बैशाख २९, काठमाडौँ । झापाको कनकाई नगरपालिकाको माइ पुल नजिकै शंकास्पद बस्तु फेला परेको छ ।
राजमार्गको पुलको पुर्वी भागको उत्तरपट्टी आइतबार बिहान शंकास्पद बस्तु फेला परेपछि उक्त राजमार्ग भएर चल्ने सवारी आवागमन ठप्प भएको छ । पूर्वबाट पश्चिम आएका र पश्चिमबाट पूर्व जाँदै गरेका सवारीसाधनलाई दुवैतर्फ रोक लगाईएको छ ।
बिहान साढे ६ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । उक्त बस्तु बम हुनसक्ने आशंका गरिएको छ । बिहान ‘मर्निङ वाक’ जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा डिएसपी सुवाश खड्काले घटनास्थलमा सेनाको बम डिस्पोजल टोली आइपुगेको जानकारी दिए ।
बम कसले राखेको पुष्टी हुन नसकेपनि टाइम बम हुन सक्ने स्थानीय प्रहरीको भनाई छ । बम राखिएको ठाउँ नजिकै गोर्खा जनमुक्ति मोर्चा लेखिएको पर्चा फेला परेको छ ।
पर्चामा संघीयता खारेज गर, सुगौली सन्धीको भूमी फिर्ता गर, भ्रष्टाचार नियन्त्रण गर, सम्पूर्ण अंगीकृत नागरिकता खारेज गर लगायतका नारा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस