‘टाउकाको मूल्य तोक्नेहरुलाइ जनयुद्द दिवस मनाउन छुट छैन’


समर्पण भट्टराई । नेपाली जनताको मुक्ति र राष्ट्रको स्वाधीनताको निम्ति अर्थात राष्ट्रियता जनतन्त्र जनजिविकाको निम्ति तत्कालीन देउवा सरकारलाई ४० सुत्रीय माग राखी माग पूरागर्न अल्टिमेटम दिएइएको थियो । देउवा सरकारले मागहरुलाइ बेवास्था गरेपछि २०५२ साल फाल्गुन १ गते तत्कालीन नेकपा माओवादीले महान जनयुद्धको घोषणागरि सशस्त्र संघर्षको बाटो लियो ।

जनयुद्धले व्यापक जनसमर्थन जुटाउदै अगाडि बढेपछि दरबार हत्याकान्ड लगतै तत्कालीन नेकपा माओवादीलाई आतंककारी घोषणा गरि तत्कालीन उच्च नेतृत्वहरुको टाउकाको मुल्य निर्धारण गरेको थियो ।

टाउको काटेर ल्याउने लाई ५० लाख सम्म दिने घोषणा गर्यो । मान्छे मारे बाफत पुरुष्कारको ब्यबस्था हुने देश नेपाल बनाए ।

जनयुद्दलाइ सिध्याउन संकटकाल लगाएर, चरम दमन गर्ने तत्कालीन सरकारको प्रस्तावलाई तत्कालीन एमालेले उच्च सम्मानका साथ पारित मात्रै गरेन, नेकपा माओवादीका नेताकार्यकर्ताको सुराकीगरि हत्या गराउन आन्तरिक रुपमा सर्कुलर नै जारी गर्यो ।

इतिहासको त्यो कालो कर्तुत बिर्सन लायक छैन । सायद त्यो बेला माओबादिले राखेका ४० सुत्रिय मागहरु देउवा सरकारले सुनुवाई गरेको भए र एमालेले संकटकाल अनुमोदन नगरेको भए आज १७ हजार नागरिकले ज्यान गुमाउनु पर्ने थिएन ।

आज समयले कोल्टे मात्र फेरेको छैन, बिपरित दिशामा फर्किएको छ । टाउकाको मूल्य तोकी माग्नेहरु, मूल्य तोक्नेहरु संग आज घांटी जोडिरहेका छन् । उनीहरु मदन भन्डारिको जबजलाई स्वीकारगरि एमालेमा आत्मसमर्पण गरेका छन् ।

आज २४औ महान जनयुद्द दिवश आएको छ । राजालाइ साम-दाम चढाएर पाउ पर्नेहरुलाइ २४ औं जनयुद्ध दिवस मनाउने अधिकार कसले दियो ? पुर्वएमाले र आत्मसमर्पणवादी दलाललाई के जनयुद्ध दिवस मनाउने अधिकार छ त ?

पक्कै पनि यो आजको बहसको विषय हो । राजनीतिक र सैद्धान्तिक हिसाबले एमालेलाई जनयुद्ध मनाउने कुनै अधिकार छैन । ठुलो षड्यन्त्र गरेर जनयुद्ध सिध्याउने हर्कत गर्नेलाई जनयुद्द दिवस मनाउने हैसियत हुदैन ।

किनकि जनयुद्द कुनै रक्सिको भट्टी पसल भित्र मनाउने कुरा होइन । आलिशान महल भित्र हुस्किको चुस्कीमा मनाउने कुरा पनि होइन । यो त आम नागरिकको दैलोमा मनाउने कुरा हो । अभाव र पिडामा रहेका झुपडीहरुले मनाउने कुरा हो ।

स्मरणहोस्, सुकुम्बासी बस्तीमा डोजर चलाउनेहरुले जनयुद्द दिबश मनाउन छुट छैन । कमिसन खोर, कालाबजारी, भ्रष्ट दलालहरु, राष्ट्रघाती तथा विदेशी एजेन्डहरुले जनयुद्ध दिवस मनाउन छुट छैन । जनयुद्धको मुल्य मान्यता माथी बलात्कार गर्नेहरुलाइ यो दिबश मनाउन छुट छैन ।

जनयुद्द सिध्याउन टाउकाको मूल्य तोक्ने पिचासहरुलाई जनयुद्द दिबश मनाउन छुट छैन ।

महान् जनयुद्धको २४औँ वार्षिकोत्सवका सुअवसरमा सम्पूर्ण न्याय प्रेमी परिवर्तनकारी मुक्तिकामी जनसमुदाय, आदरणीय सहिद परिवार, जनक्रान्तिका बेपत्ता योद्धा परिवार, घाइते योद्धाहरू, तथा नेपाली जनताको मुक्तीको निम्ति नेपाल राष्ट्रलाई स्वाधीन बनाउन समग्रमा महान जनयुद्धको अधुरो यात्रा पूरा गर्न निरन्तर क्रान्तिमा होमिनु हुने सम्पुर्णलाई गौरवपूर्ण एवम् भावपूर्ण शुभकामना व्यक्त गर्दछु ।

(लेखक नेपाली जनप्रगतिशिल मोर्चा मलेसियामा आबद्द छन्)

१ फाल्गुन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको