डा.केसी अनशनको आठौं दिन: हेलिकोप्टर रित्तै फर्कियो


कात्तिक २६, डडेल्धुरा । डडेल्धुरा अस्पतालभित्रको भित्री कक्षमा प्रा.डा. गोविन्द केसी छटपटाइरहेका थिए । त्यसैबेला कपिलवस्तु तौलिहवाकी शोभा अर्याल डा.केसीलाई भेटेर फर्किरहेकी थिईन् । उनले भनिन- ‘उहाँका माग जायज छन् र, न्यायिक पनि छन् । ’

फाइल तस्बिर 

यो खबर प्रशान्त वलीले राजधानी दैनिकमा लेखेका छन् । अस्पतालको सानो कोठामा डा. केसी अनसन बसेका छन् । उनलाई अहिलेसम्म आठ सय ८५ जनाले भेट गरेका छन् । आठौं दिनमा उनी धेरै गलेका देखिए ।

यस्तै सोमबार बेलुकि भेट्न गएकी तुफान डाँडाँका केशवा ओझाले भनीन्, ‘डा. केसीले हाम्रै ठाउँमा ठुलो अस्पताल हुनुपर्छ भनेर अनसन बस्नुभएको छ । तर, नेताहरुले सुन्दैनन्, उहाँको माग राम्रो लागेको छ । ’

डा. केसी १८ कार्तिकदेखि अनसन बसिरहेका छन् । उनलाई भेट्न दार्चुलादेखि कपिलबस्तुसम्मका नागरीक आउने गरेका छन् । डा. केसी चिकीत्सा शिक्षाको सुधारको माग गर्दै डडेलधुरा अस्पतालमा अनसनरत छन् । उनले मेडिकल माफियालाई कारबाही गर्नुपर्ने, प्रत्येक प्रदेशमा मेडिकल कलेज स्थापना हुनुपर्ने मागलाई मूख्य रुपमा अघि सारेका छन् ।

डा.केसीले माग पुरा नहुँदा सम्म आफू काठमाडौं नजाने बताएका छन् । डा.केसी बोल्न अप्ठ्यारो मानेपछि उनको उपचारमा संलग्न डा. तोषीमा कार्किले भनीन्, ‘उहाँले यहि आइसीयू कक्ष हुनुपर्छ । यहाँ आइसीयू नराख्ने अनि मलाई काठमाडौं जानुस भन्न मिल्छ, म जादैंन भनेर भन्नुभएको छ ।’ डा.केसीले आईसीयू डडेलधुरामा नआउँदा सम्म काठमाडौं नफर्किने अडान राखे ।

यसैविच, चिकित्सा शिक्षा सुधारको माग लिएर डडेलधुरामा आमरण अनसनरत डा. गोविन्द केसीलाई लिन गएको हेलिकोप्टर रित्तै फर्किएको छ । डा. केसीले माग पूरा नगरी नजाने अडान राखेपछि हेलिकोप्टर रित्तै फर्किएको हो ।

अनसनका कारण डा केसीको स्वास्थ्य बिग्रिएपछि सरकारले उनलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, सहमति विपरीत डा. केसीलाई लैजान नदिने भन्दै स्थानीयले बिहानदेखि नै डडेलधुरामा प्रदर्शन गरेका थिए । डा. केसीलाई भेट्न डोटी, बैतडि, दार्चुला, कपिलबस्तु, सल्यान लगायतका जिल्लाबाट आएका थिए । स्थानियहरुले पनि डा.केसीको मागलाई सम्बोधन गरे नेपाली जनताको हित हुने बताए ।

डा. केसीको जीवनरक्षाका लागि आफूले सुविधासम्मन्न अस्पतालमा लैजान प्रयास गरे पनि उनका समर्थकले असहमति व्यक्त गरेको डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

डा.केसीले चिकीत्सा शिक्षा ऐन संसोधन गरीनुपर्ने,अरवौ ठगी गर्ने मेडिकल कलेज सञ्चालकहरुलाई फौजदारी कानुन बमोजिम कारबाही गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस पढाई तत्काल सञ्चालन हुनुपर्ने डा. केसीको माग छ । डा. केसीको यो १७ औं पटकको अनसन हो ।

डा. केसीको स्वास्थ्य यस्तो छ

डा. केसीको स्वास्थ्य अवस्था जटील बन्दै गएको छ । उनको शरीरमा चिनीको मात्रा घटेको छ । यस्तै नुनको मात्रा पनि अत्यधिक घटेको छ । शरीरका मांशपेसीहरु सिथील बन्दै गएका छन् । मुटुको चाल तलमाथी भएको छ ।

उपचारमा संलग्न चिकीत्सकका अनुसार शरीरमा पानीको मात्रा कम भएपछि अमलीयता बढ्दै गएको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. जितेन्द्र कंडेलको नेतृत्वको टोली डा. केसीको उपचारमा खटिएको छ ।

२६ कार्तिक २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको