सल्यानमा फल्यो उत्तीसको मुढामा वहु उपयोगी सिताके च्याउ [फोटोफिचर]


मङ्सिर २५, सल्यान । सल्यानका एक किसानले उत्तीसको मुढामा च्याउ फलाएका छन् ।

कपुरकोट गाउँपालिका, ४ गााडापानीका किसान टेक बहादुर बुढाले ८ सय उत्तीसको मुढामा सिताके च्याउ फलाएका हुन् । उत्तीसको मुढामा च्याउ खेती गरेर उनले आम्दानी बढाउदै लागेका छन् ।

२०७४ फागुनमा उत्तीस जातको काठ काटेर किसान बुढाले एक हजार तयार पारेका थिए । एक–एक मिटर लम्बाइको काठलाई ४८ घण्टासम्म पानीमा भिजाएर डेढ इन्चको प्वाल पारेर च्याउको बीउ छरेको उनले जनाए । तर पहिलो वर्ष च्याउ नउम्रीए पछि निराश बनेका बुढा यस वर्ष देखि च्याउ उत्पादन हुन थाले पछि हर्षित छन् । उनले भने, ‘एक हजार मुढामा च्याउ छरेको थिएँ, तर सुरुको वर्षमा च्याउ नउम्रीए पछि दुई सय जती मुढा हटाएँ । अहिले च्याउ राम्रो फलेको छ ।’

तीन लाख रुपैयाा लगानीबाट सुरु गरेको सिताके च्याउ खेती अहिले फस्टाउदै गएको उनले जनाए । च्याउ खेती नौलो भएको र अन्यत्र कतै च्याउ नपाइने भएकाले अहिले उत्पादन भएको च्याउ गाउँघर र स्थानीय बजारमै खपत हुने गरेको छ । बुढाले भने, ‘चार सय रुपैयाँ प्रतिकिलो च्याउ विक्रि हुने गरेको छ ।’ दैनिक बिक्री गर्दा आम्दानी पनि देखिएकाले यसैमा बुढाको च्याउ खेतीमै रस पसेको छ । उनले खाडीमा युवा पैसा कमाउन नजान आग्रह गर्दै घर आँगन, पाखा पखेरीबाटै आम्दानी गर्न सुझाव दिए ।

सिताके च्याउ खेती गरिएको उत्तीसको मुढालाई समयसमयमा पुनः पानीले भिजाउनुपर्ने उनी जनाउँछन् । ‘च्याउ एकपटक लगाएपछि पाँचदेखि सात वर्षसम्म उत्पादन दिन्छ भन्ने सुनेको छु,’ उनले भने, ‘पहिलो चरणमा त झन्झटिलो हुन्छ तर दिर्घकालीन रुपमा फाईदाजनक रहेछ ।’ शतप्रतिशत अर्गानीक च्याउ उत्पादन गर्दै आएका किसान बुढाले बजारको कुनै समस्या नभएको बताए । ‘एकपटक लगाएपछि धेरै वर्ष यसैबाट उत्पादन लिन पाइने भएकाले फाइदा बढी हुन्छ भन्ने विश्वासले सिताके गर्न लागेको हो,’ उनले भने ।

विश्वमा सिताके च्याउ विशेष गरेर ओखर जातका काठमा गरिएको पाइए पनि नेपालमा गरिएको अनुसन्धान अनुसार उत्तिस, सौर, लाकुरी, धालेकटुस आदिमा पनि यसको खेती गर्न सकिने देखिएको जानकारहरु बताउँछन् । गाँडापानी स्थित आफ्नै बारीमा एउटा छाप्रो बनाएर त्यस भित्रै उत्तीसका मुढामा बुढाले चयाउ फलाएका छन् । तर अझै मुढामा सिताके च्याउ खेती गर्ने उपयुक्त ज्ञान, सिप तथा तालिम प्राप्त नगरेको उनी जनाउँछन् ।

काठ काट्ने देखि लिएर वीउ रोप्ने र काठलाई सम्हाल्ने कार्यहरु नियमित रुपमा उपयुक्त तरीका र समयमा गरेको खण्डमा उक्त काठहरुबाट महंगो सिताके च्याउ फलाउन सकिने राम्रो सम्भावना छ । मोटोपना घटाउन, रोगप्रतिरोधात्मक क्षमता बढाउन , क्यान्सर सेलसँग भिड्न तथा मुटुरोगमा पनी सिताके च्याउ फाइदाजनक हुने जानकारहरु बताउँछन् ।

२०७६ मंसिर २५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको