भ्रमण वर्ष सफल बनाउन प्रदेश ५ ले थाल्यो तयारी, भ्रमण वर्षको उदघाटन ठाकुरद्वाराबाट गरिने

भ्रमण वर्ष उदघाटनका लागि किन पर्यो रोजाईमा ठाकुरद्वारा ?


मङ्सिर २५, बुटवल । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नं. ५ सरकारले तयारी थालेको छ ।

आगामि जनवरी १ मा बर्दिया जिल्लाको ठाकुरद्वारामा भव्य कार्यक्रम गरी भम्रण वर्षको शुभारम्भ गर्ने प्रदेश नं. ५ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयारी थालेको हो ।

नेपाल भ्रमण वर्ष सन् २०२० आयोजक समितिको प्रदेश संयोजक समेत रहेएका पर्यटनमन्त्री लिला गिरीले भ्रमण वर्ष उदघाटन कार्यक्रम भव्य बनाउन आवश्यक तयारी थालिएको जानकारी दिए ।

मन्त्री गिरीले प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको सचिवालय बैठक बोलाएर आवश्यक तयारी थालेका हुन् । मंगलबार मन्त्रालयमा सम्पन्न सचिवालयको बैठकले भ्रमण वर्ष बर्दियाको ठाकुरद्वारामा ११ बजे मुख्यमन्त्रीबाट भव्यताका साथ उदघाटन हुने, उक्त कार्यक्रममा प्रदेशका अन्य मन्त्रीहरु, सांसदहरु, सचिवहरु, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवद्र्धन समितिका ५/५ जना सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुखलाई निमन्त्रणा पठाउने निर्णय गरेको छ ।

त्यस्तै उदघाटन कार्यक्रमलाई व्यवस्थित बनाउन बर्दिया जिल्लाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, संचार क्षेत्र तथा विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गर्ने, कार्यक्रममा प्रदेश ५ का विभिन्न जिल्लाका भाषाभाषी तथा संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नाच प्रस्तुत गर्ने निर्णय गरिएको प्रदेश समितिका सहसंयोजक माधव नेपालले जानकारी दिए । उदघाटन हुने जनवरी १ को बिहान ७ बजे बाँकेमा जंगल सफारीको समेत उदघाटन गरिने नेपालले जानकारी दिए ।

पर्यटनलाई जनताको आयआर्जनसँग जोड्न नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरेको भन्दै पर्यटन मन्त्री गिरीले यसलाई सफल बनाउन सम्बन्धित सबै सरोकारवालाले सहयोग गनुपर्ने धारणा राखेका छन् ।

होटल व्यवसायिको प्याकेज कार्यक्रम

भ्रमण वर्षको उदघाटन कार्यक्रमलाई थप भव्य बनाउन हाेटल ब्यबसायि संघ बाकेले २०२० जना भारतीय पर्यटकलाई समेत सहभागी गराएर दुई हजार बीस रुपैयाँमा एक रात दुईदिन नेपाल बस्ने व्यवस्था मिलाउने तयारी गरेको होटल व्यवसायीसंघ बाँकेका अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए । ती पर्यटकले चाहेमा जंगल सफारीसमेत गर्नेछन् । अन्य विदेशी पर्यटक आए उनीहरुलाई पनि विशेष छुटसहितको खानेबस्ने व्यवस्था गरिने काफ्लेले जानकारी दिए ।

सन् २०२० लाई नेपाल भम्रण वर्ष घोषणा गरेको सरकारले उक्त अवधिमा नेपालमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । नेपालका सातैवटै प्रदेशले भ्रमण वर्ष अवधिमा विभिन्न कार्यक्रम गर्नेछन् ।

किन रोजाईमा पर्यो ठाकुरद्वारा ?

प्रदेश नम्बर ५ अन्तर्गत वर्दिया जिल्लाको साविकका बगनाहा, नेउलापुर, शिवपुर र ठाकुरद्वारा गाउँ विकास समितिलाई गाभेर ठाकुरद्वारामा रहेको ठाकुरद्वार मन्दिरको नामबाट यस ठाकुरबाबा नगरपालिकाको स्थापना २०७३ फाल्गुन २७ मा भएको हो ।

संघीय प्रणालीअनुसार यो नगरपालिका बर्दिया निर्वाचन क्षेत्र नं. २ र प्रदेशसभा निर्वाचन क्षेत्रको आधारमा २(क) मा पर्दछ । यस नगरपालिका भौगोलिक सिमाना, भौतिक पूर्वाधार तथा सामाजिक मुल्य मन्यताको आधारमा ९ वटा वडामा विभाजन गरिएको छ ।
भौगोलिक हिसाबले यस ठाकुरबाबा नगरपालिका पूर्वमा बारा बर्दिया र बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा मधुवन नगरपालिका र राजापुर नगरपालिका पर्दछन् ।

चिरपरिचित बर्दिया राष्ट्रिय निकुञ्ज त्यही क्षेत्रमा रहेको छ । ठाकुरबाबा नगरपालिकाको वडा नं. ९ को ठाकुरद्वारामा निकुञ्जको मुख्य कार्यालय रहेको छ । ५ नं. प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सदस्यसमेत रहनुभएका बर्दिया किङिफिसर रिसोर्टका सञ्चालक कृष्ण प्रसाद शर्मा (वाग्ले) काअनुसार यो राष्ट्रिय निकुञ्जले करिब ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

जुन पूर्वपश्चिम राजमार्गको अम्रेनीबाट दक्षिणतर्फ बाटो छुट्टिएको छ । यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराइ प्रदेशमा अवस्थित छ । सन् १९६८ मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७मा करिब ३ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो ।

सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु सो निकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् ।

निकुञ्जमा हालसम्म ४ सय ३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । शर्माकाअनुसार विश्वकै दुर्लभ वन्यजन्तु कृष्णसार पनि बर्दियाको गुलरियामा पाईन्छ । त्यसको संरक्षणमा अहिले राष्ट्रिय निकुञ्ज र स्थानीय समिति सक्रिय छन् । पर्यटनको प्रचुर सम्भावना रहेको बर्दिया जिल्लामा केदारेश्वर धाम, सिमसार क्षेत्र, बढैया ताल, सत्खलुवा ताल, विभिन्न ताल, मन्दिर, लगायतका क्षेत्र पर्यटकिय गन्तव्यका रुपमा रहेका छन्।

त्यस क्षेत्रमा वर्षेनी पर्यटकको संख्या बढिरहेको भएपनि अझै आन्तरिक र बाह्य पर्यटकको संख्या बृद्धि गरेर बर्दिया जिल्लालाई नेपालको उत्कृष्ट पर्यटकिय गन्तव्यका रुपमा स्थापित गर्न सहयोग पुग्ने उद्देश्यका साथ भ्रमण वर्षको उदघाटनका लागि बर्दिया जिल्लालाई छानिएको समितिका कार्यक्रम सहसंयोजक माधव नेपालले जानकारी दिए ।

उनकाअनुसार उदघाटन सत्रमा बर्दिया पुगेका पाहुनाहरुलाई स्थानीयले सञ्चालन गरेको होम स्टेमा बसालिने तयारी गरिएकाले यहाँ सञ्चालित होम स्टेको थप प्रचारप्रसार हुने नेपालले विश्वास व्यक्त गरे ।

जनवरी १ मा भ्रमण वर्षको औपचारिक रुपले उदघाटन गरिएपछि ५ नं. प्रदेशका सबै जिल्लाहरुमा विविध कार्यक्रमका साथ भ्रमण वर्षका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाईने निर्णय भएको ५ नं. प्रदेशस्तरीय प्रर्यटन प्रवद्र्धन समितिकी सचिवालय सदस्य ईश्वरी जिएमले जानकारी दिएकी छन् ।

२५ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको