विपद कोषको पैसामा भीआईपी सरर


चैत २९, काठमाडौं । गृहमन्त्रालय मातहत रहेको विपद व्यवस्थापन कोषको रकम नियम विपरित खर्च गरिएको भेटिएको छ ।

प्रतिवेदन अनुसार कोषको रकम अस्पताल, क्याम्पस, जिल्ला तथा इलाका प्रशासन कार्यालय उद्घाटन साथै निर्वाचन सुरक्षा गोष्ठीमा सहभागिताका लागि खर्च भएको भेटिएको हो ।

त्यसमा पनि हेलिकोप्टर प्रयोग गरेर ८३ लाख ६० हजार रुपैयाँ भाडा खर्च भएको भेटिएको प्रतिवेदनमा जनाइएको छ । असम्बन्धित कार्यमा प्रयोग भएको हेलिकोप्टर भाडा विपद राहतको लागि निकासा भएको रकमबाट भुक्तानी गर्नु उचित नभएको औंल्याइएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री मात्र होइन, मन्त्रीहरु पनि पाएसम्म नेपाली सेनाको हेलिकोप्टर चढ्छन् । तर, सेनाको हवाई सेवा भीभीआईपीले भाडा वापतको १ करोड २७ लाख एक हजार रुपैयाँ तिरेका छैनन् ।

आर्थिक वर्ष ०७४/०७५ मा भएको भीभीआईपी उडानको मात्रै ७५ लाख १८ हजार रुपैयाँ उठ्न बाँकी छ ।

महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार पछिल्लो आर्थिक वर्षको यो रकम ३ वटा निकायबाट भएको विमान चार्टरको भाडा हो । यसअघि हवाई सेवा सुरु भएको आर्थिक वर्ष ०४२/४३ देखि ०७२/०७४ सम्म ५१ लाख ८३ हजार रुपैयाँ रकम बक्यौता छ ।

यो रकम १८ वटा निकाय र संस्थाको हो ।

भीआईपी उडानतर्फ हुने वक्यौता रकमबारे महालेखा परीक्षकले वर्षेनी उल्लेख गर्ने गरेको छ । तर, रकम असुलीमा सुधार उल्लेख्य प्रयास र सुधार हुन सकेको छैन ।

२९ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको