चीनतर्फ किन लाग्दैछ नेताहरूको लर्को ? प्रचण्ड जाने तयारीमा


मङ्सिर १७, काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंसिर अन्तिम साता चीन भ्रमणमा जाने आफ्नो पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।

प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार यही विषयमा छलफल गरेपछि सोमबार दाहालले पूर्वानिर्धारित कार्यतालिका संशोधन गरेका हुन् ।

‘पार्टीका अर्का अध्यक्षलाई अस्पतालको शय्यामा छोडेर आफू विदेश भ्रमणमा जाँदा राम्रो सन्देश नजाने भन्दै दाहालले भ्रमण स्थगित गरेका हुन्,’ उनीनिकट एक नेताले भने, ‘भ्रमण रद्द भएको होइन, करिब दुई महिनाका लागि पर सरेको मात्र हो । प्रधानमन्त्री ओली नियमित काममा फकिर्नेबित्तिकै दाहाल नेतृत्वको टोली चीनतर्फ लाग्नेछ ।’

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेकपाको उच्चस्तरीय टोली तत्काल चीन भ्रमणमा जाने समझदारी भएको थियो । त्यही समझदारीअनुसार दाहाल चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीकै चाहनामा चीन जान लागेका थिए ।

दाहालको भ्रमण केही महिनाका लागि स्थगित भए पनि नेकपासहित दलका नेता र सरकारी अधिकारीहरू चीन जाने र चिनियाँ अधिकारीहरू नेपाल आउने क्रम भने निकै बढेको छ । यो वर्षभरिमा केन्द्रीय समितिका सबै ४ सय ४५ जनालाई नै चीन पठाएर त्यहाँको विकास, विचार र समाजवादबारे अध्ययन–अवलोकन गराउने नेकपा विदेश विभागको तयारी छ ।

पछिल्ला वर्ष चीनसँगका सरकारी र गैरसरकारी तवरका दुईपक्षीय भ्रमण र नेपाली नागरिकसमेतको चीन आवतजावत निकै बढेको छ । चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोङका अनुसार गत जनवरीदेखि नोभेम्बर अन्त्यसम्म १० महिनामा ३० हजार ९ सय ३६ नेपालीले चीन जाने भिसाका लागि आवेदन दिएका थिए । यस्तो संख्या दुवैतर्फबाट बर्सेनि बढिरहेको छ ।

अहिले पनि तिब्बतका गभर्नरको टोली नेपाल भ्रमणमा छ भने गत साता फुदान युनिभर्सिटी, युनान र हुवेई प्रान्तका अधिकारी नेपाल आएर फर्किएका छन् । नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल असोज ३० गते चीन पुगेर फर्किए । सैन्य खेलकुद प्रतियोगिताका लागि गएका पोखरेलले ६ दिने बसाइका क्रममा विभिन्न राजनीतिक भेटघाट गरे ।

नेकपा स्कुल विभागका उपप्रमुखद्वय वेदुराम भुसाल र देवेन्द्र पौडेलसहितको टोली असोज २८ गते चीन पुगेर फर्कियो । करिब एक साता चीन बसेको उक्त टोलीले चीनको गरिबी निवारण, सी विचारधारालगायत विषयमा अध्ययन गर्‍यो । यही समयमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि टोलीसहित चीनमै अध्ययन भ्रमणमा थिए । केन्द्रीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिको छुट्टाछुट्टै टोलीले चीनको लगातार भ्रमण गरिरहेको छ । कतिपय जाने पालो कुरेर बसेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच असोज ७ गते भएको समझदारीमा सम्बन्ध विस्तारका लागि आपसी भ्रमण बढाउने सहमति भएको थियो । समझदारीमा भ्रमण आदानप्रदान गराउने, वैचारिक र राजनीतिक छलफल बढाउने, दुवै कम्युनिस्ट पार्टीका सिद्धान्तबारे जानकारी गराउनेलगायत विषय थियो ।

उक्त सहमतिपछि झन् चीन जाने नेकपा कार्यकर्ता र चीनबाट नेपाल आउने चिनियाँ कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको संख्या बढ्दै छ । नेकपाले आफ्ना कति नेता–कार्यकर्ता चीन पुगे भन्ने यकिन तथ्यांक भने राखेको छैन । ‘सामान्यतः विदेश विभागबाटै जानुपर्ने हो तर सबै काम विभागबाट भइसकेको छैन,’ विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘कति नेता त चीन गइसकेपछि मात्रै थाहा पाइन्छ, त्यसैले नेकपासँग अहिले ठ्याक्कै कति नेता चीन भ्रमणमा गए भन्ने तथ्यांक छैन ।’ उनले कतिपय नेताहरू व्यक्तिगत सम्बन्धको आधारमा जाने गरेको बताए । चिनियाँ कम्युनिस्ट पार्टीसँग समझदारी भएपछि दुवै पार्टीका नेता–कार्यकर्ताको आउजाउ बाक्लो भएको रिजालको भनाइ छ ।

यो वर्ष प्रदेश ७ र २ बाहेक अरू प्रदेशका मुख्यमन्त्रीको टोली चीन पुगिसकेको छ । साउनयताको चार महिनामा मात्रै स्थानीय तहका २१ जनप्रतिनिधि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएर चीन गएका छन् । कतिपय जनप्रतिनिधि मन्त्रालयमा जानकारी नगराई पनि जाने भएकाले उनीहरूको संख्या योभन्दा धेरै रहेको मन्त्रालयका प्रवक्ता भूपाल बरालको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।

१७ मंसिर २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको