ओली र दाहालले जनतालाई विश्वासघात गरे: महासचिव वैद्य


वैशाख २८, सुनसरी । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले दुई तिहाइको दम्भले ओली सरकार ५ वर्ष नटिक्ने संकेत देखिएको बताएका छन् ।

कान्तिपुरमा खबर छ, धरानमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन -बिगेसो) द्वारा शनिबार आयोजित प्रथम वैचारिक सांस्कृतिक समारोहमा उनले नेपालमा कम्युनिस्टको सरकार भए पनि त्यसले कम्युनिस्टको बदनाम मात्र गरिरहेको आरोप लगाए ।

धरानमा बिगेसोद्वारा आयोजित कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (बीचमा) । तस्बिर : प्रदीप/कान्तिपुर

०७ सालयता परिवर्तनका लागि धेरै नेपालीले रगत बगाएको स्मरण गर्दै वैद्यले भने, ‘०४६ साल, दसवर्षे जनयुद्ध र ०६२-६३ को जनआन्दोलनपछि संघीय गणतन्त्र नाममात्रको भएको छ । केपी ओली र पुष्पकमल दाहालले जनतालाई विश्वासघात गरे ।’

उनले सरकारले मुलुकमा समृद्धि, विकास र सुखी जनताको नारा लगाए पनि जनताले वास्तविक रूपमा चाहेको सपना पूरा हुन नपाएकाले आर्थिक परिवर्तनका लागि अर्को आन्दोलन गर्नु जरुरी रहेको बताए । ‘हामीले जातीय मुक्तिको कुरा गर्दा जातिवादी आरोप लगाउनेहरू सामन्तवादी सोचका भए,’ उनले भने ।

उनले मुलुक समृद्ध बनाउने नारामात्र लगाएर नहुने, युवालाई विदेशिनबाट रोक्न सक्नुपर्ने बताए । ‘कृषिप्रधान देश भन्ने तर किसानको हितमा खाद्य मल उत्पादन गर्न एउटा उद्योग सञ्चालन गर्न नसक्ने, सरकारले केही नगर्ने अनि मुलुकका प्राकृतिक स्रोत साधन, नदी जति विदेशी कम्पनीलाई जिम्मा दिने, यसरी मुलुक कसरी समृद्ध हुन्छ ?’ उनले भने ।

उनले आयात निर्यातमा असन्तुलन र बढदो व्यापार घाटाले ओली सरकारको समृद्ध नेपाल भन्ने नारा फोस्रो साबित भएको बताए । उनले सुगौली सन्धि र सन् १९४७ नोभेम्बर ७ र ९ मा नेपाल, भारत र बेलायतबीच भएको सन्धि नै असमान भएको बताए । ‘तिनै सन्धिका कारण नेपालबाट बेलायती सेनामा भर्ती हुन जानेहरू विभेदको सिकार भएका छन्,’ उनले भने ।

२९ बैशाख २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको