पहिलो पटक जव गाउँमा गुरिल्लाहरु आए…!


पृथीछक बुढा मगर । त्यो सपना वर्गसंघर्षकै सपना थियो । त्यस्तो आगोको झिल्को नेपालमा कहिलै बलेको थिएन । त्यस्तो बलिदानी नेपाली जनताले कहिलै चुकाएको थिएन । त्यो बलिदान नयाँ युगको लागि भनियो । जसलाई जनयुद्ध भनियो । जनताले लडेको न्यायपुर्ण युद्धलाई जनयुद्ध भनिन्छ । हो कि जस्तो पनि थियो । जनताको अपार सहभागिता थियो ।

फाल्गुन महिना आउनु भन्दा पहिले गोप्य बैठकहरु हुने गर्दथे । जनयुद्ध हुँदैछ भनिन्थ्यो । त्यो पेरुभेली जनयुद्धले छलाङ हानिरहेको समय थियो । खुबै पेरुका माओवादी अध्यक्ष गोन्जालो र त्यस जनयुद्धमा महिला छापामारहरुले निभाएका गौरवमय गाथाहरु गितको माध्यमवाट सुनाउथे । मेरो आमा पनि महिला संघमा आबद्ध हुनुहुन्थ्यो । त्यसैले अरु भन्दा माओवादीका गोप्य गतिविधिहरु हामीले छिट्टै थाहा पाउने गर्दथ्यौं । युद्ध शुरु हुँदै गरेकाले तयारीका लागि आमाहरुले अन्नहरु विभिन्न ओडारहरुमा भण्डारण गर्न थाल्नु भएको थियो । सबैको आँखामा त्रास र कौतुहलताको छाया थियो ।

‘डोर’ आउँदैछ भन्थे । ‘डोर’ भनेको भोटवाट मान्छे मास्दै आएको जमातलाई बुझिन्थ्यो । यो तत्कालीन चिनमा चलेको सास्कृतिक क्रान्तिकालमा भोटवाट भागेका दलाई लामाका अनुयायीहरुले चलाएको हल्ला थियो । मान्छेहरु आपसमा यहि कुरामा कानेखुसी चल्न थालेको थियो । कहिँ कतै यसको बारेमा कुरा चलेको सुइँको मात्रै थाहा पाएपनि मान्छेहरु चनाखो भएर कान ठाडो बनाएर सुन्थे । सबैको आँखामा कौतुहलता हुन्थ्यो ।

फाल्गुन १ गते माओवादीले दीर्घकालीन जनयुद्धको शुरूवात गरेको हल्ला सुन्यौं । गाउँमा केही मान्छेहरु फरार भएको थाहा भयो । गाउँगाउँमा प्रहरी परिचालन हुन थाल्यो । तब मेरो बुवाले मलाई लुकाउन लेकको एउटा गोठमा लिएर जानुभयो ।

आतंक शुरु भइसकेको थियो । पुलिसले जनता मार्न थालिसकेको थियो भने माओवादीले सुराकीको आरोपमा काङ्ग्रेसका कार्यकर्ताहरुलाई अपहरण गर्न थालिसकेको थियो । त्यही वेला सरकारले किलोशेरा टु अप्रेशन शुरु गर्‍यो । यहिवेला मेरो कक्षा साथी १२ बर्षका लालबहादुर गुरुङलाई दुलेमा प्लास्टिकमा बेरेर आगो लगाई हत्या गरेका थिए ।

राज्य आतंक तिब्र भइसकेपछी त्यस क्षेत्रका जनताहरु माओवादीसंग नजिक हुने बातावरण बन्यो । बाटो बाटोमा ‘आधार इलाका निर्माणको दिशामा अघि बढौ’ राता अक्षरहरुले लेखिएका नाराहरु देखिन थाले । मान्छे नमरेको कुनै दिन थिएन । मलाई पढाउने दिपक सरले घटना र बिचार खुबै सुन्नु हुन्थ्यो । उहाँले कहाँ के भयो भनेर आमा बुवासङ्ग कुरा गरेको सुन्थे ।

जनयुद्ध शुरु भएको चार बर्षपछी अब गुरिल्लाहरु आउँदैछन् भन्थे । गुरिलाहरु त सियोको प्वालमा पनि पस्न सक्छन्, माखा जत्रै सानो हुन सक्छन्, एउटा गुरिल्लाले सय जना पुलिसलाई जित्न सक्छ भन्ने चर्चाहरु सुनिन्थ्यो ।

जनयुद्ध शुरु भएको ४ बर्षपछी पहिलोपटक जिल्ला सदरमुकाम डोल्पा आक्रमणको तयारी चलिरहेको थियो । अब गुरिल्लाहरु हाम्रो गाउँघरतिर आउँदैछन् रे भन्ने हल्ला सुनिन थाल्यो । गुरिल्लाहरु के मान्छे जस्ता होलान् ? के उनिहरु खाना खान्छन् ? के उनिहरुले हामीलाई पनि मार्छन् ? हाम्रो बाल मस्तिष्कमा प्रश्नहरु उठिदिन्थे ।

मैकोटको चौतारा नजिकै कोठा लिएर पढ्थे । मैले गुरिल्लाहरु पहिलोपटक देखेको त्यहीँ थियो । उनिहरु पुलिस जस्तै देखिन्थे । सबैको हातमा हतियार थियो । के माओवादीको पनि पुलिस हुन्छ ? के माओवादीसङ्ग पनि राइफल हुन्छ ? कहाँ छन् त गुरिल्लाहरु ? मनमा प्रश्नहरु उठिरहेका थिए ।

सबै एकैपटक भेला हुँदै थिए । चौतारीमा सहिद गेट बनाएका थिए । फलानो बटालियन आयो, फलानो कम्पनी आउदैछ । यिनिहरुलाई जनसेना भनेर सिकाए । गुरिल्लाहरु मान्छे नै रहेछन् भन्ने कुरा थाहा पाएँ ।

हजारौं छापामार मैकोटमा जम्मा भए । हरेक घरमा जनसेना पसेको थियो । तर खानाको लागि मेस चल्थ्यो । बाहिर प्रचारमा भने जस्तो जनताको धन्सारमा उनिहरुको गिद्धेनजर परेन । बिहान जनताको काममा ब्यस्त हुन्थे । कसैले मल बोक्थे, कसैले दाउरा बोक्थे, कसैले खेत जोत्थे । जनताले एक मुठ्ठी खाजा पाए भने सबैसँग बाडेर खान्थे । बिभेद भन्ने कुरै थिएन ।

कोठामा तीन जना बिद्यार्थीहरु बस्थ्यौँ । कोठा ठूलो थियो । कोठामा एक दर्जन जनसेनाहरु आएर बस्ने ठाउँ मागे । उनिहरुले नै पहिलोपटक राइफल ‘कक’ कसरी गर्नुपर्छ भनेर सिकाएका थिए । राइफल कक गर्न मलाई औधी रमाइलो लाग्थ्यो र उनिहरु नभएको वेलामा राइफल कक गरिरहन्थे ।

त्यसको अलावा एकजना प्रहार उपनाम गरेका जनसेनाले मलाई अंग्रेजी ब्याकरण पनि सिकाए । उसका अक्षरहरु सुनौला लाग्थे । गजवले पेन्टिङ गर्न सक्थ्यो । उनैले निगालोको ब्रस बनाएर डबल अक्षर लेख्ने तरिका सिकाएका थिए । उसैले मेरो नाम ‘चिन्तक’ राखिदिएको थियो । उनिहरु निकै अशल थिए । उनिहरुको व्यबहार समाजबाद उन्मुख थियो । व्यबहारमा सर्बहारा चरित्र झल्किरहेको हुन्थ्यो । बास्तवमा त्यो एउटा नौलो सपना थियो । त्यो सपना वर्गसंघर्षकै सपना थियो ।

तर यो २४ बर्षमा हाम्रा घरका भित्ताहरुमा धेरै क्यालेन्डरहरु फेरिए । समय फेरियो । परिस्थिती फेरियो । समयले उनिहरुलाई फेरेको हो वा उनिहरुले समय फेरेको हो ? उनिहरुले परिस्थितिलाई आफू अनुकुल बनाएको हो वा परिस्थिती अनुकुल आफुलाई बनाएको हो ?

उनिहरुले परिस्थिती फेरेको हो भने त्यो क्रान्तिको कार्यदिशा अन्तर्गतको रणनीति हो भने परिस्थितिले नै उनिहरुलाई फेरेको हो भने त्यसलाई संसोधनवादी भनेर भनिन्छ । ती जनयुद्धका महारथीहरु अहिले कुनकुन शिविरमा परे जनताले छुट्याउने कुरा हो । तर हाम्रा नेताहरुसंग हिजोको जस्तो आदर्श नभएकै हो । यो स्विकार्न कठिन नमान्दा हुन्छ ।

पहिले भन्थे, परिस्थिती आफू अनुकुल बनाउनुपर्छ । अहिले भन्छन्, आफुलाई परिस्थिती अनुकुल बनाउनुपर्छ । जसलाई उनिहरुले माक्र्सवादको द्वन्द्वात्मक भौतिकवाद भन्छन् र आफुलाई द्वन्द्ववादी भन्छन् । माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादले समयसंग बिचार परिवर्तन गर भनेको होइन । बिचारमा तरल हुनुहुदैन भन्छ । बरु सर्वहारा, मजदुर वर्गको अधिकारको लागि चट्टान जस्तै कठोर भएर अबिचलित हुनु भनेर सिकाउछ ।

……..त्यो अबिचलित आदर्श कहाँ गयो….. ?

हिजो माओवादीहरु संसद भवनलाई बुर्जुवाहरुको अखडा भन्थे । लेनिनले पनि यसलाई खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ भनेर कटाक्ष गरेकै थिए । लेनिनको यस्तो प्रतिकृयाले नेपाली कम्युनिस्टको एउटा ठूलो शिरा कुन बादमा फसेको छ भन्ने कुरा सबैलाई जगजाहेर हुनुपर्छ । २४ बर्ष अघि र पछिको मुल्यांकन गर्दा क्रान्ती र प्रतिक्रान्ति बिचको ठोस सार सजिलै पत्ता लगाउन सकिन्छ । २४ बर्षपछी ती महारथिहरुको व्यबहार र चरित्र सर्वहारा रहेन । सम्भ्रान्त वर्गमा बिकसित भए । त्यो नै प्रतिक्रान्तिको चुरो हो । त्यसैले उनिहरुवाट समाजवाद र साम्यवादको सपना देख्नु आफैले आफैलाई भ्रममा पार्नु हो ।

२०७५ माघ २९,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको