४४ मुलुकले रोके बोइङ ७३७ म्याक्सको उडान, विश्वभर उडान बन्द किन भयो ?


फागुन २९, काठमाडौं । युरोप र एसियाका ४४ मुलुकले अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७३७ म्याक्स ८ मोडलका जहाजको उडान रोकेका छन्।

आइतबार इथियोपियन एयरलायन्सको सोही मोडलको जहाज दुर्घटनामा परेपछि वायुसेवा कम्पनीहरूले पछिल्लो समयमा विश्वभरि सफलता पाइरहेको उक्त मोडलका जहाजलाई ‘ग्राउन्डेड’ गरेका हुन्।

मंगलबार बिहानसम्म अष्ट्रेलियासहित युरोप र एसियाका अधिकांश मुलुकले बोइङ ७३७ म्याक्स ८ को उडानमा रोक लगाएका छन्। यो बाहेक दक्षिण अमेरिका र अफ्रिकाका केही एयरलायन्सले पनि उक्त मोडलका जहाज ‘ग्राउन्डेड’ गरेका छन्।

इन्डोनेसियाको लायन एयरको यो मोडलको अर्को जहाज पाँच महिनाअघि पनि दुर्घटनामा परेको थियो।

के बोइङको ७३७ म्याक्स जहाजमा समस्या छ ?

आइतबार अफ्रिकाको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इथियोपियन एयरलायन्सको जहाज दुर्घटनामा पर्‍यो।

इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोवीका लागि उडेको बोइङ ७३७ म्याक्स ८ जहाजमा उडेलगत्तै समस्या देखिएको थियो। पाइलटले समस्याको जानकारी टावरलाई दिएपछि फर्कने अनुमति पनि पाएका थिए। तर धावनमार्ग छोडेको ६ मिनेटमा एकाएक जहाज सम्पर्कविहीन भयो। अदिस अबाबाबाट ५० किलोमिटर पर जमिनमा बजारियो।

दुर्घटनामा चालक दलका सदस्यसहित १५७ जनाले ज्यान गुमाए। सात समुद्रपारि भएको यो दुर्घटनाले ज्यान गुमाउने यात्रुमध्ये विश्व खाद्य कार्यक्रम इथियोपियामा कार्यरत एकता अधिकारी पनि थिइन्।

अमेरिकी जहाज निर्माता कम्पनी बोइङको यही मोडलको अर्को जहाज साढे चार महिना अघि पनि खसेको थियो। गत अक्टोबर २९ मा इन्डोनेसियाको राजधानी जकार्ताबाट पाङकाल पिनाङ उडेको लायन एयरको जहाज पनि दुर्घटनामा परेको थियो।

यी दुबै दुर्घटनामा एउटा समानता छ। दुबै जहाज टेकअफलगत्तै दुर्घटना परेका हुन्। लायन एयरको जहाज धावनमार्ग छोडेको १२ मिनेटमा दुर्घटनामा परेको थियो।

दुबै दुर्घटनामा पाइलटले जहाजमा समस्या देखिनासाथ टावरलाई फर्कन अनुमति मागेका पनि मागेको देखिन्छ तर जहाज नजिकको विमानस्थलमा आइनसक्दै दुर्घटनामा परे।

पाँच महिनामा लगालग दुई नयाँ जहाज दुर्घटनामा परेपछि पछिल्लो समय विश्वभरका एयरलायन्सले माग गरिरहेको बोइङ ७३७ म्याक्स कति सुरक्षित छ भन्ने प्रश्न उब्जिएको छ।

चीन, इन्डोनेसिया र इथियोपियाले बोइङ ७३७ म्याक्स जहाजको उडान अनिश्चितकालका लागि रोकेका छन्। चीनका विभिन्न एयरलाइन्समा यो मोडलका ७० जहाज सञ्चालनमा छन्। इन्डोनेसियाको लायन एयरसँग १३ र इथियोपियन एयरलायन्ससँग ५ वटा यस्ता जहाज छन्।

यो मोडलका झन्डै ३५० जहाज संसारभरि उडिरहेका छन् भने विभिन्न ६० वटा एयरलायन्स कम्पनीले ५ हजार वटा जहाज बनाउन अर्डर दिइसकेका छन्।

बोइङले यो मोडलका जहाज गत वर्षमात्रै २५० वटा बनाएर बेचेको थियो। यो मोडलका जहाज २०२३ सम्मका लागि बुक भइसकेका छन्।

यो जहाजको सफलताका कारण बोइङको सेयरको भाउ ऐतिहासिक रूपमा बढेको छ। तर पछिल्ला दुई दुर्घटनाले संसारभरका वायु सेवा कम्पनी र यात्रुलाई बोइङको यो मोडलका जहाजप्रति सशंकित बनाइदिएको छ।

बोइङ ७३७ म्याक्स कस्तो जहाज हो ?

बोइङको ७३७ सिरिजमा म्याक्स पछिल्लो मोडल हो। यसअघिका मोडलभन्दा यो मोडलको जहाज इन्धन खपतमा किफायती छ। बोइङका ७३७ सिरिजका यसअघिका जहाजहरू सबैभन्दा सुरक्षितमध्ये मानिन्छन्। म्याक्सको ७, ८, ९ र १० मोडलका जहाजले १३८ देखि २०४ जनासम्म यात्रु बोक्न सक्छन्। दुई लहरमात्र सिट भएका यी जहाज छोटो र मध्यम दूरीका लागि उपयुक्त छन्।

लायन र इथियोपियन एयरलायन्सका दुर्घटनाग्रस्त दुबै जहाजमा उचाइ लिँदा नै समस्या आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यसकारण उड्ययन विज्ञहरूले यो जहाजको नियन्त्रण प्रणालीको समस्या भएको हुन सक्ने अनुमान गरेका छन्।

इन्जिनमा समस्या हुन सक्ने ठानेर निर्माता बोइङले म्याक्स जहाजका सबै परीक्षण उडान २०१७ मेमा केही समयका लागि स्थगित गरेको थियो। त्यसको १० दिनपछि समस्या समाधान भएको बताएको थियो।

बोइङले इन्डोनेसियाली अधिकारीहरूसँग सहकार्य गरेर लायन एयरको जहाज दुर्घटनाको अनुसन्धान गरिरहेको छ र इथियोपियामा पनि आफ्नो प्राविधिक टोली पठाएको छ। दुर्घटनाग्रस्त जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला परिसकेको छ।

लायन एयर दुर्घटनापछि बोइङले वायुसेवा कम्पनीहरूलाई ७३७ म्याक्स जहाजले सेन्सरबाट गलत डाटा आएमा जहाजको नाक (अघिल्लो भाग) आफैं तलतिर सोझिन सक्ने चेतावनी दिएको थियो। उसले यो समस्या पाइलटले केही समयका लागि सेन्सर प्रणालीलाई बन्द गरेर हटाउन सक्ने बताएको थियो।

अहिलेसम्म बोइङ र एयर बस कम्पनीका जहाज चढ्दा यात्रुहरू दुर्घटना पर्ने सम्भावना धेरै कम भएको ठानेर ढुक्क हुन्थे। अझै पनि यी जहाजहरू सुरक्षित नै छन्। तर अत्याधिक बिक्री भएको जहाज नयाँमै लगालग दुर्घटनामा परेपछि यात्रुहरू सशंकित भएका छन्। यात्रु र वायु सेवा कम्पनी दुबैका लागि यो शंकाको निवारण चाँडै हुनुपर्छ।

-एजेन्सीहरूको सहयोगमा

२९ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको