भदौ २५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।
फाइल तस्बिर
प्रधानमन्त्री निवास बालुबाटारमा बुधबार साँझ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचनमा दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिने निर्णय गरेको छ ।
दल दर्ता गर्ने जिम्मा पार्टीका महासचिव विष्णु पौडेललाई दिने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । श्रेष्ठका अनुसार संवैधानिक र कानुनी ब्यवस्थालाई आधार बनाएर निर्वाचन आयोगले गरेको सूचनाका आधारमा यहि महिनाभित्र नेकपा दर्ताका सबै प्रक्रिया पूरा गर्ने निर्णय भएको छ ।
सिंगापुरमा दुई साता लामो उपचार गरेर फर्किएको पाँचौँ दिनमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका थिए ।
यही भदौ ५ गते ओलीले पार्टीको निर्णय अधिकार अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)लाई सुम्पिएर गएपछि दाहालले एक पटक मात्रै भदौ ९ गते आफ्नो अध्यक्षतामा बैठक सम्पन्न गरेका थिए ।
पूर्वमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि खाली रहेको कास्की क्षेत्रनम्बर २ लगायत रिक्त रहेका प्रदेशसभा र स्थानीत तहको निर्वाचनका लागि निर्वाचन आयोगले मंसिर १४ गतेलाई उपनिर्वाचनको मिति तोकेको छ ।
प्रतिक्रिया दिनुहोस