भिडियोसहित)


फागुन, काठमाडौँ । जनयुद्धले जन्माएका रोल्पाका जनवादी कलाकार झन्कार बुढामगर जनयुद्धको समाप्तिसँगै माया र पिरतीका गीत गाउन थालेका थिए ।

त्यसले उनको राजनीतिक र चेनतामूलक सन्देश सञ्चारको उद्धेश्य गतिहीनतातीर गइरहेको भान हुन्थ्यो । त्यसो त उनको राजनीतिक जीवनमा आएको परिवर्तनसँगै उनी देशभक्ति गीत सृजना गर्ने र गाउने पनि गर्थे । पछिल्लो पटक उनले बजारमा ल्याएको गीत यतिबेला चर्चामा छ ।

पशुपति शर्माले ल्याएको ‘लुट्न सके लुट् कान्छा’ गीतलाई प्रतिवाद गर्नेगरी बनाइएको भान पर्ने उनको गीत ‘लुट्न हुन्न देश कान्छा, लुट्न हुन्न देश’ मंगलबार मात्र बजारमा आएको हो । जुन गीत युटुवमा हेर्न सकिन्छ ।

गीतमा उनले नेपालको ग्रामीण भेगमा बस्ने एउटा गरिव परिवारमा आर्थिक समस्यामा परका एकजना युवा परिवारको दवावका कारण देश लुट्न जान लागेको तर यसरी देश लुट्न हुँदैन भन्दै उनलाई देश बनाउने दिशामा फर्काएको सन्देश प्रवाह गरिएको छ । गीत मार्फत उनले शहिदले गरेको त्याग र बलिदानीलाई भुल्न नहुने सन्देस दिएका छन् ।

उनको गीतको समिक्षा गर्ने हो भने धेरै पक्ष राम्रो छ तर देश लुट्न हिँड्ने युवा जो छन् उनको ठाउँमा एकजना भ्रष्टाचारीलाई उभ्याएको भए राम्रो हुने थियो । गीतमा झन्कारले भ्रष्टाचारीलाई मजाले गाली गरेका छन् । भ्रष्टाचारीलाई दिउँसै आर्यघाट लैजानु पर्ने सन्देश उनको गीतमा रहेको छ । पशुपति शर्माले लुट्न सकेजति लुट् भनेका छन्भने झन्कारले लुट्न हुन्न भनेका छन् । यी दुईको रचना र प्रश्तुतीमा यही कुरा नै भिन्नता हो ।

सायद सकारात्मक सन्देश दिनको लागि झन्कारले यस्तोखाले गीत बनाएका हुनसक्छन् । सरकार र नेताहरुले देशमा केही गर्न लागेका छन् त्यसकारण तीनलाई खाली गाली नगर्न भनेका छन् झनकारले । उनले भ्रष्टाचार नगर्न सबैलाई सचेत गराएका छन् । तर यस्तो गीत बनाएर भ्रष्टाचार रोकिने चाहीँ होइन ।

जनताहरु उपचार नपाएर मरिरहेको देशमा प्रधानमन्त्रीको उपचार खर्च नै १८ करोड, पूर्वउपप्रधानमन्त्रीले राज्यकोषबाट २५ लाख झिकेर उपचार खर्च गरेको र एकजना पूर्वरक्षामन्त्रीले विरामी नै नभएको अवस्थामा उपचार खर्च मागेकोमा सजिलै प्राप्त गरेको यो देशमा गीत मात्रैको त के महत्व र ? गीत गायर त कहाँ पो भ्रष्टाचार रोकिएको छ र ? त्यसकारण गाउँ ती युवालाई होइन बरु भ्रष्टाचार गरेर कमाएको अकुत सम्पति खाएर ढाडिएका भुँडीवाल नेतालाई पात्रकोरुपमा उभ्याएको भए गीतको प्रभावकारीता अझ बढ्ने थियो । तर झन्कारको गीतले भ्रष्टाचार गर्न हुँदैन भन्ने सकारात्मक सन्देश चाहीँ दिन खोजेको छ ।

भ्रष्टाचार गर्ने की नगर्ने, भइहालेमा रोक्ने की नरोक्ने भन्ने त त्यो देशको प्रणालीको कुरा हो । जननियन्त्रित राज्यप्रणाली नभएका मुलुकहरुमा भ्रष्टाचार गर्नु सामान्य कुरा हो । आय–व्यय जनताको सामु प्रस्तुत गर्नु नपर्ने प्रणाली भएका देशहरुमा भ्रष्टाचार नभएर सदाचार हुँदैन । मैखाउँ, मैलाउँ अरु, सब मरुन दुर्वलहरुको मानसिकता भएका शासक र शासकले गर्ने बदमासीका विरुद्ध लड्ने मानसिकता नभएका जनता रहँदासम्म देश भ्रष्टहरुले नै चलाउँछन् ।

त्यसकारण त्यतिञ्जेलसम्म यस्ता गीतहरुको सान्दर्भिकता रहिरहन्छ । मात्र यत्ति फरक हो की कसैले देश लटुेको देखेर पशुपति शर्माहरु कान्छालाई अरुले लुट्न हुन्छ भने तँ पनि सकेजति लुट भन्छन भने झन्कारहरु लुट्न हुन्न भन्छन् । तर सामान्य जनताले कसैले लुट भनेर लुट्न सक्ने पनि होइन र कसैले नलुट भनेर लुट् छोड्ने पनि होइन । तर जे होस गीत–संगीतले दिने सन्देशलाई भने सकारात्मकरुपमा नै बुझ्दा राम्रो हुन्छ ।

२९ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको