असार २७, काठमान्डौ । बर्सिलोनाको लामो प्रयासपछि फ्रान्सेली स्ट्राइकर एन्टोइन ग्रिजम्यानलाई क्लबमा अनुबन्धित गरेको छ । बार्सिलोनाले ग्रिजम्यानलाई अर्काे स्पेनी टोली एथ्लेटिको म्याड्रिडबाट भित्राएको हो ।
बार्सिलोनाले २८ वर्षिय ग्रिजम्यानसँग आगामी पाँच वर्षका लागि सम्झौता गरेको जनाइएको छ । बार्सिलोनाले ग्रिजम्यानलाई यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ । बार्सिलोनामा ग्रिजम्यानले लेफ्ट विङ्सबाट खेल्ने छन् । दुई वर्षअघि नेमारले बार्सिलोना छाडेपछि त्यो स्थान खाली छ ।
बार्सिलोनाले ग्रिजम्यानलाई भित्राउन एट्लेटिकोलाई मात्रै १३ करोड ४० लाख अमेरिकी डलर तिरेको जनाएको छ । गत वर्ष रुसमा भएको विश्वकप फुटबलमा फ्रान्सेली टोलीलाई उपाधि दिलाएका ग्रिजम्यानको आगमनले बार्सिलोनाको आक्रमण थप बलियो बनेको देखिएको छ ।
बार्सिलोनाले ग्रिजम्यानलाई भित्राउन एट्लेटिकोलाई मात्रै १३ करोड ४० लाख अमेरिकी डलर तिरेको जनाएको छ ।
बार्सिलोनामा ग्रिजम्यानको भूमिका टोलीलाई युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाउनु हुने छ । बार्सिलोनाले सन् २०१५ देखि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । गत वर्ष बार्सिलोना सेमिफाइनलमा लिभरपुलसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो ।
ग्रिजम्यानको अनुबन्धसँगै बार्सिलोनामा नेमार पुनः फर्कने सम्भावना भने कमजोर देखिएको छ । पछिल्लो समय नेमारले फ्रान्सेली टोली पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर बार्सिलोना फर्कन चाहेको समाचार सार्वजनिक भएका थिए ।
ग्रिजम्यान सन् २०१४ मा सोसिडाडबाट एट्लेटिको म्याड्रिड पुगेका थिए । एट्लेटिकोमा पाँच सिजन बिताएका उनले एकसय ३३ गोल गर्दै टोलीलाई युरोपा लिग, स्पानिस सुपर कप र यूईएफए सुपर कपको उपाधि जिताएका थिए । मुस्किल अवस्थामा समेत टोलीका लागि गोल गर्न सक्ने क्षमता, खेलप्रतिको उनको भिजन र बलसँगको गतिका कारण उनी युरोपियन फुटबलका एक सशक्त स्ट्राइकरका रुपमा स्थापित छन् ।
एट्लेटिकोसँग ग्रिजम्यानको सन् २०२३ सम्मको सम्झौता रहेको थियो । यद्यपि उनलाई बार्सिलोनाले सम्झौता सकिनुअघि नै आफूसँग भित्राएका छन् ।
प्रतिक्रिया दिनुहोस