आठ सय कमाउने महेन्द्रको कम्पनीमा अहिले तीस कामदार


पृथीछक बुढा/साउन २७, युएई । महेन्द्र पौडेल युएई आएको १९ बर्ष भयो । शुरुमा इमारत पेट्रोल पम्पमा काम गरे । अहिले उनको आफ्नै कम्पनी छ । दुईवटा रेष्टुरेन्ट साझेदारीको हो भने युनियन मेट्रो स्टेसन नजिकैको नमस्ते रेष्टुरेन्ट उनको निजि रेष्टुरेन्ट हो ।

कहिलेकाही शुक्रवारको दिन नेपालीहरुको जमघट हुने स्थान वर दुबई नजिकैको हाम्रो सगरमाथा रेष्टुरेन्टको काउन्टरमा भेटिन्छन् । निकै मिजासिला महेन्द्रलाई शुक्रबारको दिन भने निकै, चटारो हुन्छ । गफ गर्न भ्याउदैनन् । अरु दिन भने युनियन मेट्रो स्टेशन नजिकको आफ्नो निजि रेष्टुरेन्टमा गफिएको भेटिन्छन् । शुरुमा कमै थिए युएईमा नेपाली ब्यबसायीहरु । युएईमा परिवारसंगै ब्यबसायमा जमेका केही सिमित नेपालीहरु मध्ये महेन्द्र पनि एक हुन् ।

लाखौं श्रमिक नेपालीहरु जस्तै महेन्द्र पनि न्यून तलवमा काम गरे । महिनाभरी काम ग-यो, महिनाको अन्तिम दिनमा उसको हातमा ८ सय मात्रै आउँथ्यो । बच्ने भनेको ५ सय हो । पैसाको भाउ थिएन, नेपाली आठ नौ हजार बचाइन्थ्यो, उनले बिगतलाई सम्झिए ।

कुनै न कुनै कम्पनी खोल्ने उनको सपना थियो । तर महिनामा ५ सय बचाउने मान्छेले कसरी लाखौं दिराम खर्च गरेर कम्पनी खोल्ने ? यहि प्रश्नले उनलाई नयाँ जागिरमा लाग्ने प्रेरणा दियो । कम्पनी बदलेपछी महिनामा उनले ३५ सय कमाउन थाले । मान्छे मेहनती थिए । मेहनती भएकैले उनको प्रमोसन भयो । अहिले पनि रेष्टुरेन्टमा जमेरै काम गरेको भेटिन्छन् ।

प्रमोशन भएपछी अलिकती बढी कमाउन थाले । तर जागिर गरेर कुनै प्रगति हुने स्थिति नदेखेका महेन्द्रले अन्ततः २०१२ सेप्टेम्बर ९ तारिखमा हाम्रो सगरमाथा रेष्टुरेन्ट संचालनमा ल्याए । पहिलो दिनमा ४२६ दिरामको व्यापार भएको महेन्द्र सम्झिन्छन् ।

वर दुबईको मुख्य चोकमै उनको साझेदारी सगरमाथा रेष्टुरेन्ट छ । जहाँ हजारौं नेपालीहरुको झमघट हुने गर्दछ । शुक्रवार त महेन्द्रलाई बोल्ने फुर्सद पनि हुँदैन । रेष्टुरेन्टमा नेपाली परिकार खान आउनेहरुको भिड लाग्छ ।

तीन जनाको साझेदारीमा खोलेको सगरमाथा रेष्टुरेन्टबाट हरेक साझेदारले ३ करोडसम्मको कमाई गरिसकेको महेन्द्र खुसी ब्यक्त गर्छन् । अहिले काठमाडौमा घर छ । त्यहि रेष्टुरेन्टको कमाईले घर बनाएको उनि स्विकार्छन् ।

२०१६ जनवरी महिनामा दुबईको युनियन मेट्रो स्टेशनको छेउमा आफ्नै निजि नमस्ते रेष्टुरेन्ट पनि संचालनमा ल्याए । शुरूवातका दिनहरुमा नमस्ते रेष्टुरेन्टबाट मात्रै मासिक चालीस हजार दिराम नाफा कमाएको महेन्द्रले सम्झिए । अहिले ब्यापार केही घटेको भए पनि आफ्नो ब्यबसायबाट सन्तुष्टि छु । जागिर भन्दा कहाँ हो कहाँ फरक छ, उनले बताए ।

ब्यबसाय फस्टाउन थालेपछि सारजाहमा पनि रेष्टुरेन्ट संचालन गर्न थाले । अहिले सारजाहको ब्यापारबाट पनि उनलाई सन्तुष्ट छ ।

गत महिना उनको सपरिवार थाइल्यान्ड र सिंगापुरको भ्रमणमा गए । उनलाई त्यस देशले लोभ्यायो । नमस्ते रेष्टुरेन्टको छुट्टै ब्राण्ड स्थापित गर्नु उनको भ्रमणको उद्देश्य रहेको थियो ।

नेपालमा नमस्ते रेष्टुरेन्ट किन संचालनमा ल्याउनु हुन्न भन्ने प्रश्नमा हाललाई नेपालमा लगानीको खासै बातावरण नरहेको तर निकट भबिस्यमा नमस्ते रेष्टुरेन्ट ग्रुपको प्रधान कार्यालय नेपाल नै हुने जिकिर गर्नु भयो । उनले नमस्ते रेष्टुरेन्ट ब्राण्ड स्थापित गरि मल्टिनेश्नल रेष्टुरेन्टको रुपमा बिस्तार गरेर लैजाने योजना रहेको उनले खुलाए ।

रेष्टुरेन्ट संचालनको शुरूवाती दिनहरुमा आर्थिक जोहो गरिरहेको समयमा आफुलाई सबै आफन्तजनहरुले उडाउने गरेको तितो स्मरण पनि गरे । अहिले तिन रेष्टुरेन्टमा जम्मा तीस जना नेपाली कामदारहरुले काम गरिरहेका छन् । देशमा बेरोजगारले बिकराल रुप लिइरहेको वेला आफ्नै दाजुभाईलाई थोरैलाई भएपनि जागिर दिन सकेकोमा खुसी पनि व्यक्त गरे ।

एकदिन पेट्रोल पम्पमा काम गरिरहेका नेपाली श्रमिकहरुलाई देखाउँदै उनले भने, म त्यस्तै काम गरेको थिएँ, यदि ब्यापार शुरु नगरेको भए आज पनि कुनै कम्पनीमा न्यून तलबमा काम गरिरहेको हुने थिएँ । अन्तिममा उनले स्वीकारे, केहि गर्छु भन्ने हो भने जागिर होइन, आफ्नै ब्यबसाय शुरु गर्नुपर्छ, १९ बर्ष मेरो करियरले सिकाएको शिक्षा यहि हो ।

२७ श्रावण २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको