रुकुमको तकसेरामा गाउँपालिका केन्द्र उद्घाटन


कर्मसही घर्ती मगर/पुस २८, रुकुम (पूर्व) । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाको हिजो विधिवत् उदघाटन भएको छ ।

गत साउन १० गते भएको गाउँसभाको दुई तिहाई बहुमतले अनुमोदन गरेको गाउँपालिका केन्द्र हिजोको दिनदेखि सुचारु हुने भएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद भुसाल, पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रसाद घर्ती र प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले संयुक्तरूपमा गाउँपालिकाको उदघाटन गरेका थिए ।

कार्यक्रम पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रसाद घर्तीको अध्यक्षतामा शुरु भएको थियो । कार्यक्रम सञ्चालक गाउँपालिकाका प्रशासकीय अधिकृत रबिन्द्र बुढाक्षेत्रीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला न्यायाधीश दुर्गाप्रसाद भुसाल थिए । जिल्ला न्यायाधीश दुर्गाप्रसाद भुसालले गाउँसभाले अनुमोदन गरेको गाउँपालिकाको केन्द्र नै मान्य भएको बताए ।

न्यायाधीश भुसालले भने – ‘देश संघीयतामा गई सकेपछि जनप्रतिनिधिले आफ्नो प्रजातान्त्रिक अभ्यासमार्फत जुन विधिसम्मत कार्य गर्‍यो, यो नै स्वागतयोग्य कदम हो । अबका दिनमा यहाँका जनताका आवश्यकतालाई मध्यनजर गरेर, यहाँको भूगोलनुसार सुहाउँदो कार्य तर्जुमा गर्नु होस् । प्राकृतिक रूपमा निकै सम्पन्नशाली यो पालिकालाई एउटा नमुनायोग्य गाउँपालिका बनाउनु हुनेछ भन्ने मैले आशा लिएको छु ।”

अर्का अतिथि पूर्व राज्यमन्त्री तथा नेकाका नेता केशरमान रोकाले गाउँपालिका केन्द्र सही ठाउँमा हुनु सबैलाई गर्वको कुरा भएको बताए । नेता रोकाले भने -‘ जसरी यो गाउँपालिकाको लागि सबै वडाहरू एक भए त्यसरी नै अब रुकुम पूर्वको सदरमुकाम गोलखादाको लागि सबै वडाहरू एकजुट भएर लाग्नु पर्छ ।

सबभन्दा पहिले रुकुम पूर्व छुट्टिनुको तात्पर्य बुझ्नु अत्यावश्यक छ । खाम क्षेत्रलाई मध्यनजर गरेर नै यो जिल्ला टुक्र्याइएको हो । यसको सदरमुकाम पनि खाम क्षेत्र नै हुनु अपरिहार्य रहेछो छ । यसको विकल्प अरू हुन सक्दैन । ”

यस भेगका पुराना स्थापित नेता जीतमान पुन ‘मार्सल” ले गाउँपालिका केन्द्र तकसेरामा स्थापना भएकोमा बधाई दिए । उनले आगामी दिनमा रुकुम पूर्वका जनताको लडाइँ पहिचानको लडाइँ हुनेमा आफु दृढ रहेको स्पष्ट पारे । उनले भने -‘ विकटका दिनमा हामीलाई पश्चिम रुकुमले थिचोमिचो गरेको भान परेको थियो । बुझ्दै जाँदा हामीलाई , हाम्रो अस्तित्वलाई हाम्रै मान्छेले नामेट गर्ने गरेको रहेछ भन्ने कुरा अहिले आएर छर्लङ्ग भएको छ । त्यसैले अब हामी रुकुम पूर्वका जनता आफ्नै पहिचानको लागि लड्नु पर्छ । ” नेता पुनले आफु सुगमताले रुकुमकोटलाई स्वीकारेको र पहिचानले गोलखादालाई स्वीकारेको बताए ।

नेकपाका प्रदेश कमिटी सदस्य पुनिराज घर्तीले पुथा उत्तरगंगाको केन्द्र जति छिटो लागू हुनु पर्ने हो तर ढिलो भए पनि सुचारुमा आएकोमा खुशी व्यक्त गरे । उनले थपे -‘ हाम्रा केही साथीहरू , हाम्रै जनप्रतिनिधिको अवरोधको कारण यो पालिकाको केन्द्र स्थापना हुनु ढिलाई भएको हो । यसले जनताको काममा हदै बाधा पारेको छ ।

जसले जति बाधा अवरोध खडा गरे पनि जनप्रतिनिधिहरूकै दुई तिहाई बहुमतले अनुमोदन गरेको गाउँपालिका अन्ततोगत्वा कसैले बिथोल्न सक्दैन । ” यस्तै अर्का नेता निर्माण बुढाले तकसेरामा गाउँपालिकाको केन्द्र स्थापना भएकोमा आफुलाई हर्ष लागेको बताए । उनले गाउँपालिकाको केन्द्र सुनिश्चित भएपछि आगामी लडाइँ सदरमुकामको हुने पक्का रहेको बताए ।

कार्यक्रममा अर्का अतिथि जिल्ला प्रमुख अधिकारी मित्रलाल शर्माले अब यो गाउँपालिकाले न्यायिचित दंगमा विधि विधानअनुसार सम्पूर्ण वडाहरूमा कुसलतापूर्वक जनताका आवश्यकतालाई सम्बोधन गर्नेछ भन्ने आफुले आशा गरेको बताए ।

सयौं जनसमुदायलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष ओम कुमारी मल्लले पुथा उत्तरगंगा गाउँपालिकाका अधिकांश वडाहरू अझै पींडामा परेको यथार्थ खुलासा गरिन् । उनले भनिन् -‘ गाउँपालिका केन्द्र आउन कम्तीमा चार घण्टाको बाटो हुनु पर्नेमा प्राय: वडाहरूलाई दुई दिन आउनै लाग्ने गरेको छ । वडा नं १, २, ३, ४, ६, ७, ८, ९ वडाका जनतालाई पालिकासम्म आउन निकै जटिलता पार गर्नु पर्ने भएकोले आगामी पाँचवर्ष भित्र अर्को गाउँपालिका माग गर्नै पर्ने देखिएको छ । यसमा सबै कार्यपालिका , विशेषगरी तकसेराबासीले साथ दिनु पर्छ ।”

यसैगरि तकसेरा सेवा समाजका अध्यक्ष बागलाल बुढाले गाउँपालिका केन्द्र तकसेरामा स्थापना गर्न अहम् भूमिका खेल्ने सबै गाउँसभाका सदस्यहरू , कार्यपालिका र अन्य राजनीतिक दलका सबैलाई अाभार व्यक्त गरे । उनले आगामी दिनमा तकसेराले अन्य वडाहरूमा विकास निर्माण प्रक्रियामा निकै लचकता अपनाउने बताए ।

करिब दुई घण्टा लामो कार्यक्रमको अध्यक्षता गरेका गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीले अबका दिनमा गाउँपालिकाका कामहरू सहज रूपमा कार्यान्वयन हुनमा ढुक्क रहन जनसमुदायलाई आग्रह गरे । गाउँपालिका अध्यक्ष घर्तीले भने -‘ विगतका दिनमा जस्तो ढिलासुस्ती अब हुँदैन । अब गाउँपालिकाको केन्द्र सुनिश्चित भएको हुँदा सबै कामकार्य निर्धक्कसाथ हुनेछ । ”

विगत दुई वर्ष देखि वडा नं १२ कोलमा अस्थाई रूपमा काम हुँदै गरेकोमा अब वडा नं १० तकसेरामार्फत गाउँपालिकाको काम हुने भएको छ ।

२०७५ पुष २८,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको