मङ्सिर २६, काठमाडौँ । वरिष्ठ नेता नेपालको विशेष दूत बनेर जाने प्रस्ताव भारतले नरुचाएको र भ्रमण तय हुन नसकेको खबर सार्वजनिक भइरहँदा उनी पक्षका नेताले एउटा नयाँ तथ्य बाहिर ल्याएका छन्।
त्यो हो, ‘दुई वर्षदेखि भारत माधव नेपाललाई भारत भ्रमण गराउन चाहिरहेको छ।’ भारतले चाहे पनि नेपालले रुचि नदेखाइरहेका कारण भ्रमण हुन सकेको थिएन। मोदीले कालापानी विवाद सतहमा देखिनु केही समयअगाडि मात्रै एक दूत पठाएर नेता नेपाललाई दिल्ली आउन लबिङ गरिरहेकै थिए। ‘उहाँ (नेपाल) लाई भारतले दिल्ली उपयुक्त कार्यक्रम बनाएर आउन आग्रह गरिरहेकै थियो। डेढ महिनाअघि मात्रै पनि भारतीय प्रधानमन्त्री मोदीले विशेष मान्छे पठाएरै आग्रह गरेका थिए’, नेपाल निकट एक नेताले भने।
सीमा विवाद चर्किएपछि भने भारतले कुनै प्रतिक्रिया दिएको छैन। तर राजदूत पुरीले यसबीच दुईपटक नेता नेपाललाई भेट्दा आफूहरूले धेरै पहिलेदेखि भ्रमण गराउन खोजेको र सरकारकै दूत बनेर जाने भएपछि झन् राम्रो भएको प्रतिक्रिया दिएका थिए। मंगलबार पनि नेपालसँग भारतीय राजदूत पुरीले आफ्नो कार्यकालको बिदाइ भेट गरेका थिए। नेपालको सचिवालयले यो भेटबारे थप जानकारी खुलाउन चाहेको छैन।
सरकारको दूतका रूपमा माधव नेपालको भारत भ्रमण हुने या नहुने, अब के ? नेकपाका नेताहरू केही बताउन चाहिरहेका छैनन्। घटनाक्रम हेर्दा अब उनको विशेष दूत बन्ने सम्भावना टरेको छ। दूत बन्ने प्रस्ताव टरे पनि नेता नेपाल भने नेपालपक्षीय सीमा, नक्साबारे कतिपय महत्त्वपूर्ण तथ्य सामग्रीको अभिलेखीकरणमा लागेका छन्। ‘विशेष दूत बनून् या नबनून्, त्यो फरक कुरा हो। नबने पनि यस सम्बन्धमा प्राप्त तथ्य–तथ्यांक संकलन गर्ने, त्यसलाई केन्द्रित गरेर दस्तावेजीकरण गर्नु राम्रो हुन्छ।
सरकारलाई यसले बल पनि पुग्छ’, नेता नेपालको सचिवालयका एक सदस्यले भने। पार्टी विदेश विभाग प्रमुखसमेत रहेका कारण पनि नेता नेपालले दस्ताबेजीकरणको गति रोकेका छैनन्। उनको सचिवालयका ती सदस्यले भने, ‘पार्टी विदेश विभाग प्रमुख भएकाले उहाँले यसलाई विभागको कामकै रुपमा लिनुभएको छ। उहाँ दस्ताबेज बनाउने गरी तथ्य÷तथ्यांक संकलनमै हुनुहुन्छ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस