सरकार र सीके राउतबीचको सम्झौता राष्ट्रघाती: देउवा


फागुन २८, पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले विखण्डनकारी सीके राउतलाई मूलधारको राजनीतिमा ल्याउन राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले मंगलवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले देश टुक्र्याउने र जनमत संग्रह माग्दै हिँड्ने सीके राउतसँग सरकारले मूलधारमा ल्याउँदा देश टुक्रिन सक्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री ओली र सीकेराउतले हस्ताक्षर गरेलगत्तै सीके राउतले जनमत संग्रहमा सहमति भएको कुरा बाहिर आएको बताउँदै यस्ता देशद्रोहीलाई सरकारले मूलधारको राजनीतिमा ल्याउनु गतल भएको बताए ।

‘प्रधानमन्त्री र सीके राउतबीचको सहमतिलगत्तै जनमत संग्रहको कुरा गर्नेलाई हामी कसरी स्वीकार्न सक्छौं,’ सभापति देउवाले भने, ‘यस विषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिएका छैन । जनकपुरमा जनमत संग्रहको नारा घन्किछ ।’

सरकारले देश टुक्राउने गरी गरेको सम्झौता आफ्नो पार्टीले कुनै पनि हालतमा मान्य नहुने नेता देउवाले बताए । सीके राउतसँग गरिएको सम्झौता राष्ट्रघाती कदमको रूपमा आफूहरूले लिएको उनले बताए । सीके राउतसँग सम्झौता गर्दा समेत सरकारले आफूहरूसँग छलफल नगरेको सभापति देउवाले आरोप लगाए ।

सरकारले फौजदारी संहिताका नाउँमा देशलाई कन्ट्रोल गर्ने र प्रेसलाई नियन्त्रणमा लिँदै अधिनायकवादतर्फ सरकार उन्मुख भएको बताए । उनले भने, ‘प्रजातन्त्रमा प्रेस स्वतन्त्रता भएन भने अधिनायकवादतर्फ जान्छ ।’ आफ्नै पालामा अध्यादेशमार्फत ल्याएको चिकित्सा विधेयकलाई सरकारले तोडमोड गर्दा चिकित्सा क्षेत्रमा अराजकता मौलाएको टिप्पणी गरे ।

सरकारले एक वर्षमा देखाउन लायक एउटा पनि काम नगरेको आरोप लगाउँदै सभापति देउवाले अब कांग्रेसले सरकारका विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

२८ फाल्गुन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको